विकल्प हैन कृषि

Photo Sushma

सुष्मा न्यौपाने

यतिबेला सारा संसार नै अचम्मलाग्दो नयाँ जीवाणु कोरोनाको संक्रमणबाट थला परेको छ । कोरोनाको संक्रमण देखिएलगत्तै ११ चैतबाटैनेपाल पनि लकडाउनमा छ । त्यसैले व्यापार, अन्य रोजगारसँगै कृषि पनि संकटमा छ ।

एकातिर युवाहरू रोजगारीका लागि विदेशिने । अर्कोतर्फ जागिरको खोजीमा सहर पस्ने । पढ्ने बहानामा गाउँ छाडेकाहरू पनि फर्कन नमान्ने । कारण जे भएपनि गाउँ रित्तिँदै गए । गाउँ रित्तिएपछि सहर भरिने नै भयो ।भरिभराउ परिवारका सदस्य सहर÷विदेशतिर लाग्दै गर्दा गाउँमा धेरैका वृद्ध आमा÷बाबु, बालबच्चा र काम गर्न नसक्ने जनशक्ति मात्र हुन थाले ।

यसको भावनात्मक असर त छँदैछ तर सबैभन्दा ठूलो असर भने कृषिमा पर्न थाल्यो । गाउँमा बसेकालाई पनि खेतीपाती, वस्तुभाउप्रतिको मोह घट्दै गयो । बिस्तारै खेतबारी बाँझिन थाले ।विदेश र सहरमा बसेका छोराछोरीले पनि आम्दानी हुन थालेपछि खेती गर्न, वस्तु पाल्न पर्दैन भनेर आमाबाबुलाई दबाब दिन थाले । पैसा भएपछि सबै कुरा पाइन्छ, भइहाल्छ भन्ने बुझाइ भयो ।

खेती नगरेपछि मान्छेले के खानु ?, अन्न कहाँबाट ल्याउनु र वस्तु पाल्नु ?दाउराको खरियो कुहिएर गएपनि त्यो छाडेर ग्यास बाल्न मन लाग्न थाल्यो । बाख्रापाठा पाल्न छाडेपछि बोका खसी छाडेर ब्रोइलर कुखुरातर्फ मन जान थाल्यो ।सहरमा मान्छेको चाप बढेपछि प्रदूषण त बढ्ने नै भयो । सबै सुविधाभोगी भएपछि गाडी बढ्ने नै भए । आँखा छलेरै भएपनि बाटैमा, खोलामा फोहोर फाल्न थालेपछि पानी कसरी स्वच्छ रहन सक्थ्योर ? उद्योगधन्दा र कलकारखानाबाट निस्कने फोहोर र प्रदूषणको त झन् कुरा गर्नै परेन ।

‘केही काम छैन, खेती गरेर बसेको छु’ भन्नेहरू सर्वत्र भेटिन्छन् गाउँतिर । कृषि आफैँमा सबैभन्दा महत्वपूर्ण काम हो भनेर बुझ्ने÷बुझाउने कहिले ?

   यस्तै÷यस्तैखाले समस्या गाँजिदै गर्दा भूकम्प गयो । केही समयका लागि फेरि गाउँ भरिभराउ हुन थाल्यो । मान्छे भन्न थाले–‘ओहो जे भने नि गाउँ भनेको गाउँ नै हो । भोकले त मरिँदैन । एैचोपैँचो त चल्छ  । वस्तुभाउ पाल्ने खेती गर्ने काम छाड्न नहुने रेछ ।’लाग्यो– भूकम्पले कतिछिटो मान्छेको धारणा परिवर्तन गराएछ । तर त्यो भ्रम चाँडै टुट्यो । फेरि बाध्यता, रहर उस्तै थियो । बिस्तारै गाउँशून्यतातिर फर्किहाल्यो ।एक्कासि आएको कोरोनाले फेरि त्यही नियति दोहो¥याएको छ । मानिस गाउँ फर्केका छन् । तर थाहा छैन, कतै यो पनि भूकम्पपछिकै दृश्यमा परिणत त हुने हैन ?

अहिले कोरोनाले फेरि नयाँ पाठ सिकाएको छ । गाउँको, खेतीपातीको महत्व बढाएको छ । फेरि यसको रोकथाम हुनेबित्तिकै यही नियति दोहोरिने हो भने फेरि यी यस्तै नसोचेका विपद्नआउलान् भन्न सकिँदैन । अबको दिनमा हामी सामान्य जनतादेखि विज्ञ, विशेषज्ञ, प्राविधिक, स्थानीयदेखि जनप्रतिनिधिसम्म सबै सचेत हुनु जरुरी छ ।

स्वास्थ्य, शिक्षा, अवसरका कुरा संघीयताको अभ्यास हँुदै गर्दा पक्कै गाउँ गाउँ पुग्लान् । त्यसैगरी विशेषगरी कृषि कर्म, खेतीपातीलाई विभिन्न कोणबाट हेर्दै, कुन स्थानमा के गर्ने पकेट क्षेत्र बनाएर सरकारले पनि लगानी, बिक्री वितरणमा विशेष ध्यान दिनु जरुरी छ र । हामी नागरिकले पनि गाउँको खेत, रछानको बारीको पाटो बाँझो राख्दै सहरको बसाइँ, सुविधाभोगी र पसलका पत्रु खानेकुराप्रतिको मोह, कृषि कर्मलाई सबैभन्दा गए÷गुज्रेको देख्ने सोच बदल्न जरुरी छ ।

कोरोनाका कारण भएको लकडाउनले कृषकहरूलाई पनि मार परेको छ । तरकारी, दूध, अन्डालगायत उत्पादन भएका चिज बिक्री गर्न पाएका छैनन्। केहीले दूध, अन्डा, सडकमा पोखेका समाचार पनि पढ्न, हेर्न पाइएको छ । बिक्री गर्न नपाएर पक्कै घाटा परेको छ । तर यो लकडाउन कसैको रहरले, कसैको फाइदाका लागि भएको भने पक्कै होइन । मान्छे बाँच्न सके अरुकुरा बिस्तारै सपार्न, जोड्न, बढाउन सकिन्छ । त्यसैले यतिबेला मानव स्वास्थ्य नै प्राथमिकतामा हुनुपर्छ, यसलाई नबिर्सौँ । उत्पादन गर्नेलाई नाफा÷घाटाको कुरा छ । तर लाखौँश्रमिक, भूमिहीन, सुकुमबासी, कृषि मजदूर भोकै छन् ।

आफ्नो बारीबाट टिपेर खाउँ छैन । भकारीमा धान÷मकै छैन । ज्याला गर्न पाएका छैनन् । सरकारको राहत पनि सबैले पाउने कुरै भएन । यसको रामकहानी कोट्याएर यहाँ पत्ता नलाग्ला । कृषकले पनि सडकमा दूध, फलफूल र अन्न, तरकारी फाल्नुभन्दा कोरोना, लकडाउनका कारण घरमा चुलो नबलेका, पेटमा अन्न नपरेका भोकाहरूलाई दिँदा बरु उपयुक्त होला । यसर्थ किसानले पनि विरोध र दबाबको तरिका फेर्न जरुरी छ ।

 अर्कोतिर यस्तोबेला स्थानीय सरकारले ‘एक काज, दुई पन्त’ को बाटो अपनाउँदा राम्रो हुन्थ्यो । आफ्नै क्षेत्रभित्र भएका अन्नपात, फलफूल, तरकारी, दूध÷दही खरिद गर्ने र राहत दिनुपर्नेलाई सोहीबाट दिने गर्न सकिन्छ । केही स्थानीय तहमा यस्ता अभ्यास भएकोसुन्नमा आएको छ । अरुले पनि यस्ता असल अभ्यासलाई निरन्तरता दिँदा उत्कृष्ट हुने थियो । यसो भएमा किसानको उत्पादन पनि खेर नजाने, कोही भोको पनि नपर्ने । स्वस्थ्यकर खाना पनि पाइने । पैसा आफ्नो ठाउँ भन्दा बाहिर पनि नजाने । ढुवानीलगायतको खर्च पनि जोगिने । पक्कै धेरै छन् फाइदा ।

भविष्यमा कुनै दिन सम्पत्तिले जतिसुकै पूर्ण भए पनि यही माटोको उत्पादनबिना बाँच्न सकिँदैन । पैसा भएर पनि कसैले अन्न, तरकारी, फलफूल नफलाए के किन्ने ? कहाँ किन्ने ?विदेशबाट ल्याउने तर कति समय ल्याउने ? सबैको त्यो पँहुच रहला ?त्यसैले आवश्यकताअनुसार प्रविधि भित्राऔँ ।गुणस्तरीय मल÷बीउ, उपकरण उपलब्ध गराऔँ । कृषिमा लगानी गरौँ ।श्रम गरौँ । जे फल्छ, त्यही फलाऔँ तर जमिन बाँझो नराखौँ ।

नागरिकबाट

Comments

comments