लकडाउनमा वन प्रबेश निषेध

Forest pic

रसुवामा वन क्षेत्रमा प्रवेश निषेध गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको मौका छोपेर वन र वन्यजन्तुको चोरी सिकारी बढेपछि डिभिजन वन कार्यालय रसुवाले आइतबारदेखि वन क्षेत्रमा प्रवेश निषेध गरेको हो ।Forest pic

वन्य जन्तु तथा वन संरक्षणका लागि रसुवामा लकडाउनको समयमा मानिसहरूले अनधिकृत रूपमा वन क्षेत्रमा प्रवेश गरी वनमा डढेलो लगाउने, वन्यजन्तुको चोरी सिकारी गर्ने तथा वन पैदावरको चोरी निकासी गर्नेजस्ता अपराध बढेकाले लकडाउनको अवधिभर डिभिजन वन कार्यालय रसुवाको कार्य क्षेत्रभित्र सम्पूर्ण वन क्षेत्रमा प्रवेश निषेध गरिएको डिभिजन वन कार्यालय रसुवाका डिभिजन वन अधिकृत शोभा सुवेदीले बताउनुभयाे ।

वनको क्षेत्राधिकारभित्रका राष्ट्रिय वन (सामुदायिक वन, सरकारद्वारा व्यवस्थित वन) क्षेत्रमा वन संरक्षणका गतिविधिबाहेक अन्य क्रियाकलापहरू गर्न नपाउने गरी वन ऐन, २०७६ को दफा ९ बमोजिम वन क्षेत्रको जंगल प्रवेशमा निषेध गरिएको उनले बताइन् । डिभिजन वन कार्यालय रसुवाले आइतबार एक सूचना निकालेर वन क्षेत्र प्रवेश निषेध गरिएको जनाएको छ ।

वन क्षेत्रमा आफूखुसी प्रवेश गरेमा वन ऐन, २०७६ को दफा ५० (१) (ख) बमोजिम एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेसमेत सूचनामा भनिएको छ । सबै सामुदायिक वन उपभोक्ता समूहलाई लकडाउनको अवधिमा संरक्षणमुखी विशेष कार्ययोजना बनाउँदै संरक्षण गर्न पत्राचार गरिएको सुवेदीले बताइन् । त्यस्तै अन्य अत्यावश्यक कार्यका लागि विना पास वन प्रवेश निषेध गर्न जिल्लाका सबै सामुदायिक वन उपभोक्ता समूहलाई निर्देशनसमेत दिइएको छ ।

Comments

comments