सन्दर्भ: विश्व दमरोग दिवस प्रदूषणकै कारण बढ्दैछ दमरोग

cropped-langtang-center3.png

सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख १८ गते । प्रदूषणको चपेटासँंगै उपत्यकामा दमरोग (आस्थमा)का बिरामीको सङ्ख्यामा वृद्धि हँुदै गएको छ । उपत्यकाका मुख्य भनिएका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्तिबाल अस्पताललगायतका अस्पतालमा दमका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

ललितपुस्थित पाटन अस्पतालमा दैनिक १५ जना दमका (आस्थमा) बिरामी आउने गरेका छन् भने वीर, शिक्षण अस्पतालमा पनि दमरोगीको चाप बढ्दै गइरहेको छ । शिक्षण अस्पतालमा विभिन्न किसिमका दमका बिरामी दैनिक ८० देखि एक सय जनासम्म आउने गरेका छन् ।

वातावरणीय प्रदूषण, धुवाँ धुलो, चिसो मौसममा दमका बिरामी बढ्छन् । पाटन अस्पतालका वरिष्ठ दमरोग विषेशज्ञ डा. राजु पङ्गेनीले पहिले जाडो मौसममा मात्र दमका रोगी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय १२ महिना दमका रोगी अस्पताल आउने गरेको जानकारी दिनुभयो । डा. पङ्गेनीले प्रदूषण, धुवाँ, धुलो, घरभित्रको धुवाँधुलो, गाडीबाट निस्कने धुवाँले समेत दम रोगका बिरामी बढेको जानकारी दिँदै दमबाट बच्न प्रदूषणबाट बच्नुपर्ने सुझाव दिनुभयो ।
मदरल्यान्ड अस्पताल पेप्सीकोलाका निर्देशक डा. करवीरनाथ योगीले शिक्षण अस्पतालमा दैनिक एक सय जना दमरोगी आउने गरेको जानकारी दिँदै क्रोनिक दम समस्याका रूपमा देखा परेको बताउनुभयो । उहाँले एलर्जीको दममा हेलचक्र्याइँ गरेर समयमा उपचार नगरे यसले जीवनभर असर गरी स्थायी दमका रूपमा विकसित हुने बताउनुभयो ।

वरिष्ठ दमरोग विशेषज्ञ डा. राजु पङ्गेनीले स्थायी प्रकृतिको दम ४० वर्ष कटिसकेपछि देखिनसक्ने भन्दै १५ वर्षभन्दा तलका बालबालिकालाई पनि दम रोग देखिने बताउनुभयो । १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि अस्थायी किसिमको दमरोग देखिने बताउनुभयो । डा. पङ्गेनीले विश्वमा ३० करोड मानिसलाई दमरोग लाग्ने गरेको जानकारी दिँदै त्यसमध्ये ५० प्रतिशत भने बालबालिका रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष ३ लाख मानिस दमरोगबाट मर्ने गरेका छन् । उहाँले विकसित मुलुकमा ८० प्रतिशत बालबालिकालाई ब्रोनकाइटिस हुने गरेको भन्दै ८० प्रतिशत मृत्यु भने अल्पविकसित मुलुकमा हुने गरेको जानकारी दिनुभयो । उहाँले एलर्जीका कारण पनि दमका रोगी बढ्ने गरेको जानकारी दिनुभयो । वंशाणुगत कारण पनि (आस्थमा) दमरोगका बिरामी हुने गरेको उहाँको भनाइ छ । वयस्कलाई हुने दम वंशजका कारण हुने गरेको जानकारी दिँदै दम अस्थायी र स्थायी किसिमको हुने गरेको बताउनुभयो । कयौँ मानिसलाई वायु प्रदूषणका कारणले एलर्जीपछि दम हुने गरेको भन्दै उहाँले एलर्जीको उपचार समयमै नगरेको खण्डमा त्यसले घ्यारघ्यार, दम, खोकी जस्ता समस्या निम्तिनसक्ने जानकारी दिनुभयो । मौसम परिवर्तनका कारण कयौँ मानिसमा दम हुने गरेको डा. पङ्गेनीको भनाइ छ ।

पङ्गेनीले मिल, मैदा, कलकारखाना, उद्योग, धुलोधुवाँमा काम गर्ने मानिसमा पनि दमको समस्या देखिन सक्ने जानकारी दिनुभयो । उहाँले निरन्तर चुरोट खाने व्यक्ति कालान्तरमा दमको समस्या हुने गरेको जानकारी दिनुभयो । उहाँले वायु प्रदूषण तथा एलर्र्जीका कारण हुने आस्थमा उपचारबाट निको पार्न सकिएयता पनि उपचारमा ढिलाइ भयो भने त्यसले स्थायी रूप लिने बताउनुभयो । कुनै व्यक्तिलाई वायु प्रदूषण, मौसमी परिवर्तनलगायतका बाह्य कारणले दम भएको देखिएमा नियमित औषधि सेवनबाट ठीक गर्न सकिने जानकारी दिनुभयो । यसैबीच मङ्गलबार आस्थमाको पहिचान गर्न उमेरको छेकबार हँुदैन भन्ने नाराका साथ विश्व आस्थमा दिवस मनाइँदैछ । हरेक वर्ष मे महिनाको पहिलो मङ्गलबार विश्व आस्थमा दिवस मनाउने गरिन्छ ।

Comments

comments