स्वास्थ्य क्षेत्रमा क्रान्तिबिन्दु

88261133_3005087589542358_728123245890371584_o

सुनीता बराल

कोरोनाबाट सुरक्षित रहन अहिले विश्व नै लकडाउनमा छ । अहिलेसम्मको सर्वोत्तम उपचार नै घरै बस्नु हो । त्यसैले सरकारले चौथोपटक लकडाउन घोषणा गरेको छ वैशाख १५ सम्मलाई । हामीलाई लकडाउन झञ्झटिलो लागेको छ । यसलाई छोट्याउने र घटाउने उपाय हाम्रै हातमा छ– अनुशासित र संयमित भएर घरै बस्ने ।

प्राथमिकता बदल्न्ने समय
सुरुको जस्तो हाउगुजी अब छैन । सबै नेपाली एकखालको मानसिक तयारीमा छन् । सरकारले केही गरेन भनेर कतिपयलाई भाषणको विषय हुनसक्छ । कतिलाई सङ्क्रमणबाट बच्ने र एकताबद्ध भएर लड्न भन्दा सरकार र कुर्सी नै प्राथमिक पनि हुनसक्छ । त्यो त कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड विवेक अनुसार नै प्राथमिकता पहिचान हुने कुरा हो । तर कोरोना भारतमा विस्तारित हुँदै जाँदा सरकारले आफ्ना प्राथमिकतामा हेरफेर गर्नुपर्छ । सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत निश्चित कालसम्मलाई बन्द गरेको छ । अब नागरिकमा सोही अनुसारको सचेतना पनि जरुरी छ ।

लकडाउनको समयमा नै सङ्क्रमितहरू भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने निर्णय गरेको छ । कञ्चनपुर र रौतहटका सङ्क्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए । अत्यावश्यक सामग्री र खाद्यवस्तुको आपूर्ति भने रोकिने छैन । सङ्क्रमण बढ्न थालेपछि भारतले २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ ।
सहरमा फ्रन्ट लाइनको परिभाषाभित्र नर्स, डाक्टर, सुरक्षाकर्मी, एम्बुलेन्स पर्छन् तर बोर्डरमा भने सुरक्षाकर्मी फ्रण्ट लाइनमा छन् । फ्रण्टलाइनको मनोबल जहिले उच्च हुनुपर्दछ । अहिलेको जस्तो अवस्थामा त अझ बढी । त्यसका लागि कमी होला तर सरकारले गरेको व्यवस्था चित्तबुझ्दो छ । आफ्नो घर परिवार र निजी जीवनभन्दा पनि बिरामीहरूको उपचार र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिने योद्धाहरूले कोरोना प्रकोपको सामना गर्न सक्ने पेशागत इच्छाशक्ति र सामथ्र्य गुमाउनुहुँदैन । सरकारले उनीहरूको ज्यान र आत्मबल दुवै जोगाउनुपर्दछ ।
महामारी रोकथामका लागि व्यापक रूपमा स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । अहिले स्थानीय सरकारको मातहतमा समायोजित स्वास्थ्यकर्मचारी बाहेक हाल चिकित्साशास्त्र स्नातक चौथो र इन्टर्नसिपका विद्यार्थी, मेडिकल लाइसेन्सको परीक्षा दिन पर्खेका स्नातक, लाइसेन्स पास गरेका स्नातक, सर्टिफिकेट नर्सिङका तेस्रो वर्षका विद्यार्थी, बीएन अध्ययनरत सबै, नर्सिङ साइन्सका स्नातकका तेस्रो र चौथो वर्षका विद्यार्थीलाई प्रोत्साहन भत्ता दिएर आवश्यक व्यक्तिगत सुरक्षा संयन्त्र र सावधानीका सबै मापदण्ड पूरा गरेर सम्भावित बिरामीको ज्वरो जाँच्ने, स्वाब सङ्कलन गर्ने, ल्याबसम्म ढुवानी गर्ने, आइसोलेसन तथा क्वारेन्टाइनको सुपरिवेक्षण गर्न, स्वास्थ्यको तथ्याङ्क सङ्कलन र अद्यावधि गर्ने कार्य गर्न स्थानीय सरकारको मातहतमा खटाउन सकिन्छ । सामाजिक सङ्घसंस्थालाई पनि परिचालन गर्न सकेमा सरकारलाई मानवस्रोतको कमी हुने छैन । स्वयंसेवक परिचालित गरी काम लिन सकेमा कार्यभार कम हुनेछ ।

अन्य जिल्लामा अड्किएका नागरिकको ब्यवस्थापन कार्य पेचिलो देखिएको छ । जसरी पनि आफ्नो घर वा परिवारसम्म पुग्न बाध्य कामदारबाट आफ्नो व्यवसाय अगाडि बढाउँदै गरेका कम्पनीहरूले सके आफैँ कामदारको बस्ने–खाने व्यवस्था गर्ने नसके सरकार (अचेल त वडा वडासम्म सरकार छ)लाई डाटासहित जानकारी किन गराएनन् ? स्थानीय सरकार किन चुके ? पैदलबाटै आफ्नो घरतर्फ पुग्ने नागरिकका विषयमा सही रिपोर्टिङ हुन नसक्दा सरकार नागरिकप्रति अनुत्तरदायी देखियो र देखाउने चेष्टा भयो । तर सरकारले यसरी हिँडेर गाउँतिर लागेकाहरू जो जहाँ छन् त्यहीँ रोकेर व्यवस्थापन गर्ने निर्णय गरेको छ जुन समयोचित छ । यो खेतीबालीको बेला भएकाले हरेक वडाले सीमित मापदण्ड बनाएर टोलटोलभित्रै काम गर्ने व्यवस्था खुकुलो बनाउँदा कामका लागि राहतलगायत व्यवस्था उत्पादजमूलक हुनेछन् ।

हरेक वडाको नेतृत्वमा प्रत्येक घरमा कोही सम्भावित सङ्क्रमित छन् कि भनी अनुगमन र पहिचान गर्न‘ जरुरी छ । टोलमा सबै घरको सर्वेक्षण वडा र गाउँ नगर सरकारले गर्नसक्दा कोरोनाको जोखिम क्षेत्र पहिचान गर्न सजिलो हुनेछ । आगामी दिनमा लकडाउनलाई खुकुलो बनाउन या परिमार्जन गर्न यस्ता पहिचानले अवश्यै सघाउ पु¥याउनेछ ।

यहाँ सरकारले केही गरेन भन्न सजिलो मान्नेहरू तिनैहरू छन् जो सरकारमा बसे । बसुञ्जेल झिँगा उडाए । बाहिर पुगेपछि ‘एक्सपर्ट भ्यू’ दिदैंछन् । को को सरकारमा बसे र केके गरे तुलना गरौँ । यसको अर्थ सरकारले सबै गरिसक्यो भन्ने होइन, न त गरेन भनेर पुर्प‘रो समाउने बेला नै हो यो ।
स्वास्थ्यमा क्रान्तिको मौका
ल्याटिनमा एउटा शब्द छ “आमोर फाटी“ । १९औँ शताब्दीको सुरुमा थोमस एडिसनको फ्याक्ट्री जलेपछि उनले त्यही ज्वालालाई भाग्य परिवर्तनको रूपमा लिए । हामीले कोरोना सङ्क्रमणलाई पनि स्वास्थ्यक्षेत्रमा क्रान्तिको जग बसाल्दा ऐतिहासिक काम सुरु हुनेछ ।
यो आर्थिक वर्ष सकिन लाग्दा सम्पूर्ण विकास र बाँड्न छुट्याइएको बजेटले प्रत्येक प्रदेशमा आधुनिक सुविधासम्पन्न अस्पताल बनाउन सकेमा कोरोना पनि विकासको साधक बन्न सक्छ । होइन भने सार्स, एन्फ्लुन्जा आदि आउँदा जस्तै हामी आफूलाई परिवर्तन होइन, बचाउने मात्रै छौँ । फेरि अर्को सङ्क्रमण आउँदा यसरी नै छट्पटिनेछौँ ।

मुलुक र जनताका लागि अनेकन त्याग र तपस्या गरेर खारिनुभएका, भारतीय नाकाबन्दी जस्ता जटिल अवस्थाबाट मुलुकलाई सकुशल अघि बढाउनुभएका प्रधानमन्त्री केपी ओली हामीसमक्ष हुनुहुन्छ । कुशल नेतृत्वको परीक्षा पनि यस्तै बेला हुने गर्छ । ओली सरकारले कोरोनाबाट जोगाउने मात्रै होइन, स्वास्थ्यक्षेत्र सुधारमा क्रान्ति नै गर्ने समय हो यो । परिवर्तनका लागि अहिलेजस्तै जनताको साथ रहनेछ । प्रधानमन्त्रीको नेतृत्वमा हामीे कोरोना सङ्क्रमण खतरालाई मौकामा बदल्नेछौँ ।

गाेरखापत्रबाट
(लेखक अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।)

Comments

comments