सामाजिक अभियानका साहसी अगुवा : बलदेब

Baldev Ram

 

DSC05442

पूर्णबहादुर सुनार

सप्तरी, सिराहाको सिनो बहिष्कार आन्दोलनले देशभरी नै चर्चा पाएको थियो । हाम्रै जस्तो जातीय उत्पीडन भएको छिमेकी मुलुक भारतमा पनि यो आन्दोलनले धक्का दिएको हुनुपर्छ । २०५६ सालमा मैले यो आन्दोलनको चर्चा निकै सुनेको थिएँ । यो आन्दोलनका विषयमा सञ्चार माध्यम, चोक चौतारा, चिया पसल, संघसंस्थाका कार्यालय, राजनीतिक दलका कार्यालय अर्थात् दुईचार जना भेला हुँदा जताततै खुबै चर्चा हुन्थ्यो । उत्पीडनको जालो च्यात्न चाहानेहरूलाई यो आन्दोलनले निकै हौस्याएको थियो । भने यसको विपरित विभेदकारी मनको सातो नै

लिएको थियो यसले । मेरो बुझाईमा जातिय विभेद विरुद्धको यो आन्दोलन २०४६ सालको परिवर्तन यताकै सबै भन्दा सशक्त आन्दोलन लाग्छ ।स्थानीय सम्भ्रान्त वर्गका कथित उपल्लो जातिको घरमा पालिएका गाईवस्तु मरेपछि चमार जातिका मानिसले गएर फाल्नु पर्ने चलन थियो । यसो गरिदिए वापत माना चामल पाउँथे । श्रमको मुल्य त थिएन नै । यही पेशाले अछुत र अपमानित बनाएको थियो दलितलाई । कसैको घर सफा गरी दिएवापत अछुत र अपमानित हुनुपर्ने काम अब कसैले पनि नगर्ने भन्ने आन्दोलन नै सिनो बहिष्कार आन्दोलन थियो । यो गरिब दलितहरूमाथि सम्भ्रान्तहरूले गरेको उत्पीडनको विरोधको सुरुवात थियो । त्यसैले यो सिनो बहिष्कार आन्दोलनले यहाँका सम्भ्रान्तहरूको सातो लियो र सिनो नफालेको झोंकमा दलितहरू बहिष्कृत गरिए । धारा, पँधेरा, पसल चौतारा जताततै यहाँका दलितहरूलाई निषेध गरियो । चट्टान झै अटल बलदेव रामको नेतृत्व, निरन्तरको सङ्घर्ष र परिवर्तनकारी शक्तिको सहयोगमा सिनो बहिष्कार आन्दोलन पक्षधरको जीत भयो । जसको परिणाम आज यहाँका दलितहरूलाई कसैले सिनो फाल्न बाध्य पार्न सक्दैन ।

एउटै समाज, ओल्लोपल्लो घरमा बस्ने । एक अर्काको परिपुरक । एक अर्काका परिवार पाल्न निःतान्त सहयोगी भूमिकामा रहने वर्ग समुदायका मानिस । तर केही सम्भ्रान्तहरूबाट अछुत र अपमानित हुने ! यो कुप्रथा विरुद्धको सङ्घर्षका नायक बलदेवसँग मेरो औपचारिक भेट २०६१ पछि राष्ट्रिय भूमि अधिकार मञ्चमा सङ्गठित भएका कारण नै भएको हो । साधारण लेखपढ भएका तर अध्यनशिल बलदेव सबैले सजिलै बुझिने भाषा बोल्थे । सादा जीवन उच्च विचार भन्ने कथनलाई उनले व्यवहारमा उतारेका थिए । जात, धर्म, लिङ्ग वा रङ्ग कुनै पनि नाममा कोही कसैमाथि गरिने कुनै पनि प्रकारको शोषण उत्पीडन सामाजिक कलङ्क हो । यसले दलित, महिला, गरिबलाई मात्र होइन, सिङ्गो समाजलाई कलङ्कित गरेको कुरा उनले बुझेका थिए । यो कलङ्क मेटाउने काममा उनी लागे र हजारौंलाई लगाए । समाजिक कलङ्कको खिल निकाल्ने साहसी कामको अगुवा बने बलदेब । सिनो बहिष्कार आन्दोलनमा लाग्दा कतिलाई बलदेव दलितको नेता हो भन्ने लाग्यो होला । कथित उच्च जातिको बिरोधमा लागेको पनि बुझे होलान कतिले । उनी त विभिन्न नामको समाजिक कलङ्क मेटाउन चाहान्थे । सबैको निम्ति बस्न मिल्ने समाज बनाउन चाहान्थे । सबै जातिका श्रमजीवि मानिसहरूको अभियान “भूमि अधिकार अभियान”को सफल नेतृत्व गरेर उनले सबैको नेता भएको प्रमाण दिए । सबै जातिका मानिसहरूको सम्मानमा काम गर्न चाहेको स्पष्ट गरे । २ कार्यकाल अर्थात् ६ वर्ष राष्ट्रिय भूमि अधिकार मञ्चको उनको नेतृत्व सफल रह्यो ।

कसैको घर सफा गरी दिएवापत अछुत र अपमानित हुनुपर्ने काम अब कसैले पनि नगर्ने भन्ने आन्दोलन नै सिनो बहिष्कार आन्दोलन थियो ।

यिनै सफल नेतृत्वको थलो सप्तरी जिल्लामा २०७४ बैशाखदेखि भूमि अभियानलाई सघाउने अवसर पाएँ मैले । कामको सिलसिलामा पहिलो पटक सप्तरी पुग्दा मञ्चका भूतपूर्व अध्यक्ष एवम् संस्थापक बलदेव रामलाई भेटेँ । म बैशाख २२ गते बिहान ७ बजे भूमि अभियन्ता शिवकुमार पासवानसँगै उनको घर पुगेँ । उनी त बिहानै बारी गइसकेका रहेछन् । चिया पसलमा भेट्न सकिने शिवकुमारको अड्कलका साथ गाउँको चिया पसलतिर लाग्यौ । नभन्दै यहिँ भेट भयो बलदेबसँग । चिया पिउँदै भलाकुसारी गरियो । भूमि अभियानलाई सघाउन यसै क्षेत्रमा आफू खटेको उनलाई सुनाएँ र सहयोग आवश्क परे उनलाई गुहार्ने बताएँ । उनले हुन्छ भने । मैले उनी भूमि अभियानमा अलि पातलिएकोमा उनीसँग चिन्ता गरे । आफ्नो कार्यकाल सकिएको हुँदा उनले पातलिनुलाई स्वभाविक भने र आवश्यकता पर्दा डट्ने बताए । छलफल गरिरहँदा सबैको साझा सत्रु भन्दै आफ्नो पेट तर्फ ईसारा गरे । सबैको लडाई पेट भर्न हो र हाम्रो पनि यही हो उनले भने । उनले थपे, लडाई चाहिँ अहिंसात्मक हुनु पर्छ ।

चिया र छोटो भलाकुसारीपछि उनले मलाई घर जाउँ भने । परिवारसँग पनि चिनजान हुने भएकाले उनीसँगै लागे । घर पुगेपछि खाना खान भने । मैले ईन्कार गरेँ । तर उनले हामी अभियानमा लागेका मानिसहरूले पाएका बेला खाई हाल्नु पर्छ भनी मलाई नखाई सुखै दिएनन् । खानापछि हामी छुट्टीयौं । यसपछि भौतिक रुपमा उनलाई कहिल्यै भेट्न नसक्ने भइयो । कारण २०७४ साउन १७ गते हृदयघातबाट ६७ वर्षको उमेरमा उनको निधन भयो । अधिंकाश दलितको छाप्रो बनाउने जमिनसमेत नभएको विषय उनले भूमि अधिकार आन्दोलनसँग जोडे । खेती गर्ने व्यक्तिलाई भूमिहीन राखेर देशको अनुहार नफेरिने उहाँको तर्क थियो । उनी भन्थे– श्रमको उचित मुल्य पाउनुपर्छ । भूमिमा परिश्रम गर्नेले नै भूमि पाउनुपर्छ । अनिमात्र समाज सबै बस्न मिल्ने हुन्छ । उनीसँग सुनीरहने यस्ता कयौं विचार थिए । यस्ता विचारक समतामुखी अभियन्ताको निधनले हामीलाई ठूलो क्षति पुगेको छ । उनले अघि बढाएका अभियानलाई टुज्ञ्गोमा पु¥याउने दायित्व हामीलाई छोडेर उनी यस संसारबाट बिदा भएका छन् । नयाँ पुस्ताले उनको अधुरो यात्रा पुरा गर्ने छ । अलविदा बलदेबप्रति हार्दिक श्रद्धाञ्जली ।

 

 

 

 

 

 

Comments

comments