राष्ट्रिय लिग फुटबल: झापालाई मनाङले हरायो

manang
राजधानीमा जारी राष्ट्रिय लिग फुटबलमा  झापा फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लबसँग ३-२ले पराजित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा व्यहोरेको हारसँगै झापाको शीर्ष स्थान हासिल गर्ने सम्भावना सकिएको छ।
 झापा २४ अङ्कका साथ लिगको चौथो स्थानमा छ भने २५ अंक सहित मनाङ दोस्रो स्थानमा उक्लिएको छ।
 जारी प्रतियोगितामा थ्रीस्टार क्लब २६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब २४ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ।
प्रतियोगितामा पहिलो अग्रता भने झापाले लिएको थियो। कर्ण लिम्बूले खेलको १८औँ मिनेटमा गोल गर्दै झापालाई पहिलो अग्रता दिलाए। खेलको पहिलो हाफसम्म १–० गोलअन्तरले अगाडि रहेको झापा त्यो अग्रता लामो समयसम्म टिक्न सकेन।
खेलको दास्रो हाफ सुरु भएको करिब १२औँ मिनेटमा मनाङका खेलाडी विशाल राई बी ले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । त्यसैगरी खेलको ७०औँ मिनेटमा मनाङका राईले नै पुनः एक थपे।
झापाका योगेश गुरुङले खेलको ८३औँ मिनेटमा एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा  पुगेको थियो। अन्तिम मिनेटमा मनाङका अनिल गुरुङले निर्णायक गोल गर्दै टोलिलाई जित दिलाए।
बिहीबार नेपाल प्रहरी क्लब र मोफसलको टोली लुम्बिनी फुटबल क्लबबीच खेल हुनेछ।

Comments

comments