सामन्त, सर्वहारा र सत्ता सङ्घर्ष

Jayaram ac

उम्मेदवारको पृष्ठभुमिमा रहेको पेशा सबैको प्राज्ञिक हुँदैन । पेशालाई लिएर आलोचना गरिनु प्राज्ञिकत्व होइन । पेशा प्रत्यक्ष वा परोक्ष पैसासँग जोडिन्छ । पैसा कमाउन पशुको तहमा ओर्लिएको चरित्र यदि हो भने त्यो आलोच्य छ । पशुसँग चेतना हुन्छ तर ज्ञान हुँदैन । ज्ञान र प्रज्ञाको स्तरमा नपुगेका, सूचनाले मात्र भरिएकाहरुसँग आत्मस्लाधा ज्यादा हुँदोरहेछ । “जसका गोठमा बलिष्ठ गोरु छन् त्यो उनीहरुलाई नै चाहिने, जसका राम्रा खेत हो त्यो उनीहरुलाई नै चाहिने, जसकी बुहारी राम्री छ उनीहरुको मेला जानुपर्ने नत्र बात लाउने, जो निर्धो छ त्यसलाई लात्ती देखाएर तर्साउने, जसका गोठमा धेरै दुध दिने भैंसी छ त्यो उनीहरुलाई नै चाहिनेका वंशका उम्मेदवारलाई भोट दिनु आफ्नै भाग्यमाथि बञ्चरो लाउँनुजस्तै हो बाबु ।” यदि रमेश विकलका “लाहुरी भैंसी” कथाको झैं सामन्त हो भने मेरो पनि समर्थन हो । किन कि वंशानुक्रमलाई विज्ञानले पनि प्रमाणित गरेको छ ।

वंशानुक्रम भनेको पुख्र्यौली गुणहरु सन्ततिमा सर्दै जानु हो । यो प्राणीकोषको केन्द्रीका Nucleus अथवा Chromosome मा पाइन्छ । मानिसमा २३ जोडा गुणसुत्र पाइन्छ । जसमध्ये मानिसले २३/२३ गुणहरु आफ्ना आमा बाबुबाट प्राप्त गर्दछन् । गुणसुत्रद्वारा वंशानुगत गुणहरु निर्धारण हुने प्रक्रियाबारे बुझ्न हामीले निषेचन क्रिया र प्रजनन कोषको कोष विभाजन प्रक्रियालाई बुझ्नु आवश्यक हुन्छ । निषेचन भनेको पुरुषको शुक्रकोष र स्त्रीको डिम्बकोष नामक प्रजनन कोषहरुको आपसी मिलनद्वारा नयाँ प्राणीको निर्माण हुने प्रक्रिया हो । यस्तो प्रक्रिया पुरा हुँदा नयाँ प्राणीले बुबाबाट २३ र आमाबाट २३ गरी ४६ वा २३ जोडा गुणसुत्रहरु प्राप्त गर्दछ । यस्ता गुणहरु प्रत्यक्ष र लुप्त गरी दुई प्रकारका समेत हुन्छन् ।

सामन्तवाद भनेको जहाँ जमिनदारले शासन गर्छ त्यो व्यवस्था सामन्ती व्यवस्था हो । जमिनदार पूँजीवादी पनि हुन सक्छ । यदि उसँग जमिन छ, पूँजी छ र वंशज या कूलका आधारमा शासन पनि गर्न खोज्छ भने त्यो पूँजीवादी सामन्त हो । २०६४ उतै सुतेको सामन्तवादलाई काङ्गे्रसहरुले राजनीतिक सामन्तवादमा रुपान्तरण गर्न खोज्नु रसुवाको परिपेक्ष्यमा लज्जाजनक परिघटना हो । यस्तो परिदृश्य रङ्गमञ्चमा प्रदर्शित भयो भने व्यक्तिको जीवन छनौटको स्वतन्त्रतामा पर्दा लाग्छ । स्वतन्त्रतामा पर्दा लाग्दा समानता स्वभाविकै सकिन्छ । यहाँ सम्पूर्ण मतदाताले बुझ्न जरुरी विषय सामन्तले समृद्धिको दुहाई दिनु निवस्त्र्रहरुले वस्त्र वितरण गर्छु भन्नुजस्तै हो ।

सर्वहारासँग गुमाउनका लागि आफ्नो शरीरबाहेक केही छैन, तर जित्नको लागि उनीहरुको सामु सारा संसार छ । यसैले कम्युनिष्टहरुसँग नीजि सम्पत्तिको लालसा हुँदैन । फकिर, यायावर, जोगी र कम्युनिष्ट उस्तै हुन् । जोगी गृहस्थाश्रम त्यागेर सन्यास प्रस्थान गर्दछ, या ऊ नीजि सम्पत्ति त्यागेर मोक्षको मार्गमा लाग्दछ भने कम्युनिष्ट नीजि सम्पत्तिलाई त्यागेर मुक्तिको खातिर प्रणोत्सर्ग गर्छ । कुरा फरक यति हो यदि त्याग र सङ्घर्ष व्यक्ति स्वयम्कै लागि हो भने त्यो अस्तित्ववादी हुन्छ, यस्तै कथन छ सात्र्र र अल्वेर कामुको । यदि त्याग र सङ्घर्ष समाजको परिवर्तनको लागि हो भने ऊ क्रान्तिकारी कम्युनिष्ट हुन्छ, यस्तै कहन्छ कम्युनिष्ट घोषणा पत्र ।

घोषणापत्रको सहारामा म भन्न सक्छु कि, स्पृहामुक्त पथिक हुन् इन्द्र गोतामे क. जगतजंग । व्यक्तिगत श्रीबृद्धिलाई नै सोचेको हो भने एक थान सरकारी जागिर छोडेर समाजको लागि सङ्घर्ष गर्न तयार किन हुन्थ्यो मनुष्य । नीजि समृद्धिलाई नसोचेर नै निम्नमध्यम वर्गको पृष्ठभूमिको मनुष्य सरकारी जागिरमा सन्तुष्ट हुन सकेन र लाग्यो मानिस–मानिसबीच विभेदको अन्त्यको आन्दोलनमा या जनयुद्धमा । मनोविश्लेषणवादी कथाकार भवनी भिक्षु आफ्नो “ईश्वर, खुदा, गाँडका कान” कथामा हत्या, हिंसा, बलात्कार, चोरी, लुटपाट लगायतका घटना पनि युद्धको एउटा पक्ष हो भनि स्वीकार गर्छन् तर जगतजंगले युद्ध विभिषिका भित्र कहिल्यै स्वीकार गरेनन् । उनले सदैव मानवीय संवेदनालाई सर्वोपरी ठान्दै युद्धको नेतृत्व गरे ।

प्रारम्भक दिनहरुमा नेकपा मशालमा रहेर राजनीति गरेका जगतजंगको भूमिका २०५२ पछिको युद्धमा रणनैतिक महत्वपूर्ण छ । युद्धको समयमा २०५५ तिर माओवादीले रसुवा, नुवाकोट र धादिङलाई एउटा जिल्ला मानेको थियो भने जिल्ला सदस्य हुन पूर्णकालीन नै हुनु पर्ने नियम बनाएको थियो । त्यसबेला आत्म सुरक्षावादभन्दा माथि उठेका थिए क. जगतजंग । २०५६ मा माओवादीले त्रिशुली नदि पूर्व र पश्चिमलाई आधार मानेर कमिटी फर्मेशन ग¥यो । त्रिशुली नदि पूर्वको जिल्लाको इन्चार्ज क. हित बहादुर तामाङ हुँदा वरिष्ठ सदस्यको भूमिकामा थिए जगतजंग । उनै जगतजंग माओवादीले २०५८ भाद्रमा जिल्ला संगठन समिति पुनर्गठित गर्दा पुनर्गठित संगठनका सेक्रेटरी बने । २०५९ श्रावणमा माओवादीले देशलाई कमाण्ड सिष्टम अनुसार डफामा विभाजन ग¥यो । रसुवा र नुवाकोटको सबै भूगोल केन्द्रीय कमाण्डमा प¥यो । त्यसबेला पनि रसुवा, नुवाकोट जिल्ला कमिटीका इन्चार्ज, सेक्रेटरी दुवै थिए क. जगतजंग । २०५९ मंसिरमा माओवादीले आफ्नो संगठन विस्तार ग¥यो । विस्तार गर्दा क. जगतजंगले सपत खुवाएका सदस्य हुन प्रेम तामाङ क.प्रतीक ।

२०५९ माघमा माओवादीले संयुक्त जिल्लाको त्रिशुली पारीको भागलाई धादिङमा जोडिदियो भने सिन्धुपाल्चोकका इन्द्रावती पश्चिमको १४ गा.वि.स.लाई जोडेर एउटा जिल्ला बनाउँदा क. जगतजंग त्यसको इन्चार्ज सेक्रेटरी दुवै भए तर २०६० माघमा उनले सेक्रेटरी प्रेम पुलामी क. छिन्तुलाई दिए । २०६१ आश्विनमा माओवादीले सिन्धुपाल्चोकको १४ गा.वि.स. सिन्धुमै गाव्यो । यसरी बन्न आएको संगठनलाई २०६२ पौषमा महान् सुद्धिकरण गर्दा जगतजंग सेक्रेटरी बने । २०६३ बैशाखमा भएको नेपालको नयाँ राजनीतिक परिस्थितिले रसुवा माओवादीको आन्तरिक संरचनामा २०६३ असारमा नुवाकोट र धादिङबाट छुट्टियो र छुट्टिएको रसुवाको इन्चार्ज क. विरही बने भने क. जगतजंग सेक्रेटरी बने । हाल माओवादी केन्द्रको पोलिटव्युरो सदस्य रहेका जगतजंग २०६३ देखि २०७४ को बीचमा रसुवाको इन्चार्ज, अध्यक्षको भूमिकामा छन् ।

रसुवाको राजनीतिमा अभिभावकत्वपूर्ण भूमिका निर्वाह गरिरहेका जगतजंग रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा माओवादी स्थापित गर्ने महारथी हुन् । उनै महारथी जनताको निरन्तर सेवा गर्न हाल प्रादेशिक क्षेत्र नं. २ (ख) रसुवाबाट निर्वाचनको मैदानमा छन् । उनको सर्वहारा चरित्र र “जनतामा बिना पैसा र स्वार्थ भोट दिन्छु भन्ने प्रतिबद्धता भए म बिना पैसा जनताको अहोरात्र सेवा गर्छु” भन्ने व्यवहारलाई हेरेर म यो भन्न सक्छु कि जीवनमा खानु जति आवश्यक छ नखानु पनि उति नै आवश्यक छ भने झैं क.जगतजंगले जित्नु जति आवश्यक छ उनका राजनीतिक शिष्य प्रेम तामाङले हार्नु उति नै आवश्यक छ । किन कि उनी कानुनका बुँदा तर्कलाई समातेर जनताको दुःख दर्दलाई फ्याक्न सक्ने नेता हुन् । क्षणिक लाभ र स्वार्थलाई हेरेर निष्ठाको राजनीतिको मलामी जाने गरी सोच्नु सचेत मतदाताको संकेत होइन । बाँकी मतदाताकै मर्जीमा ।

(लेखक प्रेस सेन्टर, रसुवाका उपाध्यक्ष हुन् ।)

Comments

comments