राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति बनाऔँ : एमाले

काठमाडौं, नेकपा (एमाले) संसदीय दलले मुलुकको वर्तमान असहज परिस्थितिको अन्त्यका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमा हुनुपर्ने निष्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार  बसेको संसदीय दलको बैठकमा एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी ओलीले अहिलेको सङ्कटका बेला सम्पूर्ण राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य भएकामा जोड दिनुभएको छ ।

‘एमाले राष्ट्रिय सहमतिको बाटोमा हिँड्न चाहन्छ, राष्ट्रको माग पनि त्यही हो’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले नेता माधवकुमार नेपालले बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बैठकको निष्कर्ष रहेको नेता नेपालले जानकारी दिनुभयो । नेपालले त्यसबारेमा स्थायी समिति बैठकले निर्णय गरिनसकेको बताउनुभयो । बैठकमा राजधानीमा उपलब्ध एमालेका अधिकांश सांसदको सहभागिता थियो ।

Comments

comments