‘सहकारीमा नेतृत्वको भूमिका बुझ्न पीएचडी गरे’

NavRaj Simkhada-2020

‘नेतृत्वका गुणहरु र सहकारी संस्थाको प्रगति बीचको सम्बन्ध’ विषयमा काठमाडौं विश्वविद्यालयबाट  व्यवस्थापन संकायमा पीएचडी गर्नुभएका डा. नवराज सिम्खडा हाल साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. मा नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । त्रिभुवन विश्व विद्यालयबाट २०४८ सालमा व्यवस्थापन तथा २०५८ सालमा मानविकी संकाय अन्तर्गत समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएका सिम्खडाले काठमाडौ विश्वविद्यालयबाट सहकारी विषयमा २०७६ सालमा पीएचडी पूरा गर्नुभएको हो । 

पिता खड्ग प्रसाद सिम्खडा (स्वर्गीय) र आमा चुडा देवीको साहिलो सन्तानका रुपमा उहाँको जन्म २०२२ साल मंसिर २७ गते धादिङ जिल्लाको दार्खा गाविस वडा नं ७ (हालको खनियावास गाउँपालिका) मा भएको हो । ५ छोराहरु मध्येका साहिलो सिम्खडाका २ दिदीहरु हुनुहुन्छ  । हाल कामनपा–२६ म्हेपी भीम मार्गमा स्थायी बसोबास गर्दै आउनुभएका उहाँका श्रीमती सुनिता लामिछाने र दुई छोरीहरु डा. शीला सिम्खडा र आकृति सिम्खडा हुनुहुन्छ । विषयत अध्ययन, अनुसन्धान, तालिम र अवलोकनकै शीलशीलामा भारत, चीन, बङ्गलादेश, श्रीलंका, सिङ्गापुर, फिलिपिन्स, बैंकक, जर्मनी, हल्याण्ड, अमेरिका, पपुवान्यगिनी, लावोससँगै मुलुकभित्रका थुप्रै जिल्ला समेत भ्रमण गर्नुभएको छ । 

यसैबीच, नेफ्स्कनले ३३ औं स्थापना दिवसका अवसरमा गत साउन ३२ गते सिम्खडालाई ‘नेफ्स्कून विद्धता पुरस्कार’ बाट सम्मानित गर्ने घोषणा समेत गरेको छ । सहकारीमा औपचारिक ज्ञान सहितको विज्ञता हासिल गर्नुभएका सिम्खडासँग उहाँको निजात्मक र अभियान सम्बद्ध सामयिक विषयहरुमा रञ्जनमणि पौड्यालले इमेल अन्तर्वार्ता गर्नुभएको छ । उक्त अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।  – सम्पादक 

यहाँको बाल्यावस्था कस्तो थियो र अध्ययन कसरी अघि बढाउनुभयो ? 
म जन्मेको गाँउ बिकट थियो । विद्यालयमा कक्षा कोठा तथा भौतिक सुविधाहरू थिएनन् ।आफैले घरबाट बोकेर लगेको चकटी ओछ्याएर पढ्न बस्नु पर्दथ्याे । हुरी वतास चल्दा विद्यालय बन्द हुन्थ्यो । कुनै बेला खुला आकाश मुनि समेत पढ्नु पर्दथ्यो । शिक्षामा त्यति जागरण आइसकेको थिएन । पढ्नु पर्छ भन्ने चेतना कमै मात्र थियो । विद्यालय जानेहरूमा पनि बिहान बेलुका घरको तथा खेतीपातीको काम सकेर जानु पर्दथ्यो । बेलुका टुकीको उज्यालोमा सबै जना झुम्मिएर पढ्न बस्नु पर्दथ्यो । काठमाडौंबाट बोकेर लगेको मट्टितेल कहिले हुन्थ्यो त कहिले सकिएको हुन्थ्यो । गाँउको विद्यालयमा ५ कक्षा सम्म मात्र पढाइ हुन्थ्यो । कक्षामा सधै प्रथम भएर पुरस्कार थाप्न पाउँदा निकै रमाइलो लाग्थ्यो । पुरस्कार पाइने लोभले सधै पढ्न मन लाग्थ्यो । समवयी साथीहरुसँग भीरपाखा अनि खेतवारीमा ऐंसेलु खाँदै रमाउदै खेल्दथ्यौं । त्यसपछि २०३३ सालतिर काठमाडौं आएँ ।

आमा बुबाको काख छोडेर कहिल्यै घर बाहिर नहिडेका कारण सानोमै काठमाडौं आउनुपर्दा तितो अनुभव भएको थियो । काठमाडौ आए पछि त्यो वातावरण पाउन सकिएन । सुरुका दिनहरू नरमाइला भए । हाम्रो पालामा पाठ्य सामग्रीहरूको निकै अभाव थियो । पुराना पाठ्यसामग्रीहरु पढ्नु पर्दथ्यो  । प्राथमिक तहमा एउटै शिक्षकले धेरै विषय पढाउनु पथ्र्यो । शिक्षकहरु अलि कडा स्वभावका हुनुहुन्थ्यो त्यसैले साना गल्तीमा पनि सजायँ पाइन्थ्यो । शिक्षकले पाठहरू घोकेर कण्ठ पार्न लगाउनु हुन्थ्यो । बाल्यकालदेखि नै शान्त र गम्भीर स्वभावको थिएँ । मध्यमस्तरको आर्थिक अवस्था भएको परिवारको सदस्य भएकाले एसएलली पछि जागिर खाँदै अध्ययनलाई पनि अघि बढाउँदै लगेको हुँ ।

तपाईको विचारमा सहकारी के हो ?
सहकारी संस्थाहरू सदस्यहरूद्वारा सदस्यहरूकै सामाजिक तथा आर्थिक आवश्यकता परिपूर्तिका लागि स्थापना भएका सामुदायिक संगठन हुन् जसमा व्यक्तिहरू एक जुट भई आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकताहरूको परिपूर्ति प्रजातान्त्रिक पद्धतिका आधारमा गर्दछन् । अनुभवले के देखाएको छ भने अन्य संघ संस्थाको दाजोमा सहकारी संस्थाहरु दुरदराज सम्म पुगेर सेवा दिन सक्षम रहेका छन् भने सहकारीद्वारा संचालित कार्यक्रमहररू दिगो र प्रभावकारी पनि हुन्छन् । यही सम्भाव्यतालाई बुझेर सरकारले सहकारी संघ संस्थाहरुलाई नेपाली अर्थव्यवस्थाको एक महत्वपूर्ण अंगको रुपमा संवैधानिक स्वीकार्यता प्रदान गरेको छ ।

सहकारी क्षेत्रमा कहिलेदेखि संलग्न हुनुभयो ? 
२०४९ सालदेखि नै म सहकारी क्षेत्रमा संलग्न छु । म विषेश गरी सहकारी प्रबर्धन, तालिम तथा अनुसन्धान कार्यमा संलग्न छु । सहकारी प्रबर्धन तथा सहकारीलाई विभिन्न विषयमा तालिम प्रदान गर्न सहज होस् भनेर तालिम पुस्तिकाहरु पनि तयार गरेको छु ।

पीएचडीका लागि सहकारी नै किन रोज्नुभयो ? 

नेपालको सहकारी आन्दोलनलाई नियाल्ने हो भने कुल संस्थाहरू मध्ये केही संस्थाहररू सफल, सशक्त र दिगो देखिन्छन् भने आधा भन्दा बढीे संस्थाहरु कमजोर छन् । सदस्य तथा समुदायको हितमा सदस्यहरूद्वारा स्थापित सहकारी संस्थाहरू मध्ये आधा भन्दा बढीे संस्थाहरू किन कमजोर छन् र किन केही सहकारीहरु मात्र प्रभावकारी छन् ? किन सहकारीहरुले समुदायका आर्थिक रुपान्तरण गर्न सकेका छैनन् ? किन सहकारीहरु सेवामुलक नभई बढी नाफा मुलक भएका छन् । सफल तथा प्रभावकारी सहकारीका कारणहरु मध्ये पूर्वाधार, कार्यक्षेत्रको भौगोलिक अवस्था, लिङ्ग, नेतृत्व पंक्ति, व्यवस्थापन समूह वा अन्य के हुन सक्छन् ? आदि विषयमा म घोत्लिरहन्थे र यी विषयमा बृहत् अुनसन्धानात्मक अध्ययनको लागि सहकारीमै पीएचडी गर्ने निर्णय गरे ।

राष्ट्रिय अन्तर्राष्ट्रिय अध्ययनहरुले के देखाएको छ भने संस्थाको प्रगतिमा नेतृत्वको एकदमै महत्वपूर्ण भूमिका छ । त्यस्ता अध्ययनहरुले कुशल नेतृत्व भएका संस्थाहरू सफल तथा दिगो भएको र सदस्यहरूको आवश्यकता अनुसार सेवा दिने कार्यमा सशक्त रहेको देखाएको छ । तर नेतृत्वको कस्ता गुणहरूले संस्थाको प्रगतिमा टेवा पुर्याउँदछ भन्ने सम्बन्धमा नेपालमा खासै अध्ययन भएको छैन । नेपालका सफल तथा सशक्त सहकारी संस्थाका नेतृत्वमा के कस्ता गुणहरू हुन्छन् भन्ने वारे अध्ययन गर्न मैले सहकारी विषयमा पीएचडी गरेको हुँ । सहकारी संस्थाको नृतृत्वमा आवश्यक गुणहरु क्रमशः सम्पूर्ण संस्थाहरूका नेतृत्वमा विकास गर्न सकियो भने नेपालको सहकारी आन्दोलनको सुदृढीकरणमा टेवा पुग्दछ भनेर नै यसतर्फ आकर्षित भएको हुँ ।

नेपालको सहकारी अभियानको अहिलेको अवस्था कस्तो पाउनुहुन्छ ?

समूदायमा आधारित सदस्यहरूको आवश्यकता परिपूर्तिका लागि स्थापना भएका संस्थाहरु सानै भए पनि प्रभावकारी छन् भने कतिपय ग्रामीण भेगका सहकारीहरूमा संस्था संचालनको आवश्यक सीप र दक्षता नहुँदा नियत सफा हुँदाहुँदै पनि असफल भएका छन् । । अभियानको विस्तृत मूल्याङ्कन गरी संस्थाहरूको प्रभावकारी विकास र विस्तारका लागि आवश्यक भावी रणनीतिहरू तयार पार्ने काम भने बाँकी छ ।

निम्न तथा पिछडिएका समुदायहरूको आर्थिक स्रोत माथि पहुँच तथा नियन्त्रण परम्परागत समयदेखि नै नरहेका कारण उनीहरूको सामाजिक भूमिका र सहभागिता अत्यन्त न्यून पाइन्छ । सहकारी संस्थाहरूले यी समुदायलाई समेटी संस्थाले प्रदान गर्ने सेवामा संलग्न गराएमा उनीहरूको जीवनस्तर सुधार्न सकिन्छ भन्ने केही गतिला उदाहरणहरू पाइन्छन् । यद्यपि, नेपालका धेरै सहकारीहरूले त्यस्ता वर्ग र समूदायलाई अझै समेट्न नसकेका धरातलीय यथार्थ हो । सहकारी संस्थाहरू सेवा भन्दा नाफामूखी भएका छन् । कृषि उत्पादन वृद्धि, उत्पादित बस्तुको बजारीकरण र सदस्यहरूको हितमा समर्पित हुने जस्ता कार्यहरूमा धेरै कम सहकारीहरू मात्र संलग्न छन् ।

सहकारी संस्थाहरुमा विद्यमान कमी कमजोरीहरु क्रमशः सुधार गर्दै लाने काममा कुशल नेतृत्वको अहम् भूमिका हुन्छ । संस्थामा कुशल नेतृत्वको विकास गर्न सकेमा सहकारीको माध्यमबाट देशमा समृद्धि हासिल गर्ने कार्यमा ठूलो सहयोग पुग्न सक्दछ । यसका लागि मेरो अध्ययनले औल्याएका गुणहरु (नेतृत्वमा अनुकरणीय गुण र सीप, समूहको क्षमता विकास र सशक्तीकरण, पुरस्कार र दण्ड, सहकारी क्षेत्रको ज्ञान आदि अत्यन्तै आवश्यक पर्दछ ।

सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा थिङ्कट्याङ्कको विकास किन नभएको होला ? यसको पूर्तिका लागि के गर्नुपर्ला ?

सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ भन्ने कुरा एकदम सही हो । विसं २०४८ सालमा सहकारीको मर्म अनुसार ऐन आए पछि मात्र यो क्षेत्रले गति लिएको हो । २०७४ सालको नयाँ सहकारी ऐनले यसको महत्वलाई कानूनी रुपमा मान्यता दिएपनि व्यावहारिक कार्यान्वयनमा अझै जटिलताहरु छन् ।सहकारी क्षेत्रको विकास भएको धेरै वर्ष भएको छैन । यसको अलावा सहकारीको वारेमा विश्वविद्यालयहरुमा पढाई पनि हुँदैन । तसर्थ यस क्षेत्रमा थिङ्कट्याङ्कको विकास नभएको हो । यसका लागि औपचारिक पठनपाठनलाई सहज र सर्वसुलभ बनाउनुपर्छ ।

सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ ?

विद्यालय र विश्वविद्यालयको पाठयक्रममा सहकारी विषय समावेश गरी यस क्षेत्रमा युवा पुस्ताको रुचि बढाउन सकिन्छ । सँगै सहकारीका माध्यमबाट भएका राम्रा कुराहरुको व्यापक प्रचारप्रसारको कमी छ । केही सहकारीले गरेका खराबीहरु सञ्चारमाध्यममा हेडलाईन बन्छन् तर सहकारीमार्फत पिछडिएका वर्गको जीवनस्तरमा आएका उल्लेखनीय परिवर्तनका कुराहरु बाहिर आउँदैनन । यसले गर्दा युवा पुस्तामा सहकारीहरु भूमिका बिहीन भएको जस्तो गलत धारणा विकास हुन्छ । यसैगरी, अबका सहकारीहरुले प्रविधिमैत्री सदस्य सेवा प्रवाहमा पनि बिशेष जोड दिनुपर्छ किनकि युवा पुस्ताहरु नवीनतम् प्रविधिमार्फत उच्चतम सेवाको खोजीमा हुन्छन् ।

सहकारी क्षेत्रमा खट्किएका कुराहरु के हुन ?
सहकारी क्षेत्रमा खट्किएका कुराहरुलाई निम्न बुँदाहरुले संक्षेपीकरण गर्छ जस्तो मलाई लाग्छः

  • सहकारिताका मर्म, भावना र सिद्धान्त अनुसार संस्था संचालन नहुनु
  • आवश्यकता भन्दा बढी सहकारी संस्थाहरू हुनु
  • प्रभावकारी अनुगमन अभाव
  • सहकारी प्रवर्धन, तालिम तथा अनुसन्धानका लाागि शसक्त निकायको अभाव
  • सहकारीका सदस्यहरूबाट उत्पादित वस्तुहरूको भण्डारण , प्रशोधन, बजार व्यवस्थापन गरी सहकारी अभियानलाई उत्पादनमा जोड्न नसक्नु
  • धेरै प्रकारका सहकारी संस्था र संघहरूको औचित्य पुष्टि नहुनु

सहकारीको विश्व परिवेशसँग हाम्रो अभियानलाई दाज्दाँ कहाँ पाउनुहुन्छ ?

सहकारीको विश्व परिवेशको कुरा गर्दा भारत, चीन, जापानलगायत युरोपियन देशहरुमा सहकारी अभियान सदस्यहरुकै सामाजिक तथा आर्थिक आवश्यकता पुरा गर्न र देशको आर्थिक विकासमा टेवा दिन सफल भएका छन् । हाम्रो देशमा सानासाना र कमजोर संस्था धेरै छन् । आगामी दिनमा सहकारी संस्थाहरुलाई एक आपासमा गाभ्न प्रेरित गरी ठूलो र शसक्त संस्था बनाउनु पर्छ । मेरो बिचारमा उद्देश्यको आधारमा एक पालिका एक संस्था बनाउनु ठीक हुन्छ ।

कोभिड-१९ ले सहकारीमा पारेको प्रभाव कस्तो पाउनुभएको छ ?
कोरोना भाइरसबाट विश्वव्यापी रुपमा सृजना भएको महामारीले नेपालमा अहिले भने संक्रमण  समूदाय तहमा प्रवेश गरी मुलुकको अर्थ व्यवस्था माथि गम्भीर धक्का पुर्याएको छ । सहकारीसँगै उद्यम, व्यवसाय बन्द प्रायः छन् । उत्पादन र वितरण प्रणार्ली गम्भीर रूपमा प्रभावित भएको छ । किसानहरूले आफ्नो उत्पादन बिक्री गर्न पाएका छैनन् । लाखौँको रोजगारी गुमेको छ । यसले समग्र विश्वको समाजिक आर्थिक अवस्था तथा वित्तीय प्रणालीमा असर पार्नुको साथै सहकारीको क्षेत्रमा समेत ठूलो असर पुर्याएको छ ।

कोभिडपछिको सहकारीको दिशा, परिवर्तन र सम्भावनाहरु के देख्नुहुन्छ ?
कोभिडले सहकारीको क्षेत्रमा पारेको असरहरुको बारेमा गहन अध्ययन गरी अबको संस्थाके दिशा कसरी परिवर्तन गर्दा ठीक हुन्छ भन्ने बारेमा आवश्यक रणनीति अबलम्वन गर्नु पर्दछ । कोभिडले सिर्जना गरेको बन्दाबन्दीको कारण उत्पादन र वितरण प्रणार्ली गम्भीर रूपमा प्रभावित भएको छ । हाल सम्म परेको असरले के देखाएको छ भने सहकारीका सदस्यहरुबाट उत्पादित वस्तुहरुको प्रशोधन, बजार व्यवस्थापन गरी सहकारी अभियानलाई उत्पादनमा जोड्न सकेको भएको भीडको समयमा सहकारीअभियानबाट अनुकरणीय काम हुन सक्दथ्यो । सहकारी अभियानको रणनीतिहरु तय गर्दा र दीर्घकालीन योजना बनाउँदा यस कुरालाई मनन गर्नु पर्दछ ।

सरकारको सहकारीप्रतिको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
सरकारको सहकारीप्रतिको दृष्टिकोणको प्रसङ्ग उठाउदा मेरो मिश्रित धारणा छ । एकातिर सरकारले सहकारी संघ संस्थाहरुलाई नेपाली अर्थव्यवस्थाको एक महत्वपूर्ण अंगको रुपमालिएको छ भने अर्को तिर सरकारले यस अभियानलाई प्रभावकारी बनाउन ठोस कार्य गरेको पाइदैन ।

भावी योजना के छ ?
मेरो पीएचडीको अर्को पाटो भनेको मैले बचत तथा ऋण सहकारी संस्थाको प्रगति मापन गर्ने सूचकहरु एकदमै मेहनत गरेर तयार पारेको छु । यी सूचकहरुलाई आगामी दिनमा नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुसँगै एशिया र विश्वका अन्य देशहरुका सहकारी अभियानको सुदृढीकरणका लागि प्रयोग गर्ने लक्ष्य छ ।

सहकारीमा तपाईको आर्दश व्यक्ति ?
धेरै हुनुहुन्छ । नेफ्स्कूनका वर्तमान अध्यक्ष लगायत सम्पुर्ण पूर्व अध्यक्षहरु, राष्ट्रिय सहकारी महासंघका वर्तमान अध्यक्ष लगायत सम्पुर्ण पूर्व अध्यक्षज्यूहरु, विषयगत केन्द्रीय सहकारी संघका अध्यक्षहरु सबैको  सहकारी अभियानलाई आजको अवस्थामा ल्याउनमा ठूलो योगदान छ र उहाँहरु सबै मेरा आर्दश हुनुहुन्छ ।

नेफ्स्कूनले पुरस्कृत गर्ने घोषणा गरेको छ ? कस्तो अनुभव भएको छ ?

पुरस्कृत हुने अवसर खुसीको कुरा हो । यसले हामी जस्ता अनुसन्धानकर्तालाई ठूलो हौसला प्रदान गर्दछ । नेपालको सहकारी क्षेत्रमा धेरै अनुसन्धान हुन सके यसले अभियानलाई अझ मजबुत बनाउने कार्यमा मद्दत पुग्ने थियो ।

साकोस आवाजबाट

Comments

comments