लाङटाङमा महाहन्ट अप्रेशन : निकुन्जमा चार हजार बढी गस्ती

lnp

रसुवा, लाङटाङ राष्ट्रिय निकुन्जको कार्यालयले चार महिनाको महाहन्ट अप्रेशनबाट निकुन्ज क्षेत्रमा चार हजार दुई सय ८६ वटा गस्ती सन्चालन गरेका छन् ।

निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७५/७६ को चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा वन्यजन्तुको शिकार बढेको देखिएको छ । गत आर्थिक वर्षको फागुनदेखि जेठ मसान्तसम्म सञ्चालन गरिएको पाँचौं महाहन्ट अप्रेसनमा २८ वटा पासो बरामद गरिएकोमा यो पटक २ सय वटा बरामद भएको छ । वन्यजन्तुलाई पासो थापेर शिकार गर्ने क्रम बढेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले चैत ११ गतेदेखि जेठ मसान्तसम्ममा २ सय वटा पासो बरामद गरिएको जानकारी दिनुभयाे । ‘महाहन्ट अप्रेसन फागुन १ गतेदेखि सञ्चालन गरेका थियौं’, उहाँले भन्नुभयाे ‘लकडाउन अघिसम्म तीनवटा घटना मात्र भएका थिए बाँकी सबै लकडाउन पछि भएको हो ।’

लाङटाङ राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी भुपेन्द्रप्रसाद यादवका अनुसार निकुन्ज तथा मध्यवर्ती क्षेत्रका वन, वनस्पती तथा वन्यजन्तु संरक्षणका निकुन्ज प्रशासन लगायत निकुन्जको सुरक्षार्थ खटिएका अबैध गतिविधि नियन्त्रणका लागि ६ वर्षदेखि महाहन्ट अप्रशेन शुरु भएको हो । यसले निकुन्जको संरक्षण अभियानमा ठूलो सहयोग पुगेको छ ।

२०७६ फागुन एक गतेबाट सुरु भई २०७७ जेठ ३२ गते सम्म निकुन्ज अन्तर्गत जिल्लाको बृद्धिम खाम्जीङ, नुवाकोटको घ्याङफेदी सिन्धुपाल्चोकको भोताङ लगायतका क्षेत्र गरी ४ स्थानमा अपरेसन महाहण्ट—६ सन्चालन भई चार हजार दुई सय ८६ वटा गस्ती बाट विभिन्न क्रियाकलापमा संलग्न ४० जना व्यक्तिहरुलाई विभिन्न सामग्री सहित पक्राउ समेत गरी नियमानुसार कारावाही समेत गरिएको सूचना अधिकारी यादवले बताए ।

समुन्द्री सतहबाट एक हजार मिटरदेखि दुई सय ४५ मिटर उचाईसम्म रहेको यस लाङटाङ राष्ट्रिय निकुन्ज जैविक, धार्मिक, पर्यटकीय तथा संस्कृतिक रुपमा नै धनी रहेको छ । रसुवा ५७ प्रतिशत, नुवाकोट ७ प्रतिशत र सिन्धुपाल्चोक ३६ प्रतिशत गरी १७ सय १० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको पहिलो हिमाली निकुन्जको रुपमा परिचित छ ।

Comments

comments