विश्वलाई त्राहीमाम बनाएका २२ महामारी रोग र तिनका इतिहास

Dr Jhalak Gautam

डा. झलक गौतम

पृथ्वीमा मानवको उत्पत्ति हुनुभन्दा अगाडी नै जिवाणु (व्याक्टेरिया) र विषाणु (भाइरस)हरुको उत्पत्ति भएको हो । आज भन्दा करीब साढे ३ अर्व बर्ष अगाडी व्याक्टेरिया, डेढ अर्व बर्ष अगाडी भाइरस र १ लाख ३० हजार बर्ष पहिले मानवको उत्पत्ति भएको भएको मानिन्छ । त्यहि बेलादेखि मानव समुदाय विभिन्न प्रकारका जिवाणु विषाणु ढुषि र परजिवीहरुद्धारा घेरिएर अस्तित्वमा रहेको छ ।

सबैजसो जिवाणु विषाणु र परजिवीहरुले रोग लगाउँदैनन्, कतिपय मानवजातीका लागि फाइदाजनक पनि हुन्छन् भने कतिपयले विभिन्न खालका रोगहरु लगाउँछन् । तिनै रोग लगाउने नयाँ र पुराना जिवाणु वा विषाणुहरुले कहिलेकाही महामारीको रुप पनि लिन्छन् ।

मानवजातिले उत्पत्ति भए देखि नै त्यस समयका विभिन्न तरिका र प्रविधि अपनाएर महामारीलाई पराजित गर्दै आफ्नो अस्तित्व रक्षा गर्दै आईरहेको छ । हालसालै देखिएको कोरोना भाइरस (कोभिड – १९)को विश्वव्यापी महामारी पनि आजसम्म इतिहासमा उल्लेख भएका दर्जनौँ महामारी मध्येको एउटा हुने निश्चित छ । र,  मानव जातीले यस महामारीलाई पनि अवश्य नै पराजित गर्नेछ ।

विश्व चर्चित महामारीहरु र मानवीय क्षति :

१. विफरको महामारी :

भाइरस (विषाणु) बाट हुने यो रोग विश्वको सबैभन्दा पुरानो र घातक रोग हो जसले पटक पटक संसारभर धेरै मानवीय क्षति पुरयाएको तथ्यांकहरु रहेका छन् । यो करीब ईशापूर्व ८००० वर्ष पहिले देखि सन् १९७९ सम्म रहयो । हाल यो रोग खोपद्धारा उन्मुलन भै सकेको छ । यो रोग लागि सकेपछि करीब ३० प्रतिशत मानिसहरुको मृत्यु हुन्थ्यो । ठूलो संख्यामा अपांगहरु हुन्थे ।  विफरका कारण संसारमा करीब ८० करोड मानिसको मृत्यु भएको अुनमान छ ।

२. एन्टोनीयन प्लेग :

यो सन् १६५ देखि १८० सम्म फैलिएको थियो । यसलाई धेरैले विफर वा दादुरा भएको हुनसक्ने भनेर पनि उल्लेख गरेका छन् । यसको मृत्युदर ३० देखि ९० प्रतिशतसम्म रहेको देखिन्छ । यस रोगबाट करिब ५० लाख देखि १ करोड मानिसको मृत्यु भएको अनुमान छ । तत्कालिन रोमका यहि रोका कारण एक तिहाई जनसंख्याको मृत्यु भएको थियो ।

३. जस्टिनियन प्लेग :

ईश्वी सम्वत ५४१ ५४२ मा देखिएको थियो । यो जिवाणुबाट हुने रोग हो । जुन संक्रमित उपियाको माध्यमबाट फैलिएको थियो । यो रोग युरोप र पश्चिम एसियामा फैलिएको थियो । यसको मृत्युदर ४० प्रतिशत रहेको थियो । करीव १० करोड मानिसको मृत्यु भएको थियो । युरोपको त्यस त्यस समयको करिव आधा जनसंख्याको मृत्यु भएको अनुमान गरिएको छ ।

४.  व्ल्याक डेथ ( कालो मृत्यु ) प्लेगको महामारी :
एसिया र युरोपमा सन् १३४६ देखि १३५३ सम्म फैलिएको यो रोगलाई पनि प्लेग नै भनिएको छ । उपियाको माध्यमबाट सर्ने जिवाणुले गराउने रोग हो । यसको मृत्युदर ३० देखि ९० प्रतिशतसम्म रहेको थियो ।

यस रोगबाट १० करोड भन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । केही मानिसलाई पनि क्वारेन्टाइनमा राखी बचाइएको थियो । यस समयमा पनि यो रोगबाट ३० देखि ६० प्रतिशत युरोपको जनसंख्याको मृत्यु भएको थियो । यो महामारीले युरोपको ईतिहासलार्य बदलेको थियो भनिन्छ । बाँचेका मानिसहरुले राम्रो ज्याला पाए, कामदारहरु श्रमिकहरुको कमिले गर्दा छिटो छिटो प्रविधिको विकास गरियो ।

५ . कोको लिस्ट्ली :

यो भाइरसद्धारा हुने रोग हो भनि अनुमान गरिएको छ । यसमा रगत मिसिएको पखला हुनुको साथै नाक आँखा र मुखबाट रगत बग्ने हुन्थ्यो । यो रोग सोह्रौँ सताव्दी ( १५४० – १५८५ ई स)मा पटक पटक मेक्सिकन साम्राज्यमा फैलियो । जसका कारण करीब २ करोड भन्दा बढी मानिसको मृत्यु भएको थियो । कोको लिस्ट्ली म्याक्सिकोको जनसंख्या कोल्यास्पको प्रमुख कारण बन्यो । हालसालै गरिएको अध्ययनले के भनेको छ भने यो रोगले बनाउने जिवाणु साल्मोनेला को उपसमूह एस प्यारासाइटले गराएको थियो ।

६. अमेरिकन प्लेग :
यो १६ औँ सताव्दीमा अमेरिकामा फैलिएको महामारी हो । यसमा विफर लगायतका रोगहरु युरोपियनहरुको माध्यमबाट त्यहाँ पुग्यो र मेक्सिको लगायतका पश्चिमी गोलार्धको ९० प्रतिशत आदिवासीहरुको मृत्यु भएको थियो । त्यहि बेला देखि अमेरिका र मेक्सिकोमा स्पेनिसहरुले आफ्नो साम्राज्य समेत कायम गरे ।

७. लण्डनमा फैलिएको प्लेगको महामारी :

इस १६६५ देखि १६६६ सम्म संक्रमित उपियाबाट सरेको यो रोगले १ लाख मानिसको ज्यान लिएको थियो । त्यसबेला लण्डनको जनसंख्याको करीब १५ प्रतिशत मानिसको मृत्यु भएको मानिएको छ ।

८. मार्सेली :

फ्रान्समा फैलिएको प्लेगको महामारी ईश्वीसम्वत १७२० १७२३ ईसमा फैलिएको थियो । यो महामारीमा पनि करीब १ लाख मानिसको मृत्यु भएको थियो । यो प्लेग मध्यपूर्वबाट पानीजहाजमा खाद्यन्न संगै पुगेका मुसाहरुका कारण फैलिएको थियो ।

९.  रसियन प्लेग :

सन् १७७० देखि १७७२ सम्म रसियाको मस्कोमा फैलिएको महामारीमा पनि करीब एक लाख मानिसको मृत्यु भएको थियो । त्यसबेला सरकारले कारखानाका कारण प्लेग फैलिएको भनि सबै कारखानाहरुलाई मस्को बाहिर ल्याउने आदेश दिइएको थियो ।

१०. भिरिङ्गी :

सन् १४९० देखि १९२८ सम्म अमेरिकामा उत्पन्न भएको जिवाणुले संसारभर फैलिएर लाखौँ मानिसहरुको मृत्यु भयो । यसको मृत्युदर ८ देखि ५८ प्रतिशतसम्म रहेको थियो । संसारभर सयौँ बर्षसम्म यो रोग जनस्वास्थ्यको समस्याको रुपमा रह्यो । कण्डम र पेनिसिलिन –प्रतिजैविक औषधि)को प्रयोग पछि यो रोग सामान्य हुँदै गयो ।

११. हैजाको महामारी :

सन् १८४० देखि १८६० सम्म भारतमा उत्पत्ति भएको हैजाको जिवाणुले संसारभरका लाखौँ मानिसको ज्यान लियो । यसको मृत्युदर ५० देखि ६० प्रतिशतसम्म थियो । एसिया, युरोप, अप्रिका, अमेरिकामा लाखौँ मासिनको मृत्यु भयो । दूषित पानीका कारण यो रोग सर्दछ । अहिले पनि हैजाले गरीब र विकासोन्मुख देशहरुमा प्रतिवर्ष १ लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।

१२. तेस्रो प्लेगको महामारी :
ईसं १८५५ देखि १९५९मा चीन र भारतमा फैलिएको प्लेगले एक करोड भन्दा बढीको ज्यान लिएको थियो । यसको मृत्युदर ३० देखि ९० प्रतिशत थियो । प्लेग विरुद्धको खोप पत्ता लागेपछि त्यसको प्रयोगले लाखौँको ज्यान जोगाएको पाइन्छ ।

१३. स्पेनिस फ्लु : 
इसं १९१८ देखि १९२०सम्म चीनबाट फैलिएको एच१एन१ भन्ने भाइरस संसारभर फैलिएर करीब १ करोड मानिसको मृत्यु भयो । यसको मृत्युदर २० प्रतिशत रहेको थियो ।

१४. एचआईभी एडस :
पश्चिम अफ्रिकामा सन् १९७८ मा बनमान्छेबाट उत्पत्ति भएको यो भाइरसले अहिले संसारभर फैलिएर धेरैको मृत्यु भएको छ । यस रोगबाट ३ करोड ५० लाख मानिसको मृत्यु र्भको अनुमान छ । ७ करोड भन्दा बढी मानिस संक्रमित छन् । अझै पनि यो रोग जनस्वास्थ्यको समसयाको रुपमा रहेको छ ।

१५. एसियन फ्लु ( रुघाखोकी) :
ईसं १९५७ देखि १९५८सम्म फैलिएको –एच२एन२ भाइरसका कारण १० लाख जति मानिसको मृत्यु भएको अनुमान छ । यो भाइरस चीनमा पत्ता लागेको थियो । शुरुमा सिंगापुरबाट पछि संसारभर फैलियो ।

१६. हंङकङ फ्लु ( रुघाखोकी ):

सन् १९६८ देखि १९६९सम्म एच३एन२ भन्ने भाइरसका कारण संसारभर करीब १० लाख मानिसको मृत्यु भएको अनुमान छ ।

१७. सार्स कोरोना :

सार्स कोरोना भाइरसको महामारी सन् २००३मा देखा परयो । जसका कारण संसारका २६ वटा देशमा फैलिएर ७ सय भन्दा बढी मानिसको मृत्यु भयो ।

१८. स्वाइन फ्लु :

सन् २००९ मा एच१एन१ भाइरसका कारण महामारी फैलियो जसका कारण १ लाख ५० हजार मानिसको मृत्यु भएको अनुमान छ ।

१९. मर्स कोरोना :

यो भाइरसको महामारी सन् २०१२ मा मध्यपूर्वमा देखा परयो । जसका कारण ८ सय बढी मानिसको मृत्यु भयो । मुलत पश्चिम अफ्रिकी मुलुकहरुमा ।

२०. ईवोला भाइरस :

यो भाईरसको महामारी मुलत पश्चिम अफ्रिकि मुलुकहरुमा सन् २०१४ देखि २०१६ सम्म रहयो । यो रोगका कारण ११००० हजार बढी मानिसको मृत्यु भयो ।

२१. पोलियो महामारी :

संसारको पुरानो रोगमध्ये एक हो पोलियो । ईसं १९५२ मा अमेरिकामा भएको पोलियोको महामारीमा ३ हजार भन्दा बढीको मृत्यु भयो भने २१ हजार बढी अपांग बने । १९४० र ५० को दशकमा युरोप अमेरिका र संसारभर ५ लाख बढी मानिसहरुको मृत्यु र अपांग बनेका थिए । हाल यो रोग विरुद्ध खोप प्रयोग गरेर उन्मूलनको पूर्व तयारीमा रहेको छ ।

२२. कोरोना भाइरस ( कोभिड १९) :  सन् २०१९को अन्तिम दिन डिसेम्वर ३१ मा चीनको वुहानमा देखा परयो । अहिले विश्वव्यषपी महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई मानव जातिकै लागि संकट भनेर घोषणा गरिसकेको छ र विश्व समुदाय यसका विरुद्धमा आ आफ्ना ठाँउबाट लडि रहेको छ ।

भाइरस व्याक्टेरिया र परजिवीहरु कसरी मानिसमा सर्दछन् ?

१. खाना र पानीमा रोग लगाउने भाइरस व्याक्टेरिया र परजिवीहरु मिसिएर वा दुषित भएर ।
२. खेती पाती चरीचरण र पशुपंक्षी पालनका माध्यमबाट
३. जंगली जनावरको टोकाईबाट
४. किटजन्य प्राणीहरुको टोकाईबाट
५. घरपालुवा जनावरहरुको संसर्गबाट
६. बाताबरणीय असन्तुलनबाट

महामारी कसरी नियन्त्रण गर्न सकिन्छ ?

१. रोगीलाइ आइसोलेसनमा राख्ने वा समूहमा नराख्ने अर्थात क्वारेन्टाइनको तरिका अपानाउने ।

२. रोग पत्ता लगाउने
३. सर्भिलेन्स गर्ने
४. उपचार गर्ने
५. खोपहरु लगाउने
६. बाताबरण सरसफाई र पोषणको अवस्था सुधार गर्ने
७. खोज अनुसन्धान र प्रविधिको प्रयोग गर्ने ।
८. व्यवहार परिवर्तन गर्ने ।

ईतिहासको अध्ययनले के बताउँछ भने प्रत्येक महामारी पश्चात पाठ सिक्दै र त्यो महामारी नियन्त्रण कसरी गर्न सकिन्छ भनेर उपाय पनि पत्ता लगाउँदै आएको छ भन्ने देखिन्छ । जस्तै: पटक पटकका प्लेगको महामारीबाट जोगिन क्वारेन्टाइनको अवधारणा मानव जातिले सिक्यो र त्यो प्रभावकारी पनि देखियो ।

विफरको माहामारीबाट जोगिन खोप पत्ता लगाईयो जसले गर्दा विफर उन्मुलन नै भयो र अन्य रोगहरुका लागि पनि खोपहरुको प्रयोग गरिदै गयो । भिरिङ्गीको महामारीबाट जोगिन प्रतिजैविक औषधि पत्ता लगाईयो जसले गर्दा यो औषधि अन्य रोगहरुका लागि पनि उपयोगी देखियो ।

हैजाको महामारीबाट जोगिन खानेपानी तथा ढल व्यवस्थापन र बाताबरणीय सरसफाईमा ध्यान दिईयो भने औलो व्वरो र यलो फिवर जस्ता रोगहरुको नियन्त्रणका लागि किटनासक पदार्थको प्रयोग गरियो । विश्वमा यो कोभिड- १९ को महामारी पनि अन्तिम होइन भन्ने बुझ्नु जरुरी छ ।

बैज्ञानिक र सर्व स्वीकार्य उपायहरु अपनाएर यो र अन्य हुनसक्ने माहामारीलाई पनि नियन्त्रण गर्न सकिन्छ । प्रत्येक पटक मानव जातिले महामारीलाई जितेको इतिहास साक्षी छ ।

पशुपंक्षी, बनजंगल र सुक्ष्मजीवहरुका बीचको सन्तुलन विग्रियो भने स साना जीवहरु नयाँ स्वरुप वा पुरानै स्वरुपमा पनि मानिसलाई आक्रमण गर्न सक्दछ । र, संसारमा महामारी फैलन सक्छ । त्यसैले पृथ्वीको सन्तुलन विगार्ने कार्य नगरौँ । अझै मानव समुदायले आफ्नो आश्तित्व रक्षाका लागि धेरैवटा महामारीहरको सामना गरी रहनुपर्ने छ । पृथ्वीमा हामी  मानव मात्रै छैनौँ भन्ने हेक्का राखी रहनु पर्दछ ।

नेपाली हेल्थ

# डा. गौतम स्वास्थ्य सेवा विभागमा बरिष्ठ स्वास्थ्य प्रशासकको रुपमा कार्यरत छन् ।

Comments

comments