वैकल्पिक कक्षा सञ्चालनका चुनौती र अवसर

Minakshi Dahal

बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन र विद्यालय बन्दका कारण हुन सक्ने शैक्षिक क्षती न्यूनीकरणका लागि वैकल्पिक कक्षाको व्यवस्था एउटा महत्वपूर्ण कदम हो ।तर यस्ता कक्षाहरुको प्रभावकारीता र यसले बालबालिकाको शैक्षणिक प्रगति तथा मनोसामाजिक स्वास्थ्यमा पार्ने प्रभाव तथा असरहरुको बारेमा धेरै छलफल गर्न बाँकी छ । डा. मीनाक्षी दाहाल

कोभिड -१९ का कारण बन्दाबन्दीमा परेको पनि तीन महिना भन्दा बढी भैसकेको छ । अझै कति लम्बिने हो भन्ने पनि अन्योलको अवस्था नै छ । यस बन्दाबन्दीले स्वास्थ्यका साथै आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा पारेको असर समयसँगै बढ्दै गइरहेको छ । लामो समयको अन्यौल र अनिश्चितता पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिने महत्वपूर्ण निर्णय गर्र्यो ।

सम्माननीय प्रधानमन्त्रीको शुभकामना सन्देशसँगै देशै भरी वैकल्पिक कक्षाको औपचारिक सुरुवात भएको छ । बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन र विद्यालय बन्दका कारण हुन सक्ने शैक्षिक क्षती न्यूनीकरणका लागि यो एउटा महत्वपूर्ण कदम हो । तर यस्ता वैकल्पिक कक्षाहरुको प्रभावकारीता र यसले बालबालिकाको शैक्षणिक प्रगति तथा मनोसामाजिक स्वास्थ्यमा पार्ने प्रभाव तथा असरहरुको बारेमा भने अझ धेरै छलफल गर्न बाँकी छ । यस लेखमा यिनै विषयहरुलाई केलाउने प्रयास गरिएको छ ।

शिक्षा मन्त्रालयले वैकल्पिक कक्षा सञ्चालनका लागि बालबालिकाको अवस्था र उनीहरुको विभिन्न माध्यमहरु माथि पहुँचको अवस्थालाई आधार मानी बालबालिकाको अवस्थालाई पाँच वर्गमा छुट्टाइ सोही अनुसार कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । तर यस सँगै विभिन्न माध्यमबाट कक्षा सञ्चालन गर्दा ध्यान पुराउनु पर्ने महत्वपूर्ण पक्षमा चाहिं यो निर्देशिका मौैन देखिन्छ । कक्षाकोठामा आमने सामने भएर सिकाइ क्रियाकलाप गराउँदा र रेडियो, टेलिभिजन तथा अन्य विभिन्न माध्यमबाट एकतर्फी सिकाइ क्रियाकलाप सञ्चालन गर्नुमा धेरै नै फरक पर्दछ । यसका लागि कक्षा तयारी तथा सहजीकरणका लागि विशेष सीपको आवश्यकता पर्दछ ।

तर अहिले सञ्चालित कतिपय कक्षाहरु हेर्दा यस्ता कक्षा सञ्चालनका लागि पर्याप्त तयारी तथा गृहकार्य नगरेको महशुस हुन्छ । अहिलेको परिस्थितिमा बालबालिकाको लागि औपचारिक कक्षा सञ्चालन आफैंमा चूनौती हो । तर यस घर बसाइमा पनि शैक्षणिक क्रियाकलाप सञ्चालन गरी धेरै बालबालिकाकालाई एकै समयमा सिकाइ क्रियाकलापमा जोड्नु एउटा अवसर पनि हो । यस अवसरलाई हामीले विभिन्न वैकल्पिक माध्यमहरु (रेडियो, टेलिभिजन तथा अन्य) बाट प्रशारण गरिने क्रियाकलापले धेरै बालबालिकालाई निरन्तर र नियमित बनाउन सक्दछौं त्यो उपलब्धि हुनेछ ।

यस्ता वैकल्पिक कक्षाहरुमा बालबालिकाको नियमितता सधैं नै चूनौतिपूर्ण हुन्छ । अझ यस्ता शिक्षण एकतर्फी हुने हुनाले कुन बालबालिकालाई कस्तो सहयोग आवश्यक हुन्छ आँकलन गर्न सकिदैंन । तर शिक्षकले यदि सिकाइ प्रक्रिया, विषयवस्तु तथा पाठ्यक्रम बुझेको छ भने उसले उपयुक्त विधिको छनौट गरी सोही अनुसार प्रभावकारी शिक्षण कार्य गर्न सकिन्छ ।

यहाँ मनन गर्नुपर्ने अर्को पक्ष भनेको प्रविधि र शिक्षण विधि (Technology and pedagogy)  हो । पेडागोजीले सिकाईलाई बालबालिकासँग जोड्ने कुरालाई महत्व दिन्छ । यसको लागि एउटा माध्यम प्रविधि हुन सक्छ । तर पुरै प्रविधि नै शिक्षण सिकाइको विकल्प हुन सक्दैन र बनाउनु पनि हुदैन । त्यसो भए प्रश्न आउँछ, कक्षा सञ्चालन कसरी गर्ने त ?

सामान्य अवस्थामा पनि शिक्षण सिकाइ क्रियाकलापहरु बालबालिकालाई प्रत्यक्ष संलग्न र सहभागि गराउने प्रकारका बाल केन्द्रित हुनुपर्ने हुन्छ । बालबालिकाको सिकाइ पाठ्यक्रमले निर्दिष्ट गरेको सैद्धान्तिक आधारमा मात्र सिमित हुदैन र हुन दिनु पनि हुदैन । यसो भन्दा अहिले रेडियो, टेलिभिजन तथा अन्य विभिन्न माध्यमबाट प्रशारित हुने कक्षा वा विषयगत सिकाइले बालबालिकाको सिक्न सक्ने असिमित क्षमता र अहिले परिस्थितिमा घरमा परिवारसँग बसेर जीवन र जगत बारे पाएको अनुभव, सीप र सिकाइका अवसरलाई यि वैकल्पिक कक्षाहरुले कसरी समायोजन गर्दछन् अर्को छलफलको विषय हुनु पर्दछ ।

अझ महत्वपूर्ण पक्ष र छलफलमा नै नआएको विषय औपचारिक कक्षाको किताव केन्द्रित पढाइ र सोही अनुसारको हाम्रो मूल्याङ्कन पद्धति हो । अहिलेको अवस्थामा बालबालिकाले घरमा नै बसेर हासिल गरेको नयाँ ज्ञान र सीपलाई हाम्रो परम्परागत मूल्याङ्कन पद्धतिले कसरी समेट्छ । प्रश्न अनुत्तरित छ ।

तसर्थ अहिलेको जस्तो वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न पूर्व यस्ता कक्षाहरुमा आमनेसामने बसेर प्रत्यक्ष गरिएका क्रियाकलापहरु भन्दा फरक र अझ पाठ्यपुस्तक भन्दा पनि बालबालिका केन्द्रित बनाउनु पर्दछ भनेर कम्तिमा पनि निम्नअनुसार तयारी गरिएमा केही हदसम्म यसको प्रभावकारीता बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

सर्वप्रथम त बालबालिका लागि कक्षा सञ्चालन गर्दा शिक्षकले पाठयोजना तयार गर्नुपर्दछ । पाठयोजना सहित कक्षा सञ्चालनका लागि तयारी गरिएमा यसबाट शिक्षकले के के क्रियाकलाप कसरी कति समयमा गर्ने र त्यस कक्षाको उद्धेश्य के हो अर्थात बालबालिकाले त्यस क्रियाकलापबाट के सिकाउन खोजिएको हो स्पष्ट हुन सहयोग पुग्दछ ।

यस्ता वैकल्पिक कक्षाको एउटा फाइदा भनेको हामीले विषयवस्तुलाई एकीकृत गरेर एकै पटकमा सिकाउन सकिन्छ । यसका लागि विषयगत कक्षा भन्दा सिकाइ उपलब्धिलाई आधार मानी एकीकृत सिकाइ क्रियाकलाप तयार गरिएमा यस्तो शिक्षण प्रभावकारी हुन्छ । यसको लागि शिक्षकले कुन क्रियाकलापबाट कुन कुन विषयको सिकाइ गर्न सकिन्छ भनी पूर्व अध्ययन तथा तयारी गर्नुपर्दछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले कक्षा ३ सम्मका बालबालिकाको लागि एकीकृत पाठ्यक्रम लागू गरि सकेको छ ।

वैकल्पिक कक्षाहरुमा विभिन्न विषयवस्तुलाई श्रव्य, दृष्य, श्रव्यदृष्य, फोटो, चित्र तथा फरकफरक आवाजहरुको प्रयोग गरेर प्रभावकारी सिकाइ गर्न सकिन्छ । यस्ता विविध अतिरिक्त श्रव्यदृष्य सामग्रीको प्रयोगले बालबालिकाको ध्यान केन्द्रित गर्न र उनीहरुलाई सिकाइ क्रियाकलापमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेल्दछ । यस्ता क्रियाकलापहरु तयार गर्दा बालबालिकाको सबै ज्ञानेन्द्रियको प्रयोग हुने गरी बनाउनु पर्दछ । शिक्षकले क्रियाकलाप तयार गर्दा विषयगत उद्धेश्यलाई मध्यनजर गरी यस्ता क्रियाकलाप तयार गरी प्रशारण गर्नुपर्दछ ।

कक्षा सञ्चालन गर्दा बालबालिका (श्रोता वा दर्शक) हरुले यस क्रियाकलाप भित्र आफूलाई महशुस गर्ने वातावरण तयार गर्नु पर्दछ । साथै बलाबालिकालाई प्रशारीत विषयवस्तुसँग अन्तरक्रिया गराउनु पर्दछ ।

प्रशारीत सूचना, मूख्य सन्देशहरू सजिलोसँग बालबालिकाले पढ्न सक्ने र बुझ्न सक्ने हुनुपर्दछ । र तयार गरेको सिकाइ वातावरण बालबालिकाले अनुमान गर्न सक्ने वा कल्पना गर्न सक्ने सरल र यथार्थपरक हुनु पर्दछ ।

यस्ता वैकल्पिक माध्यमबाट प्रशारण गरिने सामग्रीको गुणस्तर नियमन तथा यसले बालबालिका र समाजमा पार्ने शैक्षिक, सामाजिक तथा मनोभावनात्मक असरहरुका सम्बन्धमा पनि अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । यसका लागि अन्तराष्ट्रिय स्तरका विभिन्न संघ, संस्थाहरु ग्लोवल गाइडलाइन बनाउने क्रममा रहेका छन् ।

हामी कहाँ पनि समयमा नै यसतर्फ बिचार गरी सोही अनुसार निर्देशन र नियमन गर्न सकेमा बालबालिकाको सिकाइ प्रभावकारी बनाउन मद्धत पुग्ने साथै यस्ता कार्यक्रम र क्रियाकलापबाछ बालबालिकामा पने मनोसामाजिक असरहरुलाइ पनि समयमा नै पत्ता लगाइ निराकरण गर्न सकिन्छ ।

  • लेखक काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनका भिजिटिङ फ्याकल्टी हुनुहुन्छ । khulanepal.com

Comments

comments