लाङटाङ लिरुङ, भूकम्प–भूत र पर्यटन

phurpa Tamang 2012

फुर्पा तामाङ

 

१. लाङटाङ लिरुङ
लाङटाङ लिरुङ हिमपरी हो
ऊ लाङटाङ सुन्दरी हो
वरिपरिका हिमालहरुबीच
तिमी हिमपरी हौ
मलाई त त्यस्तै लाग्छ
र, पो म घरीघरी तिमीलाई भेट्न आइरहेछु
नत्र किन आउँथें र ?
अनि टाढाका देशबाट
पर्यटक बनेर उकालो चढ्दै
लाङटाङ आइरहेका हुन्छन्
यालापिक, चेर्को री, दोर्जे ल्हाक्पा
अनि गङक्षेम्पो सबै राम्रा लाग्छन्
तर, पनि सुन्दरी त तिमी नै हौ–लिरुङ
लिरुङ गेङेन डक्पोको मुहार देखेर
मलाई कहिल्यै धीत मर्दैन
हेरिरहुँ लागिरहन्छ, विहान, दिउँसो र साँझमा
विहान चाँदी झैं टल्किने
दिउँसो गहुँगोरो मुहार
साँझ सुनौलो रंगमा हाँस्ने
तिमी साँच्चै हिमपरी हौ
मूलखर्क, ठाडे, धुन्चे, भार्खुबाट होस्
या, गत्लाङ, चिलिमे, थुमन, नगथली, तरुचेबाट हेरुँ
ठूलो स्याफ्रु, चोलाङ वा लौरीविनाबाट होस्
मलाई लाङटाङ लिरुङ असाध्यै सुन्दरी लाग्छ
मेरा हात सय किमी लामो भइदिए
टाढैबाट छोइदिउँ–छोइदिउँ लागेर आउँछ
मानवकी छोरी भए लिरुङ
म मगनी गरेर लान्थें
सारा गाउँलेलाई धुमधामले भोज खुवाएर
दुलही बनाई भित्र्याउने थिएँ
म उसलाई हेर्न पटक–पटक लाङटाङ आएको छु
मलाई दोहोर्याई–तेहेर्याई आउन मन लाग्छ
म श्वास हुन्जेल आइरहनेछु
केवल तिमीलाई नजिकबाट हेर्न
म घोडा तबेला पुग्दा
ऊ डाँडा पछाडिबाट लुकेर हेर्छे
मलाई उसको प्यास अरु बढेर आउँछ
र, म थङश्याब उकालो चढ्दै जान्छु
ऊ डाँडामाथिबाट
चियाएर तलतिर मलाई हेर्छे
मेरो मनभरि खुसीको तारा चम्किन्छ
आँखाभरि रंगीचंगी गुराँस फुल्न थाल्छन्
नाकमा धूपी सल्लाको बास्ना ठोकिन आइपुग्छ
प्राकृतिक अत्तर सुगन्धित भएर वातावरण स्वर्ग भइदिन्छ
चौंरीगाईको दूधदहीको मीठो स्वादले जिब्रो रसाउन थाल्छ
कङतङसाको तेर्सो बाटो हिँड्दा
अनायशै श्याब्टु गीत गाएर नाँचुनाँचु लाग्छ
गुम्बातिर हेरेर म क्याप्सुम क्षे भन्छु
शरीर केही हलुको र चंगा भए झैं लाग्छ
बुद्द र अन्य देवीदेवतालाई सम्झन्छु र भन्छु
भगवान, लाङटाङमा आउने सबैको रक्षा गर
टाढाबाट मानिसहरु आउँछन्–आइरहन्छन्
केवल तिमीलाई हेरेर रम्न
शुद्द हावामा श्वास फेर्न
जनावर, चराचुरुङ्गी, फूलहरु हेर्न
लाङटाङबासीको रुप–संस्कृतिसंग साक्षात्कार गर्न
म पनि त्यतिकै लागि आइरहेछु
लाङटाङ गाउँ पुग्दा
मैले गुरुरिम्बोक्र्षेले बनाएको
टशी गोमाङ क्षोर्तेन परिक्रमा गरेको छु
ओम म्हनी पेमे हुङ्री मन्त्र जप्दै
आँखालाई डाँडामाथि डुलाउँदा
लिरुङले वादल उघारिदिन्छ र मलाई हेर्छे
म झन् लोभिन्छु र मोहित हुन्छु
शिन्दुम, मुन्डु, ब्रुलश्याप्ची हुँदै नेसपलीबाट उकालो चढ्ने तागत बढेर आउँछ
काठमाडौंबाट बसले हल्लाएर स्याफ्रुवेशी ल्याई पुर्याउँदा
अनि उकालो चढ्दा थकित भएका मेरा शरीरले
विश्राम गर्न मान्दैन
क्याङजेन गुम्बा पुग्न मनले हतार गर्छ
आहा ! क्याङजेन त धर्तीकै स्वर्ग रहेछ
म दङ्दास हुन्छु
लिरुङ हिमाल मेरै अघि ठिंग उभिन आइपुग्छे
मोहनी लाए झैं म लठ्ठिन्छु
हिमपरीको सामुन्ने भुतुक्कै हुन्छु म
ऊ मेरो आँखैमा टाँसिन आइपुग्छे
उसको काखैमा लुटपुटिए झैं अनुभूति हुन्छ
मलाई भन्न कर लाग्छ
तिमी धर्तीको हिमपरी हौ
मैले अघाउन्जेल हेरिरहें, हेरिरहें
रातै गाला भएकी होटलकी साहूनी
मेरो अघिल्तिर उभिन आइपुग्छन्
र, भन्छन्—फुर्पा सार! कफी पिउनुस् ।
मिति : २०७४।१२।१२

२. भूकम्प—भूत
म भूकम्प भूतलाई कति पनि मन पराउँदिनँ
किनभने ऊ जमिन हल्लाएर आउँछ
घरहरु भत्काइदिन्छन्
जमिन फाटिदिन्छन्
पहिरो खसालिदिन्छन्
अनि धेरै चीजको विनाश गर्छ
त्यसैले मलाई भूकम्प भूत मन पर्दैन
उहिले पनि आएथ्यो होला
त्यसले धेरैका घरहरु भत्काइदियो होला
धेरैलाई अकालमा मारिदियो होला
धेरैलाई अपाङ्ग बनाइदियो होला
धेरैको परिवार बिचल्लीमा पारिदियो होला
नब्बे सालमा पनि आएथ्यो रे
नुमथाङका घरहरु भत्काएथ्यो रे
धेरैलाई मारेको थियो रे
यो साँच्चै भूत हो
जमिन हल्लाउने भूत
धनी–गरिवका घर भत्काइदिने भूत
धनजनको विनाश गर्ने भूत
मलाई भूकम्प भूतको पटक्कै मन पर्दैन
हातले समात्न सकिने भए
लौरोले भूकम्पभूतको टाउको फुटाइदिने थिएँ
आँखाले देख्ने भए,
नङले चिथोरिदिने थिएँ
यस्तो फटाह छ कि,
ऊ कहिले राति सुत्ने बेला आउँछ
कहिले विहान र दिउँसो आउँछ
केही सुइँको नदिई सुटुक्क आउँछ
अनि घरहरु भत्काइदिन्छन्
मानिसहरुलाई घरले पुरिदिन्छन्
पर्खालले थिचाइदिन्छन्
ऊ भन्न नमिल्ने तर सृष्टिकै अपराधी हो
समात्न नसकिने चोर, डाँकु र वदमास हो
उसले चाहँदा धर्ती हल्लाइदिन्छ
हिमालको हिउँ पूरै झारिदिन सक्छ
ताल र कुण्डको पानी पोखाइदिन सक्छ
भूकम्प भूत बेइमान छ
तीन वर्ष अघि
वैशाख बाह्रमा आएर त्यसले
हिमालबाट हिउँको पहिरो
लाङटाङ गाउँ माथि खन्याएर
मेरा कैयन साथीहरु मारिदिएका छन्
छोङ ठिलेन, ग्याल्बो, उर्केन मेरा मित्र
खम्पा दाइ मेरा आफन्त
दिण्डुप मेरा साला
तेन्जिन पासाङ दाइ
यी सबैलाई भूकम्प भूतले खाएका छन्
एकसय पचहत्तर लाङटाङबासी निलेका छन्
विदेशी र स्वदेशी पर्यटक चपाएका छन्
टशीगोमाङ क्षोर्तेन र गुम्बा पुरिदिएका छन्
म हामी आउँदा स्वागत गर्ने
लाङटाङबासीलाई मारिदिएका छन्
त्यसैले, मलाई भूकम्प भूत मन पर्दैन
उसले कहिल्यै बिर्सन नसक्ने घाउ बनाइदिएको छ
कोही टुहुरा बनाइदिएका छन्
कोहीलाई सहारा विहिन बनाइदिएका छन
मेरो बिन्ति छ—लाङटाङबासी
अब सुरक्षित स्थान पहिचान गरेर
भूकम्प भूतले भत्काउन नसकिने घर बनाऔं ।।

३. पर्यटन खेती
उहिले, याकचौंरी, ब्री र भेडाबाख्रा पालन गर्दा
लाङटाङबासीको जीवन सजिलो थियो
लेकवेशी गोठ खेप्यो, प्रकृतिसंग रमाउँदैमा ठिक्क हुन्थ्यो
तर, चामल, नुन र औषधि किन्ने पैसा नहुँदा
जिन्दगी कठीन पनि थियो
जागिर खाउँ, पढेको छैन
गाउँ छोडेर जाउँ, मनले मान्दैन
थातथलोसंगको माया लाङटाङबासीमा औधी छ
त्यसैले उनीहरु लाङटाङ छोडेर
कहीं जान मान्दैनन्
गइहालेमा पनि दुईचार दिनमै फर्किन्छन्
लेकाली कान्ला बारीमा
आलु, जौ, करु र फापर मात्र फलाउँदा
धेरै लाङटाङबासीलाई पेट पाल्न धौधौ थियो
त्रिशूली र धुन्चेबाट खाद्यन्न किनेर ल्याउँथे
निधारमा नाम्लो र ढाडमा भारी हुन्थ्यो
गाउँबाट एकदुईजना हैन, कमिलाको ताँती झैं निस्किन्थे
भारी बिसाएपछि गीत गाउँदै र नाच्दै रमाइलो गर्थे
करुको पिठो, चौंरीको नौनी, चियासंग खाँदै भोक मेटाउँथे
जव पर्यटन खेतीको शुरुवात भयो
लाङटाङबासीका दिन फिर्न थाले
लामा होटलदेखि क्याङजेन सम्म होटल चल्न थाले
लाग्न थाल्यो विदेशीको ओइरो
घरघरमा पैसा भित्रियो
साहेबसंगको चिनजानले
साहेबहरुको आगमनले
पर्यटन खेतीको बिस्तारले
छोराछोरी पढाउन सहयोग
घर व्यवहार चलाउन सहयोग
होटल लज खोल्न सहयोग
औषधि उपचार गर्न सहयोग
विजुली बाल्न सहयोग
सहयोगै सहयोग आउन थाले
लाङटाङबासीको मुहार फेर्न थालियो
घोडा, खच्चर र हेलीले भारी ओसार्न थालियो
धन्य पर्यटन
धन्य साहेबहरु
धन्य लाङटाङ हिमाल
धन्य लाङटाङको तामाङ संस्कृति
फेरि पनि उठ्नु छ लाङटाङबासी
उहिले र हिजो भन्दा अभैm माथि
जोगाऔं आफ्नो धर्म, कला र संस्कृति
लाङटाङ गाउँमा गरौं उत्कृष्ट पर्यटन खेती ।।

Comments

comments