समाचारको भाषा सिकाउने दुई पुस्तक

Hamro Bhasa
आमसञ्चार माध्यममा नेपाली भाषाको प्रयोगबारे अध्ययन गर्न पुस्तक खोज्दै हुनुहुन्छ भने पत्रकारिताका शिक्षक शरच्चन्द्र वस्तीको ‘हाम्रो भाषा’ र पत्रकार अखण्ड भण्डारीको ‘समाचारको भाषा’ तपाइँका लागि उपायोगी हुनसक्छन् ।
पत्रकारिता बारे लेखिएका पुस्तकमा एक अध्याय वा कतै न कतै भाषाको प्रयोग बारे उल्लेख गरिएकै हुन्छ । तर यी दुई पुस्तक भने भाषाको प्रयोगमै केन्द्रित भएर लेखिएका हुन् । आमसञ्चार माध्यममा काम गर्ने पत्रकार/ मिडियाकर्मी, लेखक तथा आफ्नो लेखन र भाषा सुधार्न चाहने जोसुकैका लागि यी दुई पुस्तक उपयोगी छन् ।Hamro Bhasa
वस्तीद्वारा लिखित ‘हाम्रो भाषा’ मा पत्रकारिताको भाषाको मात्र नभएर समग्र नेपाली लेखाइकै कुरा समेटिएको छ । लेखाइलाई कसरी सरल बनाउने, नबुझिने र अनर्थ हुनबाट कसरी जोगिने भन्ने विषयमा पुस्तक केन्द्रित छ ।
पुस्तकमा सूत्र सिकाइएको छैन बरु विभिन्न उदाहरणबाट नै कुरो बुझाउन खोजिएको छ । त्यसैले पस्तक पढ्न तपाइँलाई दिक्क लाग्दैन, थालेपछि झन् रमाइलो लाग्छ । काठमाडौंका दैनिक समाचारपत्रमा प्रकाशित समाचार, फिचर, लेख, स्तम्भ, सम्पादकीय, खबरपत्रिका र पुस्तकको अंशमा लेखकले कमजोरी औल्याउँदा पाठकले भाषा सुधारका धेरै कुरा बुझिसक्छन् ।
पहिलो अध्यायमा लेखकले शब्दको महत्वबारे चर्चा गरेका छन् भने दोश्रोमा शब्दको प्रयोगबारे । कमजोर भाषाशैलीले निर्जिव र पट्यारलाग्दो बनाउँछ भने सशक्त भाषाशैलीले व्यक्त गर्न खोजेको कुरा जीवन्त र मर्मस्पर्शी बनाउँछ ।
यसमा लेखकका सुझाव छ – ‘अर्थ स्पष्ट नभएसम्म शब्दको प्रयोग नगर्ने, नबुझेका शब्द शब्दकोषमा हेरेर थाहा पाइहाल्ने, वाक्य गठनमा शंका लागेमा कमजोरी पहिल्याउने र सच्याउने प्रयास गर्ने । एक पटक गरेको गल्ती अर्कोपटक नदोहोर्‍याउने ।’
वाक्यमा नाम र सर्वनामको तालमेल मिलाउन र अनावश्यक विशेषणबाट लेखाइलाई जोगाउन पनि सिकाइएको छ । नाम र सर्वनामको तालमेल नमिल्दा लेखाई बोझिलो हुन्छ । समाचार लेख्दा कसैलाई अनावश्यक विशेषण झुण्ड्याइदिने प्रचलन कोट्याएर त्यतातिर सचेत हुन सुझाव दिएका छन् ।
‘अव्यय, क्रिया र वाक्य’ को अध्यायमा पनि तिनीहरुमा हुने कमजोरी कसरी सुधार्ने भन्नेमा केन्द्रित छ । अर्थ नै नबुझ्निे वा गलत अर्थ लाग्ने गरी लेखिएको उदाहरणबाट ‘अनावश्यक भारी’ अध्यायमा लेखकले थोरै शब्दबाट धेरै कुरा भन्न सकिने कुरातर्फ सचेत गराएका छन् । ‘कुम्लो बोकी ठिमीतिर’ मा व्यक्त गर्न खोजेको कुरा र लेखाइबीच तालमेल मिलाउन सिकाइएको छ ।
लेखकले अंक लेख्ने तरिका सिकाएका छन् । एकदेखि नौसम्म अक्षरमा लेख्ने, ९९ सम्म अंकमा लेख्ने, मिति, कक्षा, रोल नम्बर, वडा नम्बर आदि अंकमा नै लेख्ने । ठूला ठूला अंकलाई सजिलै बुभ्ने गरी लेख्ने ।
‘वाक्यवीच तालमेल मिलेन भने अनुच्छेद भद्दा हुन्छ । अर्थ बुझिँदैन । त्यसैले वाक्यहरु मात्र ठीक भएर हुँदैन, तिनवाट बनेको अनुच्छेद पनि उत्तिकै स्पष्ट छरितो र प्रभावशाली हुनुपर्छ’ वस्तीको सुझाव छ ।
‘अरुका कुरा’ अध्यायमा कसैको भनाई लेख्दा हुनसक्ने अनर्थबारे सचेत गराइएको छ । कसैको भनाई वा भाषण उद्धृत गर्दा नेपाली आमसञ्चार माध्यमले गर्ने गरेका कमजोरीको उदाहरणबाट लेखकले त्यसतर्फ सचेत गराएका छन् ।
‘दोष अलंकार र शैली’ अध्यायमा दोषहरुबाट मुक्त, सहज, स्वभाविक, अलंकारले युक्त र उपयुक्त शैलीमा अभिव्यक्त कुरा वा विषयवस्तु मर्मश्पर्शी हुन्छ भन्ने शन्देश दिइएको छ ।
उपसंहार शीर्षकमा लेखकले पदयोग र वियोगको कुरामात्र उठाएका छन् तर यसको प्रयोगको नियम सिकाएका छैनन् । यसमा विद्वानहरुबीच फरक फरक धारणा रहेको छ भन्दै लेखकले यो विषयबारे नियम उल्लेख गरेका छैनन् । बरु सुझाव दिएका छन् ‘वर्णविन्यास, पदयोग वियोगको कुरा जान्न पूरापुर कोशिस गर्नुहोस् तर विग्रेला भनेर नडराउनुहोस्, मन पटक्कै सानो नपार्नुहोस्, जसका नियम नै स्थिर छैनन्, जसमा विद्वानहरु नै अलमलिरहेका छन् जसलाई शब्दकोशले नै पचाउन सकेको छैन त्यसमा तलमाथि होला भनेर खुम्चिनुपर्ने कामै छैन ।’
पुस्तकमा भाषाका मात्र कुरा छैन । ब्याकरणका आधारभुत कुराहरु पनि सिकाइएको छ । परिशिष्टाङ्कमा वर्ण, शब्द, वनोट र रुप विस्तार अध्यायमा यस्ता कुरा सिकाइएको छ ।
लेखनको अभ्यास गरिरहेकाहरुलाई पनि लेखन सुधार्न यो पुस्तकले सहयोग गर्छ । कतिपय अध्यायमा समाचारपत्र, खबरपत्रिका र पुस्तक अंशमा गल्ती मात्र औल्याइएको छ । ठीक के हो भन्ने उल्लेख गरिएको छैन जसले अन्यौल पनि बनाइदिन्छ ।
यो पुस्तकको सुरुको दुई अध्याय शब्द र शब्दप्रयोगको अध्याय अलि बोझिलो लाग्छ । पछाडिका अध्यायमा उदाहरण सहित प्रष्ट्याइएपनि अगाडिका दुई अध्यायमा लेखकले त्यस्तो प्रयोग नगरेकाले यस्तो लाग्नु स्वभाविक पनि हो ।
वस्ती भन्छन्ः राष्ट्रभाषाको प्रतिष्ठा पाएको भाषा दिनप्रतिदिन सशक्त बन्दै जानुपर्ने हो तर यसप्रतिको व्यापक अपेक्षाभाव र लहडबाजीले त्यस्तो हुन दिएको छैन । एकातिर विशिष्ट ठाउँमा पुगेका र उच्चशिक्षितहरु छन् जो ‘मलाई त नेपाली उतिसारो आउँदैन’ भन्दा लज्जा होइन गर्वको अनुभूति गर्दछन् । अर्कातिर यसैको माध्यमबाट चल्नुपर्ने पेशामा लागेकाहरु छन्, जो ‘नेपाली पनि सिक्नुपर्छ र ?’ भनेर भाषिक अक्षमतालाई नै अभिमानको विषय बनाउँछन् ।
समाचारको भाषा
samacharko-bhasaभण्डारीद्वारा लिखित ‘समाचारको भाषा’ आमसञ्चार माध्यमको भाषामा मात्र केन्द्रित छ । लेखक कान्तिपुर दैनिक पत्रिकाको समाचार डेस्क प्रमुख भएको हुनाले पनि उनले पत्रपत्रिकाको भाषाको विषयमा मात्र केन्द्रित छन् ।
उनको पुस्तक समाचारको बनावट (शीर्षक, लिड, पृष्ठभूमि) को कुरादेखि नै सुरु हुन्छ । लेखक सम्पादनमा अलि बढी केन्द्रित छन् । शीर्षक प्रयोगमा हुने गरेका कमजोरी, अनर्थ लाग्ने अवस्था, शीर्षक र लिडवीचको तालमेल, आदि कुरा उनले सुरुका अध्यायमा चर्चा गरेका छन् ।
लिडमा अनावश्यक शब्द, वाक्यांश, लामो वाक्य आदि लेख्न नहुने, कुरामा सचेत गराएका छन् । पत्रपत्रिकामा हुने गरेका कमजोरी र त्यसमा सही के हुन सक्छ भन्ने सुझाव सहित उल्लेख गरिएकाले सजिलो तरिकाले भाषा सुधारका कुरा बुझ्न सकिन्छ ।
कान्तिपुर, गोरखापत्र, अन्नपूर्ण पोष्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, राजधानी, स्पेसटाइम (हाल बन्द) पत्रिकामा छापिएका समाचारको अंशलाई उदाहरण लिएर उनले भाषा सुधारका कुरा गरेका छन् । ब्याख्या र नियमको रटान गर्नुनपर्ने उदाहरण हेरिहेरि बुझिने भएकाले पुस्तक सरल छ ।
सकेसम्म कम शब्दबाट धेरै कुरा ब्यक्त गर्ने, अनावश्यक शब्द वा वाक्यांश दोहोर्‍याउँदा खल्लो हुन्छ भन्ने शन्देश ‘शब्दको खात’ शीर्षकको अध्यायमा दिइएको छ । एउटै वाक्य वा अनुच्छेदमा एउटै शब्द पटक पटक आउँदा वाक्य भद्दा हुने र समाचारपत्रमा ठाउँ सिमित हुने भएकाले यस्ता कुरामा ध्यान दिन लेखकले सचेत गराएका छन् ।
‘छिटो, मिठो सुल्टो’ अध्यायमा समाचारमा वाक्य छोटा, संरचना मिलेका हुनुपर्छ भनिएको छ । वाक्यमा कुनै भुमिका नै नहुने शब्दलाई लेखकले ‘काँडा’ भनेका छन् । भाषा मिठो, वाक्य छोटो र बुझिने बनाउन यस्ता काँडा हटाउन उनले सुझाव दिएका छन् ।
‘पखाला लाग्ला’ अध्यायमा शब्द किफायतीबारेको चर्चा छ । चाहिने भन्दा बढी शब्दले अनावश्यक ठाउँ लिन्छ र मिठास दिँदैन । थोरै शब्दले धेरै कुरा भन्न सक्नु सञ्चारकर्मीको क्षमता हो ।
लेखकले एक दिनका पत्रपत्रिकाको सम्पादनमा देखिएका कमजोरी केलाएका छन् । काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिकमा हुने गरेका कमजोरीबाट सिकेर पनि पाठकले आआफ्नो भाषा र लेखनीमा सुधार ल्याउन सक्छ ।
साझा समस्यामा एउटै विषयको समाचारलाई पत्रपत्रिकाले फरक फरक लेखेका र एउटै ब्यक्तिको भनाई फरक फरक उद्धरण गरिएको उदाहरण प्रस्तुत गरिएको छ । हाम्रा सञ्चार मध्यम र पत्रकारहरुको क्षमताको बारेमा पनि पुस्तकमा प्रश्न उठाइएको छ । समाचारबाट कुरा स्पष्ट हुने भन्दा पनि झन् अन्यौल हुने गरेको पुष्टी गर्न लेखक सफल देखिन्छन् ।
लेखकले आफु काम गर्ने पत्रिका (कान्तिपुर) को बढाइँचढाइँ गर्न पनि भ्याएका छन् । अरु पत्रिकाले कमजोरी गरेको र कान्तिपुरले ठीक गरेको रुपमा केही ठाउँमा उदाहरण दिँदा लेखकको तटस्थतामाथि पाठकले प्रश्न उठाउने ठाउँ छ ।
‘झुक्किएला है’ अध्यायमा सुन्दा र लेख्दा उस्तै देखिने शब्दले झुक्किन सक्नेतर्फ सचेत गराइएको छ । तस्बिरमा क्याप्सन लेख्दा हुने कमजोरीबारे पनि लेखकले प्रष्ट्याएका छन् ।
कमै चर्चा हुने गरेको विज्ञापनको भाषाबारे पनि लेखकले उल्लेख गरेका छन् । विज्ञापन पनि सन्देश हो । तर हाम्रोमा विज्ञापनको भाषाबारे न सञ्चार माध्यम, न विज्ञापनदाता न निर्माणकर्ताले ध्यान दिन्छन् ।
‘उखान पनि उट्पट्याङ’ शीर्षकमा चलनचल्तीमा रहेका तर विभेदकारी उखानको विषयमा चर्चा गरिएको छ । यस्ता उखानको प्रयोग नगर्न लेखकको सल्लाह छ । ‘ब्याकरणगत त्रुटी’ शीषर्कमा विभक्ति, विशेषण प्रयोगमा हुने असावधानी आदि विषयमा उल्लेख गरिएको छ ।
लेखकले ह्रस्व, दीर्घ ब र व को प्रयोग, श, ष र स को प्रयोग, य, ये र ए को प्रयोग, इ, यि, ई र यी को प्रयोग, चन्द्रविन्दु र शिरविन्दुको प्रयोग, खुट्टो काट्ने नकाट्ने अवस्थाबारे जानकारी गराएका छन् ।
पदयोग र वियोग हुने अवस्था, सन्धि गर्ने सूत्र, एक वचनलाई बहुवचन बनाउने नियम, आगन्तुक शब्दबारे पनि पुस्तकमा जनकारी छ । खुद्राखुद्रीमा अंकको लेखाई, संक्षिप्त नामको प्रयोग, कुटनीतिक शब्दावली, अदालती भाषा, पत्रकारिताका बिभिन्न शब्दावली पनि उल्लेख छ ।
विषय बुझाउन उदाहरण प्रभावकारी भएपनि कतै भने यसको चाङ छ । कम उदाहरणले पनि लेखकले आफ्नो कुरा प्रभावकारी ढंगले ब्यक्त गर्न सक्थे तर त्यतातिर भने लेखक आफैले ध्यान दिएका छैनन् ।
हाम्रो भाषा र समाचारको भाषाबीच फरक
वर्णविन्यास र पदयोग– वियोगबारे भण्डारीले उल्लेख गरेका छन्, वस्तीले उल्लेख गरेका छैनन् । बरु वस्तीले चर्चा नगर्नुको कारण दिएका छन् । यसको स्थिर नियम नभएको ती आफै अलमल पार्ने खालको भएकाले उल्लेख नगरिएको उनको तर्क छ । ‘नेपाली भाषामा बनाइएका वर्णविन्यास र पदयोग वियोगका नियम पढेर जानेर नेपाली शुद्ध लेख्न असंभव छ । आकाशको फल आँखातरी मर भनेजस्तै । जुन कुरा संभवै छैन त्यसम वल गर्नुको के तुक ?’
मिति प्रयोगमा ठ्याक्कै उल्टो छ । वस्तीले समयको ठूलो परिधिबाट सानो लाग्नुपर्ने वा पहिले साल, त्यसपछि महिना र गते (जस्तै २०६९ साल चैत २७ गते ) लेख्नुपर्ने बताएका छन् । भण्डारीले पहिले गते महिना अनि साल (जस्तै २७ चैत २०६९) लेखेका छन् ।
वस्ती समग्र लेखनमा केन्द्रित छन् भण्डारी समाचार लेखनमा केन्द्रित छन् ।
पुस्ककका समानता
दुबै पुस्तकले भाषाको प्रयोगमा लचकता देखाएका छन् । ब्याकरणमा नियम हुबहु पालना गर्ने भन्दा पनि जे लेख्दा सरल तरिकाले बुझिन्छ त्यतातिर सचेत हुनुपर्नेमा दुबै लेखक सहमत छन् ।
उदाहरण दिएर बुझाउने कोशिस गरिएको छ ।
लेखनलाई सरल र बोधगम्य बनाउन दुबै पुस्तक उपयोगी छन् ।
पुस्तकको नाम : हाम्रो भाषा
लेखक : शरच्चन्द्र वस्ती
मूल्य : रु २२५
पृष्ठ : २३८
प्रकाशक : एकता प्रकाशन
पुस्तकको नाम : समाचारको भाषा
लेखक : अखण्ड भण्डारी
मुल्य : रु ३००
पृष्ठ : २८७
मुद्रक : कालिञ्चोक प्रिण्टिङ प्रेस
– मिडिया कुराकानी डट कम बाट

Comments

comments