सुख्खा पहिरोका कारण थुनिएका मजदुरकाे सकुशल उद्धार

rasuwagadhi hydro

रसुवा, गोसाँइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान ७ बजेसम्म ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई बिहान ७ बजेभित्र सबै जनाको उद्धार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयाे ।

सुरुङ्ग बाहिर भीरबाट पहिरो खसेर कामदार थुनिएकाले उनीहरूलाई कुनै चोट पटक नलागेको र उद्धार पछि आफ्नो क्वाटरमा आराम गरी रहेको बताउनुभयो । उहाँले आफू सहितको टोली घटनास्थलमा रहेको र सुख्खा पहिरो खस्ने क्रमजारी रहेको बताउनुभयो । बाहिरी भागमा पहिरो खसेकाले सुरुङ्गमा धेरै ठूलो भौतिक क्षति नभएको जानकारी दिनुभयो ।

गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरे क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र बिहीबार साँझ सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको भएपनि भेन्टिलेसन र सुरुङ भित्र विद्युत् सेवा नियमित भएका कारण कामदारलाई कुनै पनि अप्ठेरो नपरेको रसुवागढी जल विद्युत आयोजना प्रमुख छबि गैरेले बताउनुभयाे ।

Comments

comments