शान्ति सम्झौताका नौ वर्ष, सम्झौताका विषयवस्तुको पालना गर्न आवश्यक

 काठमाडौँ । ०७२ मङ्सिर ४ गते

दश वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबीच शान्ति सम्झौता भएको भोलि मङ्सिर ५ गते नौ वर्ष पूरा हुँदैछ । करिब १३ हजार मानिस मारिएको तथा एक हजारको हाराहारीमा मानिसहरू बलपूर्वक बेपत्ता पारिएको सशस्त्र द्वन्द्वको घाउ अझै निको भइसकेको छैन ।

शान्ति सम्झौतामा उल्लेख भएबमोजिम संविधानसभाबाट नेपाली जनताले नयाँ संविधान बनाउने सपना यस वर्ष पूरा भएको छ । नेपालको संविधान२०७२ संसारका ठूला लोकतान्त्रिक भनिएका देशहरूको भन्दा अग्रगामी रहेको तथा मानवअधिकारको सम्मान तथा ग्यारेण्टीका सवालमा उत्कृष्ट रहेको संविधानविद्हरूले बताउने गरेका छन् । नयाँ संविधानले महिला,मधेशी, दलित, आदिवासी जनजाति तथा पाखा पारिएका मानिसका अधिकारहरूको संरक्षण र संबद्धर्नको अनुकरणीय व्यवस्था गरेको छ ।

शान्ति सम्झौताको नौ वर्षका अवसरमा इन्सेकले मङ्सिर ४ गते एक विज्ञप्ति प्रकाशन गरी शान्ति सम्झौतामा उल्लेख भएबमोजिम केही कार्य सम्पन्न भएको र केही मुलभूत कार्य सम्पन्न हुन बाँकी रहेको जनाएको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमाशान्ति सम्झौताको यस अवधिमा माओवादी लडाकूको व्यवस्थापन कुशलतापूर्वक सम्पन्न गरी एउटा पेचिलो विषयको समाधान गर्न नेपालका राजनीतिक दल सफल भएको र शान्ति सम्झौतालाई नेपालको प्रगति, सामाजिक न्याययुक्त लोकतन्त्रको स्थापनाको प्रस्थानविन्दुभनेर उल्लेख गरिएको छ ।

गैरन्यायिक तवरले हत्या तथा बेपत्ता पारिएकाहरूको परिवारजनले अझै न्यायको अनुभूति गर्न नपाएको, स्वतन्त्र न्यायालयबाट निर्णय भई दोषी ठहर्याइएका व्यक्तिहरू कानुनी दायरामा आउन नसकेको र यस्ता कतिपय विषयहरू नेपालको शान्ति निर्माण प्रकृयाका केही अपूरा पक्ष भएको विज्ञप्तिमा उल्लेख छ ।

केही महिना अघि गठन भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोगका ऐनहरूमा गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई आममाफी दिने प्रावधान राखिनुले द्वन्द्वका घटना बिर्सनुपर्छ भन्ने मान्यताले प्रश्रय पाएको हाम्रो ठहर छ विज्ञप्तिमा उल्लेख छ ।

शान्ति सम्झौताको पूर्ण पालना, पीडितलाई राहत र हानिपूरणको उचित व्यवस्था मिलाउनु आजको आवश्यकता हो । यसका लागि नेपालका राजनीतिक दलहरूमा इच्छाशक्तिको खाँचो टड्कारो देखिएको छ ।

इन्सेक अनलाइनबाट साभार

Comments

comments