वसन्त ऋतुमा गोसाइकुण्ड पुग्दा

phurpa Tamang 2012

फुर्पा तामाङ

वसन्त ऋतुमा गोसाइकुण्ड पुग्दा फुर्पा तामाङ गोसाइकुण्ड भन्नासाथ हिन्दुहरु श्रद्दाले शिर झुक्छन् । हिन्दुहरुका पवित्र धामहरुमध्ये गोसाइकुण्डलाई पनि लिने गरिन्छ । बौद्द र बोन(बोन्पो) धर्म मान्ने तामाङहरुका लागि यो कुण्डको आफ्नै महत्व छ । हिन्दुहरुले केवल गोसाइकुण्डलाई मान्ने गर्छन् । बौद्द र बोन धर्म मान्ने तामाङहरुले गोसाइकुण्डलाई मात्र नभएर भैरवकुण्ड (छोना), भैरव झर्ना (क्षुम्क्षर), सरस्वतीकुण्ड (व्यङलत्ती), छेखङ–डुप्खङ गुफा, सृष्टिमाता कुण्ड(कलेअम), सूर्यकुण्ड (नोर्छो) आदिलाई तामाङ आदिवासीले आफ्नो स्थानको देवीदेवता (नेदाशिप्ता) मानेर पूजा गर्छन् । गंगा दशहरा र जनैपूर्णिमामा गोसाइकुण्ड जाँदा धार्मिक–साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यद्यपि वसन्त ऋतुमा जाँदा प्राकृतिक सौन्दर्यताको दृष्टिकोणले निकै रमाइलो हुँदो रहेछ । विश्व रामसार सूचिमा सृचिकृत यो कुण्डको स्वच्छ पानीमा एक डुबुल्की मार्दा मनै चंगा भएको अनुभूति हुन्छ । वसन्त ऋतुमा पुग्नेले कुण्डमा नुहाउँदा जाडोको उति ख्याल हुँदैन ।Basanta

१. वसन्त ऋतुमा झनै रमाइलो : आफ्नै गाउँको शिरमा भएकोले गोसाइकुण्ड धेरै पटक पुगेको छु । विशेषगरी जनैपूर्णिमाको बेला जाने गरिन्थ्यो—बोन्पो(झाँक्री) संगै । तामाङ गीत गाएर झाँक्रीसंगै नाच्दै जानुको मज्जा पनि छुटै हुन्छ । वर्षातको बेला भए पनि धार्मिक—साँस्कृतिक महत्व भएकोले रमाइलो नै हुन्छ । अध्यात्मिक दृष्टिकोणले पनि यो बेला जानुको महत्व अलि फरक हुने गर्छ । यो वर्ष वसन्त ऋतुमा गोसाइकुण्ड जानुपर्ने भयो । हाम्रो ४ जनाको परिवार, दुईजना जापानिज साथी र झोला बोक्ने एकजना भरिया लिएर ठूलो भार्खु गाउँबाट कुण्डतर्फ उक्लियौं । गाउँबाट उक्लिए देखि बाटाभरि आहा ! कति राम्रो भन्ने शव्द मात्रै निकाल्नु पर्यो । बाटाभरि लाली गुराँस र अन्य फूलहरु फुलेका । २३०० मीटर उचाईदेखि माथि कुनै गाढा रातो, कुनै छिरिबिरे, प्याजी, नीलो र सेतो रंगको गुँरास फुलेको देखिए पछि मन नरम्ने को होला ? फूलका मगमग बास्नाले लाग्थ्यो हामी स्वर्गको यात्रा गरिरहेका छौं । नजिकैको रुखमा आएर चराले चिरबिरे आवाज निकाल्ने र मृग, वनेल, लुंडे मूसाहरु आकल जुकल देखिँदा त्यसले थप रमाइलो बनाउँदो रहेछ । चन्दनबारी देखि माथि उक्लिए पछि हिमालहरु देखिँदा मन रम्ने नै भयो । पाखाभरि सेतो, पहेँलो, नीलो र रातो रंगका भूईं फूलहरु देख्दा फूलबुट्टे तन्ना बिच्छ्याए झैं लाग्ने । धुपी सल्ला र बुकीको सुगन्धले मनै फुरुङ्ग बनाउँछ । लुकामारी खेले झैं वादल पनि छिनमै हराउने छिनमै छोप्न आइपुग्ने रहेछ । यतिखेर कुण्ड वरिपरि अलिअलि हिउँ पनि हुँदा रहेछन् । तामाङ भाषामा ‘ङङ्ब’ भनिने पानी हाँस यसैपाली देख्न पाइयो । तर, पानी हाँस कुण्डको बीचतिर भएकोले सस्तो मूल्यको क्यामेराले कैद गर्न सकिएन । भनिन्छ, यो चरा भाग्यमानीले मात्र देख्न सक्छन् । अरु समयमा भन्दा वसन्त ऋतुमा गोसाइकुण्ड जानु बेग्लै मज्जा रहेछ । हामी धेरै पटक गएकाहरुले त्यस्तो अनुभूति गर्यौं ।

२. जापानिज जोडीको विवाह सम्पन्न :कामको बेफुर्सदीले जापानको फुकौका विश्वविद्यालयकी प्राध्यापक डा. काजुको तत्सुमी, ४७ को विभिन्न कारणले समय नमिल्दा विवाह हुन सकिरहेको थिएन । केही वर्ष अघि सानु भार्खु निवासी मेरा ससुरा सोनाम छिरिङ तमाङ र सासू फुर्पा याङजेन तमाङसंग गोसाइकुण्ड (छोकर) मा जाँदा जे माग्यो भगवानले मनोकामना पूरा गरिदिन्छ भन्नुभएको रहेछ । सोही बेला काजुकोले यहीं आएर विवाह गर्ने भनेर भगवानलाई मागेछ । सोही अनुसार यसपाली उनी र उनको केटाको विवाहको लागि समय मिलेको रहेछ । गोसाइकुण्ड भगवानले हाम्रो इच्छा पूरा गरेको भनी ती जोडी खुसी देखिन्थे । मेरा ससुरा र सासूको निधन भइसकेकोले त्यो विवाहको व्यवस्थापन म र मेरी श्रीमती प्रमिला लामाले गरिदिनुपर्ने भयो । गाउँकै बोन्पो (झाँक्री) फुर्पा ग्याल्पो घलेबाट यी जापानिज जोडीको तामाङ परम्परा अनुसार वैशाख १९ गत े(मे २ तारिख) को दिन गोसाइकुण्ड र कलेआमा ग्या े(सृष्टिमाता कुण्ड) को बीचमा विवाह सम्पन्न भयो । समूद्री सतहबाट ४३८० मीटर उचाईमा रहेको गोसाइकुण्डमा भएको यो विवाह नै पहिलो हो । यसले धार्मिक—साँस्कृतिक पर्यटन विकासमा योगदान दिने विश्वास गर्न सकिन्छ ।

३. सेवा, सुविधाको आधारमा मूल्य महंगो :तुलनात्मक रुपमा यो पर्यटन मार्गका होटल तथा लजको खाना र बस्ने बासको मूल्य अलि महंगो लाग्यो । काठमाडौं, त्रिशूली, धुन्चे तथा स्याफ्रुवेशीबाट नजिक रहेको गोसाइकुण्ड सम्मको पदमार्ग महँगो भयो भनेर बाटामा भेटिएका पर्यटकहरुले गुनासो गरे । चन्दनबारीका केही होटल तथा लज बाहेक अन्य होटल तथा लजहरुको सेवा र सुविधामा निकै कमी देखिन्छ । विशेषगरी कोठा तथा ओढ्ने ओछ्याउनेमा निकै कमसल खालको सेवा देखिन्छ । होटल स्थापनाकाल देखिका कम्बल, शिरक, डस्ना, तन्ना र तकियाहरु रहेका छन् । खाटहरु पनि नमिलेका र अलिकति चल्यो भने तन्नाहरु एकातिर सोहोरिन्छन् । स्पोन्जका डस्ना र तकिया सुत्ने बेला चल्यो भने खाटबाट भूईंमा खस्न खोज्छन् ।

४. वातावरण प्रदुषण बढ्दो :यो पदमार्ग धार्मिक, साँस्कृतिक, पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । हिन्दु धर्मावलम्बीहरु मात्रै गंगा दशहरा र जनैपूर्णिमा गरी दुईपटक आउने गर्छन् । प्राकृतिक भूदृश्य अवलोकन तथा सूर्यकुण्ड पिक चढ्नका लागि वर्षभरि नै अन्य पर्यटकहरु आउने गर्छन् । बौद्द र बोन धर्मका अनुयायीहरु पनि निकै आउने गर्छन् । स्वदेशी र विदेशी पर्यटकहरु आऊजाऊ गरिरहने यो पदमार्ग असाध्यै सुन्दर मार्गमा पर्दछ । पर्यटकहरुको संख्यामा वर्षेनी बढ्दै गइरहेकोले यो पदमार्गको बाटाभरि प्लाष्टिकजन्य पदार्थ, बियर, ह्विस्की, रम, रेडबल, मिनिरल वाटरको बोतल र अन्य पेय पदार्थ एवं खानेकुराका खोलहरु बुट्यानहरु र बाटो छेउछाउमा जहाँतहीं फालेका देखिन्छन् । यसले गर्दा वातावरणमा प्रदुषण बढ्न गएको देख्न सकिन्छ । उल्लेखित वस्तुहरुको जथाभावी फालेको दृश्य कुण्ड सम्मै देख्न सकिन्छ ।

२०७५।२।२८

Comments

comments