हुनै सक्दैन त्यस्तो पत्रकार

Kundan

डा. कुन्दन अर्याल

गएको साता ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्न चाहने युवालाई कोरोना भाइरसको प्रकोपको त्यति ख्याल नभएको देखिएपछि कानुन बहाल गराउने निकायसँग असमझदारी उत्पन्न भयो । केहीबेरमै स्थिति बिग्रँदै गएर प्रहरीमाथि ढुङ्गा प्रहार हुन थालेको सूचना तत्कालै आगोसरी फैलियो । अत्याधुनिक सूचना प्रविधिकै कारण एउटा अनौठो दृश्य सर्वव्यापी हुनथाल्यो : कार्यथलोमा लगाइने ‘प्रेस’ लेखिएको ज्याकेट लगाएर दाहिने हातले क्यामेरा समात्दै एक युवक देब्रे हातले ढुङ्गा हान्दैछन् ! वस्तुतः त्यो दृश्य अनौठो मात्र होइन, पत्रकारिता पेसा वा व्यवसायलाई बदनाम र दुरूपयोग गराउन पर्याप्त दसी प्रमाण पुग्ने हो ।

युरोपमा जब हातले लेखेर पुस्तक तयार गरिने थलो ‘स्क्रिप्टोरियम’ बाट पाण्डुलिपिहरू छापाखानामा जान थाले, समाजका राजनीतिक, समाजजिक, दार्शनिक, सांस्कृतिक पक्षहरूमा परिवर्तन देखिन थाल्यो । जर्मनीमा पन्ध्रौँ शताब्दीको मध्यपछि विकसित छपाइ प्रविधि युरोपभरि फैलिँदै गयो र त्यसले समाजलाई नयाँ संसारतर्फ डो¥यायो । त्यसपछिको चार सय वर्षमा मानव सञ्चारको दुनियाँमा पुस्तकपछि अर्को एउटा सशक्त नयाँ आयाम अस्तित्वमा आयो – तत्कालका सूचना पस्किने सहज र सस्ता, नबाँधिएका पानाहरू । पहिले सम्भ्रान्तहरूबीच मात्र हुन्थ्यो, पछि आम मानिसबीच यसको लोकप्रियता बढ्दै गयो । न्यूजपेपर (अखबार)भनियो र कामले नाम पायो –‘जर्नालिज्म’ । हामीले त्यसलाई पत्रकारिता भन्यौँ ।

छापा यन्त्र, पर्चा, पुस्तक र पत्रपत्रिकाको हाम्रो इतिहास विश्वका विकसित मुलुकहरूका तुलनामा निकै छोटो छ । इतिकासकार गृष्मबहादुर देवकोटाका अनुसार नेपालमा १६९ वर्ष पहिले छापायन्त्रको स्थापना भएको मानिन्छ तर यो अनुमानको पुष्टि हुन बाँकी छ । बेलायत अधीनस्थ भारतमा समेत सन् १७८० मै त्यसबेलाको राजधानीबाट खासगरी व्यापारिक सूचनाहरू प्रसारका लागि ‘हिक्की बंगाल गजेट’ वा ‘कलकत्ता जनरल एडभर्टाइजर एण्ड बंगाल गजेट’ नामले चिनिने अखबार सुरु भएको थियो । हामीकहाँ त्यसको पनि एक सय २० वर्षपछि गोरखापत्र सुरु भएको थियो । त्यसअघि पनि नेपालमा केही आवधिक वा साहित्यिक पत्रिका निस्किएका थिए । भारतबाट नेपाली भाषामा आवधिक पत्रिका वा सामयिक सङ्कलन पनि निस्किएका थिए । देशभित्रबाट निस्किएको समाचारप्रधान प्रकाशन गोरखापत्र नै थियो । नियन्त्रित समयमा गोरखापत्रबाट सुरु भएको नेपालको पत्रकारिता आज उदार राजनीतिक परिवेशसम्म आइपुग्दा निकै फराकिलो भइसकेको छ ।

सत्रौँ र अठारौँ शताब्दीको युरोपको पत्रकारितालाई प्रारम्भिक समयका प्रयत्न मात्र ठान्ने हो भने उन्नाइसौँ शताब्दीको मध्यपछि त संसारका विकसित देशमा अखबारहरू सशक्त सामाजिक अवयवका रूपमा स्थापित भइसकेको देखिन्छ । अठारौँ शताब्दीको मध्यभन्दा अघि टेलिग्राफको प्रयोग हुन थालेपछि त लिखित सूचना वा कार्यस्थलबाट पठाइने समाचार आलुको बोरा ओसार्ने कामभन्दा फरक हुन गयो । अर्थात् अहिले इमेल गरेजस्तै गरी रिपोर्टरहरूले समाचार सम्प्रेषण गर्नसक्ने भए । त्यसपछि समाचार संस्थाहरू सूचना सङ्कलन र सम्प्रेषणको संसारमा ख्याति कमाउँदै गए, अखबारहरूको प्रसार झन्झन् बढ्दै गयो तर त्यही उत्कर्षका समयमा पनि पत्रकार, सम्पादक वा पत्रकारिताका अध्येताहरूले यो पेसाको मूल्य, मान्यता र मर्यादाको विषयमा विमर्श सुरु गरे ।

सन् १९२१ मै बेलायतको गार्डियनका सम्पादक सीपी स्कटले पत्रकारितालाई केवल व्यापारका रूपमा बुझ्नुहुँदैन, समाजमा यसको नैतिक उपस्थिति सबैभन्दा महŒवपूर्ण पक्ष हो भन्ने धारणा अगाडि सारे । उनले आफ्नो अखबारको सयौँ वार्षिकोत्सवका अवसरमा लेखेको त्यही लेखमा एउटा कालजयी पङ्क्ति थियो– टिप्पणी गर्न स्वतन्त्र छौँ तर तथ्यहरू भने पूज्य हुन्छन् । अर्थात् त्यसबेलै पत्रकारिताले स्वच्छतापूर्वक समाजको मिहिन अवलोकन गर्दा तथ्यहरूको तोडमोड गर्नुहुँदैन भन्ने व्यावसायिक दृष्टिकोण अघि सारिएको थियो । अमेरिकी सम्पादकहरूले पत्रकारिता पेसाको मानकका रूपमा सातबुँदे आचारसंहिता जारी गरेको पनि त्यही समयको हाराहारीमा हो । अमेरिकी विद्वान् वाल्टर लिपम्यानले बाह्य संसारको यथार्थ र ‘मिडिया’ले आममानिसको मस्तिष्कमा कुँद्ने संसारको चित्रबीचको भेद सकेसम्म कम हुनुपर्छ भनेको पनि यही बेलातिरै हो ।

अखबार वा छापामाध्यम, आवाजरहित फिल्म, रेडियो र टेलिभिजनको युगसम्म पुग्दा संसारको राजनीति, सामाज, अर्थव्यवस्था र संस्कृतिमा निकै परिवर्तन भयो । सन् १९३० को दशकमा रेडियोको प्रभाव कतिसम्म थियो भन्ने उदाहरण दिन ‘वार अफ द वल्र्ड ’ नामक एउटा नाटकको उल्लेख गर्ने गरिन्छ । सन् १९३८ अक्टोबरको एक आइतबार अमेरिकाको ‘कोलम्बिया बोर्डकास्टिङ सिस्टम’ र यसमा आबद्ध स्टेसनहरूबाट प्रसारित कार्यक्रम सुनेर मानिस भागाभाग गर्न थाले । उनीहरूलाई लाग्यो– अर्को कुनै उपग्रहबाट डरलाग्दा जीवहरू आउँदैछन ्! तर पछि थाहा भयो, मानिसले एच. जी. वेल्सलिखित रेडियोको नाटकलाई साँच्चैको सूचना–विवरण मानेपछि त्यो त्रास र भागभागको अवस्था उत्पन्न भएको थियो ।

त्यो घटनापछि आमसञ्चार माध्यमको सामाजिक उत्तरदायित्वको विषयमा झन् बढी छलफल हुन थाल्यो ।
केही वर्षपछि टेलिभिजनको त्यस्तै उधुमको जमाना सुरु भयो, खासगरी १९५० को दशकपछि विकसित देशहरूमा टेलिभिजनको लोकप्रियता निकै उकालो लाग्न थाल्यो तर एक–डेढ दशकको अनुभवबाटै देखियो– यो नयाँ आमसञ्चार माध्यमले मानिसलाई आफ्नै आँखाले देख्ने विश्वभन्दा पर्दामा देखिने विश्वप्रति बढी विश्वास जगाउन थाल्यो । हिंसात्मक दृश्यका कारण अत्यधिक टेलिभिजन हेर्ने बालबालिकामा हिंस्रक व्यवहार देखापर्न थाल्यो । दोस्रो विश्वयुद्धपछि अखबारको सामाजिक प्रभावमाथि प्रश्न उठ्न थालिसकेकै थियो तर टेलिभिजनको प्रभाव भने बढ्दै थियो । त्यही कारण हल्ला मच्चाएर अधिकांश मानिसलाई मौन बनाउने वा अवधारणाको खेती गर्नेजस्ता प्रभावसम्बन्धी अध्ययन भए । ती अध्ययनको निष्कर्ष पनि उही थियो– टेलिभिजनका प्रस्तुतिहरूमा सामाजिक उत्तरदायित्वको पक्षलाई शिरोपर गर्नुपर्दछ । १९४०÷५० को दशकमा विश्वभरका पत्रकारलाई स्पष्ट मार्गदर्शन हुने गरी सामाजिक उत्तरदायित्वको सिद्धान्तको चर्चा हुन थाल्यो । दोस्रो विश्वयुद्धपछि अमेरिकामा निजीक्षेत्रबाटै बनेको ‘हकिन्स कमिसन’को प्रतिवेदन र त्यसको झण्डै एक दशकपछि लिपिबद्ध बहुचर्चित प्रेसका चार सिद्धान्तमा यसलाई सैद्धान्तीकरण गरियो । इन्टरनेट र दूरसञ्चारका कारण नयाँ मिडियाको विकास भएको नयाँ सहस्राब्दीसम्म आइपुग्दा विश्वका सबैजसो भूभागका सञ्चारकर्मीलाई आमसञ्चार माध्यमका सामाजिक उत्तरदायित्वका बारेमा ज्ञात हुनैपर्छ भन्ने मान्न थालियो । माध्यम पृथक् हुनसक्छ, आज माध्यम त सम्मिलनको सिद्धान्तअनुसार नितान्त नौलो छ । तैपनि जुनसुकै माध्यमबाट गरिने पत्रकारिताको मूल धर्म समाज र मानवलाई सम्बोधन गर्नु नै हो । त्यसैकारण सञ्चारकर्मको सामाजिक उत्तरदायित्वको प्रश्न आज झन् महŒवपूर्ण बन्न पुगेको छ । आज हिजोको तुलनामा सञ्चार निकै दु्रत छ, प्रभाव असीमित छ । त्यसैले यसले पु¥याउन सक्ने हानि पनि उत्तिकै खतरनाक हुनसक्छ भन्ने हेक्का राख्नैपर्दछ ।

मिडियाले जनताबाट विश्वास गुमाउन थाल्यो भने सरकारहरूले नियन्त्रणको अवसर प्राप्त गर्दछन् । सरकारहरू जनता वा मतदाताको अनि मिडिया पनि जनता वा दर्शकश्रोताको कुरा गर्दछन् तर जब मिडिया दर्शक–श्रोता वा जनताको नजरमा गिर्दछन्, सरकारहरूको शक्ति अभ्यासबाट उनीहरू बच्न सक्दैनन् । त्यसैले पत्रकारिता पेसाका आधारभूत मूल्य–मान्यता वा सामाजिक उत्तरदायित्वको सिद्धान्त नबुझी असल पत्रकार वा सञ्चारकर्मी बन्न सकिँदैन ।

संसारभर पत्रकारका चार सयभन्दा बढी व्यावसायिक आचारसंहिता छन् । ती सबैको साझा उद्देश्य पत्रकारितालाई एउटा विशिष्ट र उत्तरदायी पेसाका रूपमा स्थापित गर्नु नै हो । पत्रकारितामा संलग्न सबैले यति बुझेका छन् भन्ने कुरामा विश्वस्त रहेको समाजमा कुनै लहडीले प्रेसको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने आँटै गर्न सक्दैन । धन्न, अनुसन्धानबाट फेला प¥यो, पुल्चोकमा क्यामेरा बोकेर ढुङ्गा बोक्ने युवक पत्रकार होइन रहेछ । अर्को अनुसन्धानका क्रममा प्रहरीले फेला पा¥यो–काठमाडौँमा नक्कली ‘प्रेस कार्ड’को कारोबार नै हुँदोरहेछ । अब नेपाली समाजमा यति गैरजिम्मेवार र अमर्यादित मानिस पत्रकार हुनै सक्दैन भन्ने छाप छोड्ने जिम्मा मूलतः नेपाली पत्रकारहरूकै हो । भोलि त्यसरी पत्रकारको भेषमा ढुङ्गा हान्ने कोही देखिए भने जोसुकैले भनोस् – यस्तो व्यक्ति त पत्रकार हुनै सक्दैन ।

पत्रकारले के–के गर्नुहुँदैन भन्ने बहस भइरहनु पर्दछ । सन् १९१६ देखि प्रेस काउन्सिल रहेको स्वीडेनजस्तो प्रेस स्वतन्त्रता र जिम्मेवार प्रेसका लागि सुपरिचित देशमा समेत आज पनि हरेक वर्ष पत्रकारहरूविरुद्ध उजुरी परिरहन्छन् । मिडियाको कामको समीक्षा कहिलेकाहीँ विश्व पत्रकारिता दिवस वा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मात्र होइन, सधैँ हुनुपर्दछ । पत्रकारिताको शुद्धीकरण लागि पत्रकारहरू चनाखो हुनैपर्छ । पत्रकारिता पेसा व्यवसायको मर्यादा कायम गर्न पत्रकार र सञ्चारगृहहरू अग्रसर हुनैपर्छ । किनकि सरकारहरूले आँटेको ठाउँमा स्वतन्त्रता सङ्कटमा परेका कैयौँ उदाहरण छन् ।

(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।) गाेरखापत्रबाट

Comments

comments