वर्तमान ओली सरकारका १८ मन्त्री र सबै मन्त्रीहरुको जीवनीसहित

kp-oli-cabinet-team-750x430

पाँच वर्षे कार्यकालका लागि ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि तीनपटक मन्त्रीमण्डल बिस्तार गरेका छन् । यसपटक मन्त्रीमा देखिएका अनुहारहरु अधिकांश सक्षम नेताहरु नै देखिन्छन् । नयाँ सरकारबाट नागरिकमा निकै ठूलो आशा पलाएको देखिन्छ । को हुन् प्रधानमन्त्री ओली ? को हुन् मन्त्रीहरु ? यस्तो छ उनीहरुको जीवनी ।

(१) केपी शर्मा ओली : प्रधानमन्त्री
प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) को जन्म बि.सं. २००८ फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा भएको हो । मोहनप्रसाद र मधुका सुपुत्र ओलीको परिवार पछि बसाई सरेर झापा आएको थियो ।

२०२२ सालबाट कम्युनिष्ट आन्दोलनमा होमिएका ओली झापा विद्रोहका कमाण्डर पनि हुन् । उनी ने.क.पा. (माले) का संस्थापक समेत हुन् । पञ्चायत विरुद्ध संघर्ष गर्ने क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल बसेका थिए ।

२०४८, २०५१ र २०५६ मा झापा क्षेत्र–६ बाट निर्वाचित ओली पूर्व गृहमन्त्री समेत हुन् । २०६४ को निर्वाचनमा झापा–७ बाट पराजित उनी २०७० को निर्वाचनमा विजयी भए । २०७४ को निर्वाचनमा झापा–५ बाट निर्वाचित ओली दोस्रोपटक प्रधानमन्त्री भएका हुन् ।

प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन पूरा गरेका ओली नेपाली, हिन्दी र अंग्रेजी भाषामा राम्रो दख्खल राख्छन् । विषयवस्तुको ज्ञानसहित खरो रुपमा प्रस्तुत हुने उनको शैली छ । पहिलोपटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको सामना गरेपछि उनी चर्चाको शिखरमा पुगे । ओली नेपालमा सर्वाधिक रुचाइएका नेतामा पर्छन् ।

(२) ईश्वर पोखरेल : रक्षा मन्त्री
ने.क.पा. (एमाले) का महासचिव समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेलको जन्म २०१० साल माघ २२ गते ओखलढुङ्गाको माम्खामा भएको हो । शिक्षा र साहित्यमा स्नातक पोखरेल शिवराज र रामकुमारीका सुपुत्र हुन् ।

२०२७ सालबाट राजनीतिमा प्रवेश गरेका पोखरेल २०५४ सालमा काठमाडौं–३ बाट सांसद जितेका थिए । संगठन विभागका प्रमूख समेत रहेका पोखरेलले पार्टी संगठनमा राम्रो पकड राख्छन् ।

मनमोहन नेतृत्वको सरकारमा प्रमूख राजनीतिक सल्लाहकार रहेका उनी २०६१ सालमा उद्योग, वाणिज्य र आपूर्ति मन्त्री बनेका थिए । २०६४ र २०७० मा काठमाडौंबाट पराजित पोखरेल २०७४ को निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित भएका हुन् ।

(३) रामबहादुर थापा ‘बादल’ : गृहमन्त्री
बि.सं. २०१५ सालमा गुल्मी जिल्लाको बडागाउँमा जन्मिएका माओवादी नेता रामबहादुर थापा कर्णबहादुर र नन्दकुमारीका सुपुत्र हुन् । इन्जिनियर पढ्न रुस गएका थापा रुसबाटै संगठित भएर नेपालको कम्युनिष्ट आन्दोलनमा लागेका थिए ।

२०३७ सालबाट सक्रिय राजनीतिमा होमिएका थापा नेकपा (मशाल), एकता केन्द्र हुँदै २०५२ सालबाट जनयुद्धको नेतृत्व गरे । माओवादीका बरिष्ठ नेता रहेका थापाले २०३७ सालदेखि २०६३ सम्म भूमिगत र १ वर्ष जेल जीवन बिताएका छन् ।

वार्ताकालमा वार्ता टोलीमा रहेका उनी माओवादीमा कम बोल्ने र शालिन नेता मानिन्छन् । २०६४ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित बादल त्यसपछि रक्षा मन्त्री भए ।

२०६९ मा पार्टी विभाजनपछि वैद्य धारातिर लागेका थापा २०७२ मा पार्टी एकतामा आए । प्रदेश नं.–३ बाट राष्ट्रिय सभामा निर्वाचित थापाले यसपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

(४) प्रदीप ज्ञवाली : परराष्ट्र मन्त्री
बि.सं. २०१९ साल भदौं १९ गते गुल्मी जिल्लाको बलेटक्सारमा जन्मिएका मन्त्री ज्ञवाली एमालेभित्र बौद्धिक नेता मानिन्छन् । ने.क.पा. (एमाले) को सचिवसमेत रहेका ज्ञवाली दार्शनिक र कुटनीतिक मामिलामा प्रखर मानिन्छन् ।

भूमिगत जीवनबाट राजनीतिमा आएका ज्ञवाली २०५६ को निर्वाचनमा गुल्मीबाट सांसद बनेका थिए । २०६४ को संविधान सभा जितेका ज्ञवाली २०७० को दोस्रो चुनावमा भने पराजित भए ।

२०६३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका ज्ञवालीसँग संसदका विभिन्न समितिमा काम गरेको अनुभव छ । २०७४ को निर्वाचनमा उनी गुल्मी–२ बाट विजयी भएका हुन् ।

(५) वर्षामान पुन ‘अनन्त’ : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री
वर्षमान पुन ‘अनन्त’ को जन्म बि.सं. २०२८ साल जेष्ठ १८ गते जङ्कोट–१ रोल्पामा बुबा इर्खराम र आमा तीर्थमालीको कोखबाट भएको हो । पुनले कानूनमा स्नातक गरेका छन् ।

पुन २०४२ सालदेखि राजनीतिमा लागेका ‘अनन्त’ बिसं २०४८ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बने । २०५५ सालमा पार्टीको केन्द्रीय सदस्य, २०५७ मा पोलिट्ब्यूरो सदस्य हुँदै पार्टी सचिव भए । हाल उनी माओवादी केन्द्रको कार्यालय सदस्य छन् ।

जनयुद्ध कालमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर रहेका पुन पार्टीभित्र कुशल संगठक र कुटनीतिक नेता मानिन्छन् । आफूलाई दिएको जिम्मेवारी सधैं कूशलतापूर्वक पूरा गर्ने पुन पूर्व शान्ति मन्त्री र अर्थमन्त्री समेत हुन् ।

२०६४ सालको निर्वाचनमा पुन ललितपुर–१ बाट निर्वाचित भए । २०७० को निर्वाचनमा मोरङबाट चुनाव लडेका पुन पराजित भए । अप्ठ्यारो जिम्मेवारी लिन रुचाउने पुन २०७४ को निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका हुन् ।

(६) गीरिराजमणि पोखरेल : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
शिक्षामन्त्री पोखरेलको जन्म बि.सं. २०१५ साल फाल्गुण २४ गते खोटाङको खार्पामा चन्द्रमणि र कनककुमारीको कोखबाट भएको हो । उनले व्यवस्थापन र कानूनमा स्नातकोत्तर गरेका छन् ।

२०३६ सालदेखि राजनीतिक आन्दोलनमा होमिएका पोखरेल २०६४, २०७० र २०७४ मा महोत्तरी क्षेत्र–१ बाट निर्वाचित भए । माओवादी केन्द्रका कार्यालय सदस्य पोखरेलले यसअघि स्वास्थ्य र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

आफ्नो विषयमा दक्ष मन्त्री पोखरेल शालिन स्वाभावका छन् । अत्यन्तै लगावका साथ काम गर्ने उनले अघिल्लोपटक शिक्षामन्त्री हुँदा अस्थायी शिक्षक व्यवस्थापन सम्बन्धि महत्वपूर्ण ऐन पास गराएका थिए ।

(७) मातृका प्रसाद यादव : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
मन्त्री यादव माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । यादवको जन्म बि.सं. २०१५ साल असोज ३ गते सबैला–५ धनुषामा भएको हो । उनले प्रमाण पत्र तहको अध्ययन पूरा गरेका छन् ।

यादव २०३४ सालको चौथो महाधिवेशनमा मसालबाट कम्युनिष्ट आन्दोलनमा होमिएका थिए । जनयुद्धका बेला यादवले मधेश ब्यूरोको नेतृत्व गरेका थिए । २०६१ मा भारतबाट जेल परेका उनी निर्भिक स्वाभाव र स्वच्छ छविका नेता मानिन्छन् ।

२०६४ मा सांसद बनेका उनले २०६५ मा भूमिसुधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । २०६३ को गीरिजा नेतृत्वको सरकारमा उनले वनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । एलडिओले भ्रष्टाचार गरेको अभियोगमा शौचालयमा थुनेपछि उनी एकाएक चर्चामा आएका थिए ।

(८) रघुबीर महासेठ : भौतिक पूर्वाधार तथा यातायात
मन्त्री महासेठको जन्म २०१६ साल साउन २२ गते मिथिलेश्वर–१, धनुषामा भएको हो । मखन र मायावती महासेठका छोरा रघुवीरका एक छोरी र एक छोरा छन् । महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।

महासेठ २०३३ बाट कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । उनी २०६४ को उपनिर्वाचनमा धनुषा–५ बाट विजयी बने । २०७० सालको चुनावमा महासेठ पराजित भए । पूर्व सिंचाई मन्त्री समेत रहेका महासेठ एमालेमा मधेशका स्थापित नेता हुन् ।

राजनीतिक जीवनमा झण्डै १८ महिना जेल बसेका महासेठले यसपटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।

(९) गोकर्णराज बिष्ट : श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री
बि.सं. २०२२ साल असार १७ गते गुल्मी जिल्लाको दोहलीमा जन्मिएका मन्त्री बिष्ट ने.क.पा. (एमाले) का केन्द्रीय सचिव एवं चचित् युवा नेता हुन् ।

२०४० सालमा लोक सेवामा नाम निकालेका उनी अञ्चलाधीश काजीमान कन्दङ्वासँग विवाद परेपछि पहिलो दिनमै राजीनामा दिएर राजनीतिमा सक्रिय भएका थिए । उनले २०४३ सालमा अखिलबाट राजनीति सुरु गरेका हुन् ।

भीमबहादुर र चिन्तकलाका छोरा बिष्ट ने.क.पा. (एमाले) को युवा र विद्यार्थी फाँटको जिम्मेवारी पूरा गर्दै पार्टी सचिवमा निर्वाचित भएका हुन् । झलनाथ खनाल प्रधानमन्त्री हुँदा उर्जामन्त्री रहेका बिष्ट विद्युत महशुल उठाएर चर्चामा आएका थिए ।

२०६४ को निर्वाचनमा गुल्मी–२ बाट झिनो मतले पराजित बिष्ट २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भए । सरल, मृदुभाषी र पारदर्शी जीवनका पर्याय बिष्टले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।

(१०) शक्तिबहादुर बस्नेत : बन तथा वातावरण मन्त्री
माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको जन्म २०२८ साल बैशाख १ गते जाजरकोटको खलंगामा डण्डबीर र धर्मकुमारीको कोखबाट भएको हो । उनले मानविकी संकायमा स्नातक गरेका छन् ।
बस्नेत २०४७ देखि सक्रिया राजनीतिमा आए । २०५५ सालमा माओवादीको केन्द्रीय सदस्य, २०६० सालमा पोलिट्ब्यूरो सदस्य हुँदै हाल उनी माओवादी केन्द्रको कार्यालय सदस्य छन् । जनयुद्ध कालमा बस्नेतले जनमुक्ति सेनाको डिभिजन कमिसारको भूमिका समेत निर्वाह गरेका थिए ।
बस्नेत पूर्व स्वास्थ्य मन्त्रीसमेत हुन् । माओवादीभित्र बौद्धिक नेताको छवि बनाएका बस्नेत प्रचारभन्दा नीति सुधारको काम गर्न रुचाउँछन् । सरल र मृदुभाषी बस्नेत २०७० र २०७४ मा जाजरकोटबाट निर्वाचित भएका हुन् ।

(११) लालबाबू पण्डित : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
मन्त्री पण्डितको जन्म बि.सं. २०१५ साल मंसीर १९ गते सर्लाही जिल्लामा भएको हो । पाल्पाको तानसेनबाट एसएलसी गरेका पण्डित २०३५ सालमा बालाजु औधोगिक क्षेत्रको यन्त्रशालामा प्राविधिक जागिरे थिए ।

पार्टी सगठनको काम गर्ने क्रममा पटकपटक पक्राउ परेपछि २०३९ सालमा मोरङबाट राजनीति सुरु गरे । पण्डित २०४८ र २०५६ सालको आम निर्वाचनमा मोरङबाट संसदमा निर्वाचित भए । २०६४ मा समानुपातिक सांसद बनेका पण्डित २०७० मा सामान्य प्रशासन मन्त्री बने ।

सामान्य प्रशासन मन्त्री रहँदा पण्डितले राम्रो चर्चा कमाए । डिभी र पिआर सम्बन्धि उनले लिएको अडानले कर्मचारी प्रशासनमा ठूलै भूकम्प आयो । डिभी र पिआर लिएका व्यक्तिले कर्मचारी बन्न नपाउने प्रावधान उनकै बलमा संविधानमै लेखियो । उनी २०७४ सालको निर्वाचनमा मोरङ–६ बाट निर्वाचित भएका हुन् ।

(१२) चक्रपाणि खनाल ‘बलदेव’ : कृषि तथा सहकारी मन्त्री
माओवादी केन्द्रका कार्यालय सदस्य तथा कपिलवस्तु क्षेत्र नं.–१ बाट निर्वाचित चक्रपाणि खनाल ‘वलदेव’को जन्म अर्घाखाँची जिल्लाको ढाकावाङ–३ मा पिता भागिरथ खनाल र माता मुमादेवी खनालका राइला सुपुत्रका रुपमा बि.सं. २०१९ साल बैशाख २० गते भएको थियो ।

उनले २०३४ सालमा नेकपा (चौम) बाट राजनीतिको प्रारम्भ गरे । २०४३ सालमा खनाल ने.क.पा. (मसाल) मा पूर्णकालीन कार्यकर्ताका रुपमा भूमिगत जीवन प्रारम्भ गरेका थिए । खनालले २०४४ सालदेखि नै हतियार जम्मा गरी फौजी तालिम दिएका थिए । उनी २०४७ सालमा मसालबाट एकताकेन्द्र हुँदै माओवादी नेतृत्वमा आए ।

उनी २०५४ सालमा माओवादीको केन्द्रीय सदस्य, २०५७ सालमा पोलिट्ब्यूरो सदस्य, २०५८ सालदेखि जनमुक्ति सेनाको कमाण्डर हुँदै डेपुटी कमाण्डरको जिम्मेवारी सम्हाले । प्रचण्ड प्रधानमन्त्री हुँदा उनी प्रमूख राजनीतिक सल्लाहकार थिए ।

खनालले १५ वर्ष भूमिगत जीवन र ३ वर्ष जेल जीवन बिताएका छन् । अत्यन्तै सरल, प्रष्टवक्ता र निष्कलङ्कित नेताका रुपमा परिचित खनाल पहिलोपटक मन्त्री बनेका हुन् ।

(१३) थपमाया थापा : महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री
बि.सं. २०१५ सालमा आमा गजमती थापा र बुबा नरबहादुर थापाकी कान्छी छोरीका रुपमा म्याग्दीमा जन्मिएकी मन्त्री थापा अखिल नेपाल महिला संघकी महासचिव हुन् । थापाले २०३६ सालको आन्दोलनबाट शिक्षण पेशा छोडेर राजनीति सुरु गरेकी हुन् ।

भूमिगत राजनीतिमा कष्टपूर्ण जीवन बिताएकी थापा २०४८ सालको निर्वाचनमा म्याग्दीबाट निर्वाचित भइन् । महिला आन्दोलनमा सक्रिय थापाले धौलागिरी क्षेत्रमा संगठन बिस्तारमा महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

म्याग्दीबाट सांसद बनेकी थापा सरल जीवन शैली मन पराउँछिन् । राजनीतिक जीवनमा निभाएको जिम्मेवारी अनुसार नै उनले महिला मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

(१४) डा. युवराज खतिवडा : अर्थ मन्त्री
अर्थमन्त्री खतिवडाको जन्म बि.सं. २०१९ सालमा भएको हो । उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर भइसकेका छन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् ।

खतिवडा बि.सं. २०५९ देखि २०६२ सम्म राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष थिए । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमूख भइसकेका छन् । मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका खतिवडा आर्थिक मामिलका विज्ञ मानिन्छन् ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रिय सभामा मनोनित खतिवडा पार्टी राजनीतिमा कनिष्ठ मानिन्छन् । तर, आर्थिक क्षेत्रमा राम्रो दख्खल राख्ने कारण उनलाई सक्षम अर्थमन्त्रीका रुपमा हेरिएको छ ।

(१५) जगत बहादुर विश्वकर्मा : युवा तथा खेलकूद
मन्त्री जगत बहादुर विश्वकर्माको जन्म २०३१ सालको जेठमा कास्कीको घार्मीमा भएको हो । उनले त्रिभूवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

२०४५ सालमा अनेरास्ववियूमा लागेर राजनीति सुरु गरेका विश्वकर्मा पहिलोपटक मन्त्री बनेका हुन् । एमालेभित्र दलित आन्दोलनका अगुवा ठानिने विश्वकर्मा छोटो समयमै राजनीतिको केन्द्रमा आएका हुन् ।

हाल उनी नेकपा एमालेको बैकल्पिक पोलिटब्यूरो सदस्य र प्रदेश नम्बर ४ को सचिव छन् । विश्वकर्माका लागि खेलकूद मन्त्री नयाँ जिम्मेवारी हो ।

(१६) रबीन्द्र अधिकारी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
बि.सं. २०२६ साल बैशाख २२ गते कास्की जिल्लाको भरतपोखरीमा जन्मिएका अधिकारी अखिलबाट राजनीतिमा आएका हुन् । ईन्द्रप्रसाद र लक्ष्मीका सुपुत्र अधिकारीले ने.क.पा. (एमाले) का लोकप्रिय केन्द्रीय सदस्य हुन् ।

२०६४ को संविधान सभा निर्वाचनमा कास्की क्षेत्र–३ बाट १३३८६ विजयी अधिकारीले २०७० को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय हासिल गरेका थिए । २०७० पछि संसदको विकास समितिको सभापति बनेका अधिकारीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र–२ बाट विजय हासिल गरेका हुन् ।

प्रखर वक्ता, विकासप्रेमी र बौद्धिक छवि बनाएका अधिकारी पहिलोपटक मन्त्री बनेका हुन् । एमालेमा उनी बामदेव गौतमनिकट मानिन्छन् ।

(१७) शेरबहादुर तामाङ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री
नवनियुक्त कानून मन्त्री शेरबहादुर तामाङको जन्म बि.सं. २०२५ साल चैत १ गते सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोटमा भएको हो । प्रतापसिंह र फूलमायाका सुपुत्र तामाङले मानवशास्त्र, समाजशास्त्र, इतिहास र कानूनमा स्नातकोत्तर गरेका छन् ।

२०४० सालमा अखिलबाट राजनीति सुरु गरेका तामाङ ने.क.पा. (एमाले) का केन्द्रीय सदस्य हुन् । २०६४ सालको निर्वाचनमा झिनो मतले पराजित तामाङ २०७० र २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र–२ बाट निर्वाचित भएका हुन् ।

(१८) बीना मगर : खानेपानी मन्त्री
नवनियुक्त मन्त्री बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरको ज्येष्ठ सुपुत्रीको रुपमा भएको हो । उनले स्नातक तहसम्मको शिक्षा लिएकी छिन् ।

२०५१ सालदेखि नै माओवादीमा आवद्ध उनी सानै उमेरमा भूमिगत भइन् । जनयुद्धमा सक्रिय रहेकै बेला २०६० सालमा उनलाई सेनाले गिरफ्तार गर्यो र २७ महिना कठोर यातना दियो । हाल उनी माओवादी केन्द्रमा पोलिट्ब्यूरो सदस्य छिन् ।

२०७० सालको निर्वाचनमा कञ्चनपुर–१ मा झिनो मतले पराजित बिना २०७४ को निर्वाचनमा अत्याधिक मतका साथ विजयी भइन् । दृढ ईच्छाशक्ति र जस्तोसुकै कठिन परिस्थितिको सामना गर्नसक्ने बिना पहिलोपटक मन्त्री बनेकी हुन् ।

Comments

comments