रसुवामा व्यावसायिक कालिजपालन सुरु

101547105_3568957356465983_4905066386784518144_o

रसुवा,  जिल्लामै पहिलोपटक कालिजको व्यावसायिक पालन सुरु गरिएको छ । जिल्लाको उत्तरगया गाउँपालिका– ४ चौरखर्कस्थित चौरखर्क कृषि फर्मले जिल्लामा पहिलोपटक व्यावसायिक रूपमा कालिजपालन सुरु गरेको हो । नेकपा रसुवाका नेतासमेत रहेका फर्मका सञ्चालक  माधव लामिछानेले  राजनीतिसँगै आफ्नो व्यक्तिगत लगानीमा कालिजपालन सुरु गरेका हुन् । लामिछानेले सुरुवातमा रिङ नेक जातको पाँच सयवटा कालिजको चल्लाबाट व्यवसाय सुरु गरेको बताए ।

बनेपाको नासिका एन्ड वाइल क्याटल प्रोडक्टबाट कालिजका चल्ला ल्याएर व्यावसायिक रूपमा कालिजपालन सुरु गरिएको उनको भनाइ छ । पशुपक्षी‌ तथा मत्स्य विकास निर्देशनालय प्रदेश ३ को ५० प्रतिशत अनुदानसहित ५० प्रतिशतभन्दा बढी व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको उनको भनाइ छ । ‘कालिजको व्यावसायिक रूपमै पालन गर्नका लागि भनेर राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख रुपैयाँ लोन लिएर सुरु गरेको छु,’ उनले भने, ‘सबै गरी २५ लाखको लागतमा यो व्यवसाय सुरु गरेको छु ।’

करिब तीन रोपनी जग्गामा व्यावसायिक रूपमा कालिजको पालन सुरु गरिएको उनले बताए । ‘अहिले कालिजको सानो चल्ला छ, तारबार लगाएर राखेका छौँ, दुई महिनापछि जंगलमा छोड्छौँ,’ उनले भने, ‘डेढ रोपनीमा जग्गामा जंगल बनाएका छौँ,  त्यसमा तार जाली लगाएर सुरक्षित बनाइएको छ, संरचना सबै बनिसकेको छैन, केही बनिसकेको छ भने केही बन्दै छ, कालिजको फाम निर्माण भइसकेको छ, घाँसका लागि व्यवस्थापनको काम भइरहेको छ ।’

अहिले कालिजको स–साना चल्ला रहेकाले सुरुमा बचाउन समस्या रहेको उनले बताए । ‘सानो छँदा जुध्ने र घाइते हुने हुन्छ, त्यो हुनेबित्तिकै छुट्टै राखिदिनुपर्छ,  केही त जुधेर मर्ने रहेछ,  एकजनाले २४सै घन्टा हेरेर बसिरहनुपर्ने रहेछ,’ उनले भने । चल्ला सानो रहुन्जेल लेयर्स कुखुराको चल्लालाई खुवाउने दाना खुवाइरहेको बताइएको छ ।

दुई महिनापछि गाउँमै उत्पादन हुने मकै गहुँ कोदो भटमास मिसाएर लोकल दाना बनाएर खुवाउने लामिछानेको भनाइ रहेको छ । मुख्यगरी घाँस मन पराउने कालिजलाई ७०  प्रतिशत घाँस खुवाउँदा राम्रो हुने बताइएको छ । घाँस खान थालेपछि पाँच सय कालिजलाई दिनमा एक भारी चाहिनेछ । विशेषगरी जै क्लोभरलगायतको घाँस खाने गर्दछ । अहिले कालिज १५ दिनको पूरा भएपछि क्लोभर घाँस दिन सुरु गरिएको उनले बताए ।  करिब सात महिनामा कालिज खान योग्य हुन्छ ।101547105_3568957356465983_4905066386784518144_o

जेठबाट व्यावसायिक रूपमा पालन गरिएको कालिज मंसिरबाट बिक्रीयोग्य हुने उनले बताए । पहिलो चरणमा चल्ला उत्पादन गरेर विस्तार गर्ने योजना रहेकोसमेत उनले बताए । आगामी वर्ष पोथी कालिजबाट चल्ला उत्पादन गरेर आफैँले यसलाई विस्तार गर्ने योजना रहेकोसमेत लामिछानेले बताए ।

लामिछानेले आगामी वर्ष चार हजार कालिजपालन हुने लक्ष्य राखेका छन् । त्यसपछि बजारको मागअनुसार जग्गा भाडामा लिई थप विस्तार गर्ने लक्ष्य रहेको बताए । व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउने योजना रहेको उनले बताए ।  ‘राजनीतिको पूर्णकालीन कार्यकर्ता थिएँ, अरू कुनै व्यवसाय थिएन, त्यसो गरेर मात्र अबको राजनीति धान्न सकिँदैन, किनकि आफ्नै आम्दानीका स्रोतहरू नभएसम्म त कि त भ्रष्टाचार गर्नुपऱ्यो कि त अनियमितता गर्नुपऱ्यो, होइन भने त कुनै न कुनै आम्दानीका स्रोतहरू अपनाउनुपऱ्यो,’ उनले भने, ‘त्यसो गऱ्यो भने मात्र यो जिल्लामा शुद्ध राजनीति अघि बढाउन सकिन्छ भनेर यो व्यवसाय सुरु गरेको हो ।’ नयाँ पत्रिकाबाट

Comments

comments