लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन माग

रसुवा ०७३ कात्तिक २९ गते

लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन स्थानीयले माग गरेको छ । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी स्वास्थ्यचौकी भत्किएर दुई जना स्वास्थ्यकर्मीको मृत्यु भएपछि लाङटाङमा स्वास्थ्य चौकी पुनर्स्थापना गरिएको छैन । स्वास्थ्य चौकी भत्किएसँगै स्वास्थ्यकर्मी र औषाधिकोसमेत व्यवस्था नहुँदा आफूहरू स्वास्थ्यसेवाबाट वञ्चित भएको स्थानीयले गुनासो गरेका छन् ।

०७२ वैशाख १२ गते आएको बिनाशकारी भूकम्पमा परेर लाङटाङमा निकै क्षति पुग्नुका साथै गाउँ बस्ती नै उजाड बनेको थियो ।

सुरक्षित स्थानको पहिचान गरी क्याञ्जिन तथा आसपासमा बस्ती बसाउने कार्य सुरु गरिएको भएपनि अहिलेसम्म लामटाङमा स्वास्थ्यकर्मी तथा औषधि अभाव भएकोले आपूर्तिका लागि माग गरिएको स्थानीय ग्याल्बु तामाङले बताए ।

तत्काल औषधि तथा स्वास्थ्यकर्मी व्यवस्था गर्न सकिने भए पनि भवन अभावले समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. विवेककुमार कर्णले बताए ।

‘करुणा फाउण्डेसनले स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सरकारसँग समन्वय भएको छ । स्थानीयसँग जग्गा व्यवस्थापनमा समन्वय हुन नसकेर स्वास्थ्य चौकी पुनर्निर्माणमा ढिलाइ भएको हो ।’-डा. कर्णले भने ।

Comments

comments