स्मृतिमा दश वर्षे जनयुद्ध

Samir

माधव लामिछाने  ‘समिर ’

२०५२ साल फागुन १ अर्थात आजकै दिन तत्कालिन नेकपा माओवादीले जनयुद्धको सुरुवात गरेको थियो । महान जनयुद्धको शंखघोष गर्ने पार्टी माओवादी, माओवादी केन्द्र, एमाओवादी हुदै हाल एमालेसंग पार्टी एकता गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वनेको छ । माओवादी आन्दोलन विभिन्न समयमा विभाजित हुँदै  विप्लव नेतृत्वमा नेकपा, मोहन वैद्य नेतृत्वमा नेकपा (क्रान्तिकारी माओवादी), वावुराम नेतृत्वमा नयाँ शक्ति पार्टी, आहुतीको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र फरक फरक रुपमा अस्तित्वमा छन् । यी सवै पार्टीहरू जनयुद्धको धारावाट यहाँसम्म आईपुगेका पार्टीहरू हुन् । नेपाली जनताको सचेतन पहलकदमीमा आमुल परिवर्तनको लक्ष्यसहित शुरु भएको महान जनयुद्ध आज २४ औं वर्षमा आईपुगेको छ । महान जनयुद्धको २४ औं दिवस विभिन्न कार्यक्रम गरि मनाइरहदा जनयुद्ध जे लक्ष्यका साथ सुरु गरिएको थियो, त्यो पुरा भयो या भएन ? आजको मुलुक जनता र कार्यकर्ताको अवस्था के छ ? आदी विषयमा छलफल गर्नै पर्छ।

तत्कालिन अवस्थामा हामीले देशको वर्ग विष्लेशण गर्दै नेपाल अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक देश भएको निष्कर्ष निकाल्यौ र नोकरशाही पुँजीपति र दलाल पुँजीपति, सामन्त र जमिन्दार क्रान्तिको दुश्मन शक्ति र अरु सर्वहारा गरिव किसान, मध्यम किसान र धनी किसान तथा राष्ट्रिय पुँजीपतीसम्म क्रान्तिको मित्र शक्तिको रुपमा व्याख्या गरेर निशाना निर्धारण गर्यौं । साथसाथै क्रान्ति नयाँ ढंगले अगाडी बढाउनुपर्छ भन्ने बैचारिक संश्लेषण सहित गाउँले शहर घेर्ने रणनितिमा आधारित दिर्घकालिन जनयुद्ध सुरु गर्यौ । यो चिनमा माओले अपनाएको तरिका हो । यसरी प्रशिक्षित भएर हामी जनयुद्धमा गएका थियौं । हामी गाउँले लाखौ जनताहरु जो गरिविको रेखामुनी छन् । एकछाक खाने र एकआङ्ग लगाउने समस्यामा छन्, तिनीहरुको जीवनमा आमुल परिवर्तन ल्याउन सामन्त र जमिन्दारको सम्पती कव्जा गरि भूमिहीन र सुकुम्वासीलाई वितरण गर्ने, दलाल पुँजीपती र नोकरशाही पुँजीपतिको उद्योग र सम्पती राष्ट्रियकरण गर्ने लक्ष्य थियो । सेना नभएको कम्युनिष्ट पार्टीसंग आफ्नो भन्ने केही हुदैन भन्दै हामीले जनमुक्ति सेना वनायौं । युद्धका चरणहरू निर्धारण गर्यौ । विशाल ग्रामिण ईलाकाहरु खाली गर्दै आधार ईलाका वनायौ । जनसरकार चलायौ र रणनैतिक प्रत्याक्रमणको चरणसम्म पुग्यौ । दोश्रो राष्ट्रिय सम्मेलन चुनवाङ बैठकले अघि सारेको वाह्रवुदे हुदै आजको दिनसम्म आईपुग्यौ ।

के हामी हाम्रो लक्ष्य प्राप्तिमा सफल भयौं ?
आज जनयुद्ध र १९ दिने जनआन्दोलनको वलमा देशमा सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्र त आएको छ, तर त्यो जनवादी गणतन्त्र नभई संसदीय गणतन्त्र हो । एकात्मक राज्यसत्ताको ठाउमा संघीयता आएको छ । समानुपातिक र समावेसिताको सिद्धान्त लागु भएको छ । देश धर्म निरपेक्षतामा गएको छ । तर यी सवै हुदा पनि किन स्व.खुसिराम पाख्रिनले गाएको गीत झैँ कालो वनकोबीचका खेतालाको जिन्दगीमा तात्वीक अन्तर नआएको ? किन पहरामा झुन्डीएर सडक खन्ने मजदुरले आफ्नो श्रमको अतिरिक्त मुल्य अझै मालिकलाई वुझाएर शोषणमा पर्नु परेको ? अनि किन भारतमा गएर चौकीदारी गर्ने ठाउँ अझ विस्तारित भई अरवको मरुभूमिमा गएर पसिना वगाउन वाध्य हुनु परेको ? यी सवै कुरा हेर्दा लाग्छ,  जनयुद्धको लक्ष्य पुरा भएन । अझ त्यो भन्दा दयनिय कुरा के छ भने जनयुद्धका हिजोका इमान्दार नेता र कार्यकर्ताहरु जसले आफ्नो जीवन देश र जनताको लागी समर्पण गरेका थिए ति मध्ये धेरै आज आफैँ अरवको मरुभूमीमा पसिना वगाउन वाध्य भए ।

जनयुद्धका आदर्श पात्रका रुपमा चिनिएका हितराज पाण्डेहरु कृषी कर्ममा छन् । लोकेन्द्र विष्टहरु कालो धान फलाउदै छन् । अनी ध्रुव पराजुलीहरू कता कता विलिन हुदैछन् । यी त प्रतिनिधी पात्र मात्र हुन्, सयौं नेताहरु इतिहासको पानामा सिमित हुने खतरा पैदा हुदैछ । यसलाई उनिहरूको वैचारिक पलायन भनेर आलोचना गरेर मात्र छुट पाईदैन होला । शहिद परिवारलाई हामीले दश लाख त दियौ, तर के उनीहरु दश लाख पाउन मात्र शहिद भएका हुन् ? के उनीहरुले देखेको सपनाको हत्या नै भएको हो की अझै पुरा हुन्छ मान्यवर ? हामीले परिकल्पना गरेको समाज शोषण रहित समाज हो । तर यही समाजमा हिजोका लाल सिपाहीहरू आफै शोषित भएर नुनीलो आँसु पिउदै चिलगाडीमा विदेसिने र वाकसमा फर्कने क्रम कहिले रोकिन्छ मान्यवर ? हामीलाई राजनैतिक अर्थशास्त्रको प्रशिक्षणमा तपाईहरुले नै सिकाउनु भएको हो, आर्थिक आधारमा परिवर्तन गरेर उत्पादन र वितरणको स्वरुमा परिवर्तन नगरेसम्म उपरिसंरचनामा परिवर्तन गरेर मात्र शोषणको अन्त्य हुदैन । आज तपाइहरु उपरिसंरचनामा त कव्जा जमाउनु भएको छ । केही राम्रो काम पनी गर्दै हुनुहुन्छ । उर्जा र शिक्षा क्षेत्रमा केही आशाका किरणहरु देखिएका छन्, तर किन हाम्रो समाजमा शोषणको अन्त्य भएन कमरेड ? समावेसी र समानुपातिकका नाममा हामीले उत्पिडित वर्ग र समुदायका केही मान्छेहरुलाई माथी त उठायौ तर त्यसले त्यो समुदायलाई माथी उठाउन किन सकेन ? त्यसरी एकाध व्यक्तिलाई त हिजो राजाले पनि उठाउथे नि, तर उनिहरु नै त्यो समुदायको नाममा लुट्न तल्लीन हुन्थे । त्यसैले अव केही नयाँ सोच्नु पर्दैन र  ?

“हिजो को तपाईहरुको एक आदेशमा मर्न तयार हुने लाखौको पंतिलाई देशको सम्मृद्धिमा किन होम्न सक्नु भएन ? आज त्यो तप्का नै छिन्न भिन्न भई सकेपछि आज पार्टी लोभीपापीहरुको अखडामा परिणत हुने अवस्थामा छ । तर हामी भने आर्थिक सम्मृद्धिको यात्रा तिर हिंडिरहे भन्दै गर्दा कतै हामि आत्मरतिमा रमाइरहेका त छैनौ ? सोचनीय विषय छ ।″

यो चेतना वोकेका नेता र कार्यकर्तावाट आर्थिक सम्मृद्धि सम्भव छदैछैन कमरेड । हामीले हाम्रो नेतृत्व र तल्लो तहमा रुपान्तरण गराउनै पर्छ । हुनत पार्टी एकता भएको झण्डै एक वर्ष हुन लाग्यो । मेरो र तेरो नाममा पार्टी संगठनको एकता त घोषणा गर्न नसक्ने तपाईहरु देख्दा दया लाग्छ । चाहे त्यो गाँउमा होस् वा केन्द्रमा आज काम गर्ने कुमारहरुको अवस्था पार्टी भित्र दयनिय हुदैछ । हनुमान र गणेशहरु हावी हुदैछन् । त्यसको अन्त्य भएन भने हामी कतै कालो अन्धकार भित्र हराउने पो हि कि भन्ने खतरा प्रवल वन्दैछ ।

अन्त्यमा तपाईहरुले हिजो जनयुद्धमा जस्तै गरि काम गर्ने र परेमा वलिदान गर्ने हिम्मत हामीमा दिन सक्नुपर्छ । त्यसो गर्नका लागी फेरी सपना देख्नु र देखाउनु जरुरी छ । जुन सपना हिजोको जस्तो पुरा नहुने होईन । पुरा गर्ने खालको हुनुपर्यो । त्यसो गर्नका लागी आज कुरा मात्र गरेर सम्भव छैन । तपाईहरुले काम गरेर देखाउनुहोस हामी साथ दिनेछौ । आज जनतामा सरकार र पार्टी र नेतृत्वप्रति जुन निरासा छ त्यसको अन्त्य हुन जरुरी छ । यदी यो निरासालाई आशावादितामा वदल्न सकिएन भने फेरी अर्को युद्ध तिर देश नजाला भन्न सकिन्न किनकी हामीले वदल्न खोजेको शोषणको अन्त्य हो, त्यो अझै भएको छैन । हामी वदलियौ तर लक्षीत वर्ग वदलिएनन् वा वदल्न सकेनौ, यदि हामीले आधारभूत बर्गलाइ बदल्न सक्यौ भने मात्र जनयुद्ध दिवस मिलेर मनाएको सार्थक हुनेछ । अन्यथा सफल होला नहोला त्यो फरक कुरा हो, तर अर्को जनयुद्ध अवस्यम्भावी छ । सबैलाई चेतना भया ।

– लेखक नेकपा रसुवाका सचिव हुन् ।

Comments

comments