स्थानीय तहको निर्वाचनका लागि रसुवामा ४१ वटा मतदान केन्द्र निर्धारण

आगामी बैशाख ३१ गते हुन लागेको स्थानीयतहको चुनावका लागि रसुवामा ४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र पुनरावलोकन सम्बन्धि जिल्लाका सरोकारसँगको अन्तक्रियाले शनिबार ३५ वटा मतदान स्थल र ४१ वटा मतदान केन्द्र निर्धारण गरेको हो ।
जिल्ला निर्वाचन अधिकृत नविन खालिङका अनुसार जिल्लाबाट प्रस्तावित ५ वटा गाउँपालीकाको भुगोल र जनसङख्याको आधारमा मतदान केन्द्र तथा मतदान स्थल निर्धारण गरिएको हो । गएको संविधान सभाको निर्वाचनको मतदान केन्द्र तथा स्थललाई आधार मानी निर्धारण गरिएकोे प्रस्ताबित खाकामा जिल्लाका सरोकारवालाको सुझाबमा २ वटा मतदानस्थल हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकृत नविन खालिङले बताए ।
प्रस्ताबित खाका अनुसार मतदान केन्द्र पुनरावलोकन समितिले शनिबार जिल्लाका सरोकारवालासँगको सुझाबमा जिल्लाको पाजुङ प्रावि पाजुङ र गाउँखर्क प्रावि बोकेझुण्डामा मतदान स्थल थप गरिएको खालिङले बताए । “गएको संबिधान सभामा तोकिएको मतदान केन्द्र तथा स्थललाई आधार मानी भुगोल अनुसार हेरफेर गरि पाएक पर्ने स्थानमा मतदान केन्द्र तथा स्थल निर्धारण गरेका छौँै ।” निर्वाचन अधिकारी खालिङले भने “अहिले २ वटा मतदान स्थल थप भएका छन् ।”
तोकिएको मतदान केन्द्रमा हजार भन्दा बढी मतदाताहरु भएका मतदान केन्द्रमा क र ख केन्द्र गरि बिभाजन गरिएको छ । प्रस्ताबित केन्द्र तथा स्थलको प्रतिबेदन फागुन मसान्तसम्ममा निर्वाचन आयोगमा पठाईने निर्वाचन अधिकृत नविन खालिङले बताए । “जिल्लाका राजनितिक दल, सरोकारवाला व्यक्तिहरु लगायतको सुझावको आधारमा मतदान केन्द्र तथा स्थल निर्धारण गरेको हो ।” खालिङले भने “निर्धारण गरेको केन्द्रलाई स्वीकृतको लागी फागुन मसान्तसम्ममा निर्वाचन आयोगमा पठाइनेछ ।”  १८ गाउँ विकास समिति रहेको रसुवामा अहिले पार्वतिकुण्ड, गोसाईकुण्ड, उत्तरगया, कालिका र नौ कुण्ड गाउँपालिका गरि ५ वटा गाउपालिका प्रस्ताव गरिएको छ । २०६८ को जनगणना अनुसार ४३ हजार ३ सय जनसंख्या रहेको रसुवामा अहिले २८ हजार २ सय ९३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

comments