रसुवामा माटो परीक्षण कार्य तीब्र

धुन्चे, रसुवा
माटोमा रहेको उर्वरा शक्ति पत्ता लगाउन जिल्ला कृषि विकास कार्यालयले रसुवाका विभिन्न १६ गाविसको माटो परीक्षण गरेको छ ।

माटोको उर्वराशक्ति कम भइरहेको बेलामा माटोको पिएच मापन गरी माटो सुहाउँदो खेती प्रणाली अबलम्बन गर्नका लागि उक्त परीक्षण कार्यलाई तीब्रता दिइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयले विभिन्न १६ गाविसका सबै वडामा गरिएको माटो परीक्षण तथा त्यसको नतिजा समावेश गरी स्वायल प्रोफाइल नामक पुस्तिका प्रकाशन गरेको छ । उक्त पुस्तिकामा माटो परीक्षण गर्ने तरीका तथा माटोको उर्वराशक्ति कायम गर्ने तरिका समेत् उल्लेख छ ।

पुस्तिकाको माध्यमबाट विभिन्न गाविसको माटोको पिएच मानलगायत त्यसमा रहेका मुख्य खाद्य तत्वहरु तथा माटोमा रहेका कमी कमजोरीका बारेमा जानकारी प्राप्त गर्न सकिने पुस्तिकामा जनाइएको छ ।

पुस्तिकाको माध्यमबाट जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश हुमागाईले माटो परीक्षण कार्यले कृषिको यथार्थ योजना तर्जुमा र उपयुक्त बाली प्रणाली छनोट गर्न सहयोग पु¥याउने बताउनु भएको छ । जिल्लामा रहेका सबै सेवा केन्द्रबाट माटोको परीक्षण नियमित गर्न सकिने गरी दक्ष तथा तालिमप्राप्त कर्मचारीको पनि व्यवस्था गरिएको बताइएको छ ।

परीक्षण गरिएका १४४ वडा तथा विभिन्न ५ सय माटो परीक्षणको नतिजा अनुसार परीक्षण गएिको माटोमध्ये ४३ प्रतिशत बलौटे दोमट, ३९ प्रतिशत दोमट र १५ प्रतिशत चिम्टे माटो रहेको पुस्तिकामा जनाइको छ । त्यसैगरी २३ प्रतिशत माटोको पीएच मान तटस्थ रहेको छ भने ५६ प्रतिशत माटोमा कम अम्लियपन तथा २० प्रतिशत माटोमा धेरै नै अम्लियपन रहेको छ । परीक्षण गरिएका माटोमध्ये १ प्रतिशत माटो क्षारिय प्रकृतिको रहेको छ ।

माटो मापन नतिजा अनुसार जिल्लाको ६९ प्रतिशत माटोमा नाइट्रोजन तत्व कमी रहेको र ४ प्रतिशत माटोमा मात्र नाइट्रोजन तत्वको पर्याप्तता रहेको बताइएको छ । त्यस्तै २१ प्रतिशत माटोमा फस्फोरस तत्व पर्याप्त रहको र ७७ प्रतिशत माटोमा उक्त तत्व कमी रहको उल्लेख गरिएको छ ।

आठ प्रतिशत माटोमा मात्र पोटास तत्वको पर्यात्तता रहेको छ भने ७६ र १६ प्रतिशत माटोमा पोटास तत्व न्यून र मध्यम रहेको छ । उन्नत उत्पादनका लागि आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटास तत्वको उल्लेखित अवस्थालाई मध्येनजर गर्दै सुधारका लागि आवश्यक कार्ययोजना तय तथा कार्यान्वन गर्ने पनि जिल्ला कृषि विकास कार्यायले जनाएको छ ।
गाउँमा रहेको सेवा केन्द्रहरूमा पनि नियमित रुपमा कृषकले ५० रुपैयाँ शुल्क तिरेर माटो परीक्षण गर्ने ब्यवस्था गरिएको समेत जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ ।

Comments

comments