विद्यालयमा मोबाइल फोन प्रतिबन्ध

Mobile

कञ्चनपुर  । कञ्चनपुरको एक सामुदायिक विद्यालयले ‘विद्यालयमा मोबाइल’ फोन प्रतिबन्ध गर्ने निर्णय गरेको छ । मोबाइल फोनका कारण घटना हुन थालेको भन्दै भीमदत्त नगरपालिका–१८ कटानको महेन्द्रनगर माध्यमिक विद्यालयले विद्यालमा मोबाइल फोन प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

महेन्द्रनगर मावि विद्यालय व्यवस्थापन समितिको बैठकले साउन २० गतेदेखि लागू हुने गरी विद्यार्थीलाई विद्यालयमा मोबाइल फोन बोक्न, ल्याउन र चलाउन प्रतिबन्ध गरेको समितिले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्ने भएकाले छात्रछात्रा दुवै माथि घटना हुन थालेपछि विद्यालय सञ्चालनका बेला कुनै पनि विद्यार्थीलाई मोबाइल प्रतिबन्ध गरेको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा मोबाइल फोन नल्याउन पहिले विद्यार्थी र अभिभावमा सूचना जारी गरिने छ ।

‘बर्खे बिदा पछिको विद्यालय खुल्ने पहिलो दिन गेटमै सम्पूर्ण विद्यार्थीलाई चेकजाँच गर्छौं, ‘अध्यक्ष विष्टले भन्नुभयो, ‘जति विद्यार्थीले मोबाइल ल्याएका छन्, थुतेर उहाँहरूका अभिभावकलाई बुझाउँछौँ । ’

दोस्रोपटक मोबाइल फेला परे विद्यालयकै नियन्त्रणमा हुन्छ, विद्यार्थी पासआवट अर्थात् अर्को विद्यालय जाने बेला दिने र तेस्रोपटक पनि फेला परे कानुन अनुसार कार्बाही गर्ने अध्यक्ष विष्टले बताउनुभयो ।

‘मोबाइल फोनका कारण विद्यार्थीको भविष्य डामाडोल हुन थाल्यो, ‘उहाँले भन्नुभयो, ‘यति मात्र नभई फोन दुरुपयोगका कारण समाजमा आपराधिक क्रियाकलाप बढ्न थालेका छन् । ’ विद्यार्थीलाई अनुशासित बनाइ असल नागरिक बनाउने उद्देश्यले विद्यालय सञ्चालनका बेला फोन प्रतिबन्ध गर्ने निर्णय गरिएको अध्यक्ष विष्टको तर्क छ ।

Comments

comments