लाङटाङका बासिन्दा आफै पुनर्निर्माणमा जुट्दै

IMG_9935

लाङटाङ । अनुदान सम्झौता नभएपछि रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका बासिन्दा सरकारको भर नपरी आफैँ पुनर्निर्माणमा जुटेका छन् ।
भूकम्प गएको २० महिना बित्दासमेत लाङटाङमा अनुदान सम्झौता हुन नसकेपछि उनीहरूले धमाधम घर बनाउन थालेका हुन् ।

भूकम्पका कारण हिमपहिरो खसेर बगरमा परिणत भएको लाङटाङनजिकैको सुरक्षित स्थान तथा क्यान्जिङ हिम उपत्यकामा अहिले ४० भन्दा बढी घर बनिसकेको छ । २७ वटा घर बन्ने तयारीमा छ । स्थानीय कर्म तामाङका अनुसार आवास निर्माणका लागि अनुदान दिन सरकारले ढिलाइ गरेपछि आफैँले पुनः निर्माणको कार्य सुरु गरेको बताए । स्थानीय नागरिकको घरहरू सबै स्थानीय नै मिलेर पुनर्निर्माण सुरु गरिसकेका छन् । अब क्यान्जिनमा रहेको ऐतिहासिक गुम्बाको पुनर्निर्माण सुरु गर्न मात्रै बाँकी रहेको तामाङले बताए ।

स्थानीयले नै बाटोघाटो मर्मत गरेपछि पदयात्राका लागि आउने विदेशी पर्यटकसमेत बढेका छन् । लाङटाङका बासिन्दाले क्यान्जिङमा घर बनाएर पर्यटकीय होटेल तथा लज खोलिसकेका छन् । भूकम्पपछि क्रमिक रूपमा विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम बढेको छ । लाङटाङ मार्ग सुरक्षित देखिएपछि स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम बढेको स्थानीय फिन्जो तामाङले बताए ।

जोखिममा रहेको बस्तीमा तत्काल अनुदान सम्झौता नगर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पत्र पठाएपछि अनुदान सम्झौता रोकिएको जिल्ला विकास समिति रसुवाका कार्यक्रम अधिकृत लीलानाथ नेपालले जानकारी दिए । पत्र आउनुपूर्व नै लाङटाङमा रहेका एक सय १६ घरधुरीमध्ये ६५ घरधुरीसँग सम्झौता भइसकेको र प्राधिकरणबाट पत्र आएपछि अनुदान सम्झौता रोकिएको बताइएको छ ।

अनुदान सम्झौता भइसकेका ६५ घरधुरीलाई समेत रकम निकासा भएको छैन । जोखिममा रहेका बस्तीमा तत्काल अनुदान सम्झौता नगर्न र गरेको भए रकम निकासा नगर्न भनेपछि रकम निकासा नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

प्राधिकरणको प्रारम्भिक प्रतिवेदन नआउँदा प्रभावितले जसोतसो घर बनाएका छन् । रसुवाको १८ गाविसमध्ये १६ गाविसको जोखिममा रहेका विभिन्न वडाका ८ सय १९ प्रभावितसँग अनुदान सम्झौता हुन नसके पनि घर भने धमाधम बन्न थालेका छन् ।

Comments

comments