स्थानीय तहमा आन्तरिक बसाइँसराई बढ्यो

idp camp khalte

हिमनाथ देवकोटा
रसुवा, रसुवाको पाँचवटै स्थानीय तहको केन्द्रमा सेवाग्राहीको चाप बढेको छ । डेढ वर्षअघिसम्म जिल्ला सदरमुकामबाट पाउँदै आएका सेवा स्थानीय तहबाट पाउन थालेपछि सेवाग्राहीको चाप बढेको हो ।

जिल्लामा पाँचवटा गाउँपालिका रहेका छन् । उत्तरगयाको खाल्डे, कालिकाको कालिकास्थान, नौकुण्डको पारच्याङ, गोसाइँकुण्डको स्याफ्रु र आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङबेंसी केन्द्र कायम गरिएको छ ।

पाँचवटा गाउँपालिकाको केन्द्रमध्ये चारवटामा आन्तिरिक बसाइँसराई बढेको छ । जिल्लाको गोसाइँकुण्ड र उत्तरगयामा बसाइँ सरेर आउनेको दर निकै बढी छ । कालिका र आमाछोदिङमोको केन्द्रमा मध्यम र नौकुण्डमा न्यून छ ।

जिल्लाको कालिका गाउँपालिकामा बसाइँ सरेर आउने दर बढेको उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए । ‘स्थानीय तहको केन्द्र बनेपछि जग्गा किनेरै बस्न आउनेको सङ्ख्या बढेको छ, उनले भने, सेवा सुविधाको लागि नौकुण्ड र उत्तरगया गाउँपालिकाका नागरिक आएका छन् ।’
चाइना पासका लागि चार आना जग्गा किनेर सिफारिसका लागि बाहिरी जिल्लाबाट आउने गरेको उनको भनाइ छ । ‘गाउँपालिकामा जग्गा किनेर घर बनाएर बस्नेलाई सेवा सुविधा दिन्छौँ, उनले भने, थोरै जग्गा किनेर सिफारिस लिन आउनेलाई हामी सुविधाको लागि सिफारिस गर्दैनौँ ।’ शिक्षालगायतका सेवाका लागि भाडामा बस्नेहरुको संख्या यस अघि बढेकाे देखिए पनि हाल आन्तरिकहरुमै बसाई सरेर आउने बढेका छन् ।

जिल्लाको उत्तरगया गाउँपालिकाको खाल्डेमा बसाइँ सरेर आउनेको दर उच्च रहेको गाउँपालिकाका सूचना अधिकारी उत्सव पौडेलले बताए । ‘स्थानीय तह आउनुपूर्व यहाँ थोरै सङ्ख्यामा परिवार बस्थे, उनले भने, अहिले यहाँ २ सय ६४ पुगेको छ ।’ उनीहरु भूकम्प बस्ती जोखिममा परेकोले बिस्थापित भएर आएका हुन् । रसुवाबाट ८५ परिवारले बस्ती नै स्थानान्तरण गरेका छन् । अब नुवाकोटमा बस्ती स्थानान्तरण प्रक्रियामा ३५ परिवार नुवाकोटमै बस्नका लागि जग्गा खोजीमा रहेको आत्मनिर्भर केन्द्रको जनाएको छ ।

खाल्टेमा भूकम्प जानु पूर्व त्यहाँ बस्ती थिएन । भूकम्पपछि हाकु, डाँडागाउँ र ठूलोगाउँको केही विस्थापित त्यहाँ बस्न थाले । पछि गाउँपालिकाको केन्द्र कायम भएपछि अन्य क्षेत्रमा बसिरहेका विस्थापित पनि खाल्डेमा बस्न पुगे ।

‘नौकुण्ड गाउँपालिकामा आन्तिरिक बसाइँसराई गर्नेको सङ्ख्या न्यून छ, उपाध्यक्ष सृजना लामाले भनिन्, पढाइका लागि सीमितले बसाइँसराई गरेका छन् ।’ गाउँपालिकाको केन्द्रमा बसाइँ सरेर आउने क्रम सुरु नभएको उनको भनाइ छ । नौकुण्डको बिभिन्न गाउँबाट अध्ययनका लागि जिवजिवे र कालिकास्थानका अस्थायी रुपमा बस्नेहरु भने निकै रहेका छन् ।

बसाइँसराईका कारण :
उच्च शिक्षा हासिल गर्न, व्यापार गर्न र सेवा सुविधा पर्याप्त भएका स्थानमा आन्तिरिक बसाइँसराई भएको छ । जिल्लाको असुरक्षित भूभागमा रहेका बस्ती सुरक्षित स्थानमा बसाइँसराई गरेका छन् । स्थानीय तह आउनुपूर्व सदरमुकाममा बसाइँसराई हुने गरेकोमा अहिले स्थानीय तहको केन्द्रमा बसाइँ सर्न थालेका हुन् ।

जिल्लामा बसाइँसराईको अवस्था हेर्दा २०६७ सालपछि बाहिरी जिल्लाबाट बसाइँ सरेर आउने गरेको तथ्याङ्गक भेटिन्छ । दुर्गम जिल्लाको रुपमा परिचित रसुवामा चिलिमे जलविद्युत आयोजनाले जिल्लाबासीलाई सेयर निष्कासन सुरु गरेपछि बाहिरी जिल्लाका नागरिक रसुवा जिल्लामा बसाइँसराई गरेर आउन थालेका हुन् ।

२२ मेगावाटको यो आयोजनाले पहिलो पटक जिल्लाबासीलाई सेयर निष्कासन गरेको थियो । १० प्रतिशत सेयर जिल्लाबासीको नाममा जारी गरेपछिको समयमा जिल्लामा बसाइँसराई गरेर आउने क्रम बढ्दै गएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए ।

०७१ मंसिरदेखि रसुवागढी नाका सञ्चालनमा आएपछि यसको सङ्ख्या झनै बढेको थियो । रसुवाबासीले मात्रै केरुङ प्रवेशका लागि पास पाउने व्यवस्था गरेपछि व्यापारी, व्यावसायी र सवारी चालकले बसाइँसराई गरेका हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ प्रवेशका लागि सात हजारले पास निर्माण गरेका छन् । ‘यसअघि बाहिरी जिल्लाका नागरिकले भने पास बनाएका थिए, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले भने, अहिले बाहिरी जिल्लाका नागरिकलाई केही कडाइ गरिएको छ ।’
२०७४ बैशाखमा स्थानीय तहको चुनाव भएपछि आन्तिरिक बसाइँसराई बढेको हो । ग्रामीण भेगमा बसिरहेका नागरिक गाउँपालिकाको केन्द्रमा आएर व्यापारिक क्षेत्रमा लागेका छन् । जिल्लाको नौकुण्ड गाउँपालिकाका यार्सा, सरमथली र भोर्लेका विद्यार्थी पढाइका लागि जिवजिवे आउने गर्थे ।  जिवजवेस्थित नीलकण्ठ नमुना मावि, कालिकास्थान स्थित कालिका हिमालय मावि र धुन्चेस्थित रसुवा मावि र सरमथली स्थित निर्कुभूमे माविमा अध्ययनका लागि आन्तिरिक बसाइँसराई हुने गर्दछ । उच्च शिक्षा अध्ययनका लागि यी क्षेत्रमा बसाइँसराई गर्नेको सङ्ख्या समेत उच्च छ । सप्तकुण्ड साप्ताहिकबाट साभार

तस्वीर : जिल्लाको उत्तरगया गाउँपालिकाको केन्द्र खाल्डेमा रहेको बस्ती

तस्वीर : हेमनाथ खतिवडा, रसुवा ।

Comments

comments