लकडाउनमा लैङ्गिक अवस्था

सुनिता राउत

परिवार एक विश्वव्यापी सामाजिक संस्था हो  । परिवार यस्तो आधारभूत सामाजिक एकाइ हो, यसका विभिन्न सदस्य आपसमा रक्तसम्बन्ध, वैवाहिक सम्बन्ध वा भावनात्मक सम्बन्धबाट एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । परिवारलाई व्यक्तिगत तथा सामाजिक आवश्यकता पूरा गर्ने तथा समाज विकासको प्रक्रियालाई निरन्तरता दिने संस्थाको रूपमा लिइन्छ । तथापि यसका सबै सदस्य एउटै कार्यमा लागेको भने पाइँदैन । कतिपय सदस्य बाहिरी र कति सदस्यहरू घरायसी एवं घरधन्दामा संलग्न हुन्छन् । विश्वव्यापी रूपमा हेर्ने हो भने घरायसी कार्यमा पुरुषको भन्दा महिलाको संलग्नता बढी पाइन्छ । यो खाले असमान श्रम विभाजनको अवस्था समाज विकासका विभिन्न चरण सँगसँगै हँुदै आएको पाइन्छ । यद्यपि मानव सभ्यताको प्रारम्भमा महिला र पुरुषबीच लैङ्गिक विभेद थिएन । समाजको विकासक्रम अघि बढ्दै जाँदा महिला र पुरुषबीच फरक जैविक संरचनाका कारण विभाजन गर्न थालियो । कामलाई घरभित्र र बाहिरको भनेर विभाजन गर्न थालियो ।

घरबाहिरको कामलाई उत्पादक भनियो । जुन पुरुषले मात्र सम्पन्न गर्न सक्ने त्यसका लागि शक्ति, जुक्ति, बुद्धि, मर्दपन, प्रभुत्वशाली, निर्णायक, टिकाउ, रिसाहा जस्ता विशेषता चाहिने भनियो । यस्तो क्षमता महिलामा नहुने भन्ने व्याख्या गर्न थालियो । ठीक यसको विपरीत महिला शारीरिक रूपमा कमजोर, कामुक, निष्क्रिय, चञ्चल, कोमल, सहनशील, भावुक हुने जस्ता विशेषता हुन्छन् । उनीहरूमा प्रत्येक महिना महिनावारी हुने, बच्चा जन्माउने, पुरुषको भन्दा फरक शारीरिक बनावट हुने जैविक कमजोरी अन्तरनिहित हुन्छ । त्यसैले महिला भनेको बच्चा जन्माउने र उनीहरूको लालनपालन गर्ने, बाहिर काम गरेर आउने पुरुषलाई खुवाउने, माया दर्शाउने वा समग्रमा भन्ने हो भने पुनरुत्पादनसँग सम्बन्धित काम गर्ने वा सेवा गर्ने ‘जात’ को रूपमा स्थापित गरियो । यस्तो मान्यतासँगै फस्टाएको पितृसत्तात्मक सोच, व्याख्या र समाजलाई स्थापित गर्ने काम पनि उनै पुरुषप्रधान विभिन्न धर्मशास्त्र र सामाजिकशास्त्र नै महत्वपूर्ण रहे । यसैक्रममा स्त्रीजन्य कार्यहरू र पुरुषजन्य कार्यहरूबीच स्तरीकरण पनि निर्माण र पुनर्निर्माण हँुदैगए । यसैअनुरूप जन्मेदेखि छोरा र छोरीबीच विभेदपूर्ण र फरक सामाजिकीकरण हुँदै गयो ।
यथार्थलाई स्वीकार्ने हो भने घरायसी कार्य अन्य कार्यको आधारभूत कार्य हो । यसअन्तर्गत उत्पादन तथा पुनरुत्पादनका कार्य समावेश हुन्छन् । जबसम्म घरायसी कार्य सम्पन्न हुन सक्दैन तबसम्म बाहिरी कार्यमा सफलता पाउन गाह्रो हुन्छ । अझ यस पुँजीवादी सामाजिक उत्पादन प्रणालीमा लैङ्गिक विभेद र असमानताको खाडल झनै व्यापक हुँदै गएको पाइन्छ । किनकि पुँजीवादको संरचनात्मक विशेषता नै त्यस्तो हो कि जहाँ हरेक सामाजिक तत्व अथवा सम्बन्धहरूलाई आर्थिक हिसाबकिताबसँग जोडेर बुझिन्छ । जसले मुख्य गरेर सामाजिक शोषण, दमन, पृथकीकरण, वस्तुकरण, हिंसा जस्ता चरित्र बोकेको हुन्छ । जसका केही विशेषता पितृसत्तात्मक समाज र यसले बोकेको चरित्रसँग मेल खान्छ । यही पुँजीवादी पितृसत्तात्मक समाजमा महिला दोहोरो कार्यभार (घरायसी र बाहिरी काम), घरायसी कामको अवमूल्यन, पुरुषको तुलनामा अधिक काम तर असमान ज्याला जस्ता विविध विभेदमा छन् । यस्तै ऐतिहासिक र सामाजिक परिवेशलाई समीक्षा गर्दै अहिलेको विश्व परिवेशमा आतङ्क मच्चाइरहेको कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारीले गर्दा निम्त्याएको ‘लकडाउन’ मा आम मानिस घरभित्रै बस्न बाध्य छन् । अहिलेसम्म यो भाइरसको नियन्त्रणका लागि आधुनिक विज्ञानले कुनै पनि औषधि पत्ता लगाउन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले यसलाई नियन्त्रण गर्न हरसम्भव प्रयास गरिरहेको छ भने आम नागरिकलाई अपिल पनि गरिरहेको छ । यसका लागि सामाजिक दूरी कायम गर्नु र सरकारले गरिरहेको लकडाउनको उचित पालना गर्नु नै अहिलेसम्मको सबैभन्दा उपयुक्त उपाय हुने बताइएको छ । यसै परिस्थितिलाई ध्यानमा राखी राख्दै नेपाल सरकारले लकडाउन गरेको छ ।
लकडाउनका कारण उत्पन्न हुने थुप्रै सामाजिक, आर्थिक तथा राजनतिक असर त छँदैछन् । यस्तो बेलामा घरपरिवारभित्रको लैङ्गिक विश्लेषण गर्ने हो भने अरू बेलाभन्दा बढी महिलाको भूमिका र कार्यबोझ बढेको स्पष्ट छ । योसँगै महिलाको दैनिकीमा दोहोरो जिम्मेवारी बढेको छ । लकडाउन भए पनि कतिपय कार्यालयका काम घरबाटै सम्पन्न गर्नुपर्ने, साथमा बिहानदेखि बेलुकासम्म अधिक समय घरायसी काममा पनि समय निकाल्नैपर्ने जस्ता दोहोरो र अधिक कार्यबोझ अहिले महिलाले भोगिरहेका छन् । हाम्रोजस्तो पुरुषप्रधान समाज त्यसमा पनि पुँजीवादी उत्पादन प्रणालीभित्र महिलाले घरको सबै कामको अभिभारा बोक्नुपर्ने र यो प्रतिस्पर्धी उत्पादन प्रणालीमा बाहिर पनि काम गर्नुपर्ने अवस्था अहिलेको समाजको विशेषता हो ।
कुनै महिला उच्च वर्गको होस् वा निम्न वर्गको घरायसी काम जसको मूल्य हँुदैन तैपनि सबैले वहन गरिरहेका हुन्छन् । घरका प्रत्येक सदस्य बिहानदेखि बेलुकासम्म घरभित्रै बसेका छन्, जसले महिलाको कामको बोझ यसै पनि बढेको छ । जबकि सामान्य समयमा महिलाहरू बिहान, दिउँसो र बेलुकाको केही निश्चित समय अत्यन्त व्यस्त हुने र अन्य समय आफ्ना लागि निकाल्न सक्थे । बाहिर काम गर्ने भए पनि बिहान र बेलुका घरको काम गर्ने अनि कार्यालय समयमा कार्यालय पुग्थे ।

बाहिर काम नगर्ने भए पनि दिउँसो समय निकालेर आराम गर्ने, केही समय टेलिभिजन हेरेर मनोरञ्जन लिनका लागि समय निकाल्थे । बच्चाहरू पनि स्कुल जाने, परिवारका अन्य सदस्य पनि कार्यालय जाने, घरमा भएका वृद्ध सदस्यहरू पनि एक समय सुत्ने अथवा आराम गर्ने भएकाले महिलासँग जोडिएका दैनिकी केही सहज थिए तर अहिले लकडाउनले गर्दा घरायसी काम जस्तै खाना पकाउने, खुवाउने, भाँडा माझ्ने, बच्चाको स्याहार गर्ने, वृद्धको स्याहार गर्ने, घर सफा गर्ने, कपडा धुने, शौचालय सफा गर्ने, विभिन्न परिकार (खानेकुरा) बनाउनुपर्ने भएको छ । यस्तै परिवारका सबै सदस्यको स्वास्थ्यको ख्याल गर्नुपर्ने, खानेकुराको जोहो गर्नुपर्ने, उचित खाना र उचित पोषणको ख्याल गर्नुपर्ने, बाहिर पनि काम गर्ने भए केही समय कार्यालयको कामलाई छुट्याउनुपर्ने जस्ता विविध जञ्जाल महिलाका काँधमा छ । यसरी लकडाउनमा रहँदा महिलाले घरायसी कामबाट फुर्सद पाउँदैनन् भने प्रायः पुरुष २४ घण्टा घरभित्र के गरेर समय कटाउने भन्ने चिन्तामा छन् । यो फुर्सदको समय महिलाका घरायसी काममा सघाउनुपर्छ । सामाजिक सञ्जालमा स्टाटस लेखेर वा श्रीमतीसँग अनावश्यक विवाद गर्नुभन्दा मित्रवत् व्यवहार गर्दै सहयोग गर्नुपर्छ । यो समय भनेको परिवारका सम्पूर्ण सदस्य प्रेमपूर्ण, सद्भावपूर्ण, सहअस्तित्वको भावनामा रमाउने र कोरोनाको विश्वव्यापी महामारीलाई जित्ने अवस्था हो । किनकि आपत्कालीन परिस्थितिमा एकता, समता, खुशी, सुखी, संयम र शान्त रहन आवश्यक छ । यसका लागि प्रत्येक घर, परिवारबाट लैङ्गिक विभेद, असमानता र कुसंस्कृति हटाउन आवश्यक छ । जसले गर्दा परिवारलाई र भावी पुस्तालाई सकारात्मक र समानताको बाटो देखाउन सहज हुन्छ । गाेरखापत्रबाट
(लेखक समाजशास्त्री हुनुहुन्छ  ।)

Comments

comments