होटल र ट्राभल कम्पनी एकसाथ ह्याण्डल गर्दैछन २७ वर्षे पासाङ

77287433_2501671219945627_7847693157247483904_n

२७ वर्ष अघि रसुवा जिल्लाको लाङटाङको मुण्डुमा जन्मिएका हुन् उनी । ७२ सालको भूकम्पले धेरैको घरबार उजाड पार्यो । त्यही भूकम्पमा परेर बिते उनका प्रात स्मरणीय बुवा र आमा । तेन्जिन र आमा रिसाङका  पुत्र हुन् पासाङ तामाङ । पिताको व्यवसाय थियो होटल । स्कूल र कलेजको बचेको समयमा बुवालाई सघाउथें उनी  ।  मान्छेले जीवनमा कि पढेर जान्छ कि गरेर । हो, पासाङले पनि धेरै कुरा सिके परेर ,भोगेर । आखिर पढेको भन्दा परेर आर्जित ज्ञान दिगो हुन्छ भन्छन् त्यहाँबाट धेरै सिक्ने अवसर मिल्यो ।

ट्रेकिङ व्यवसाय पनि गरें केही समय र, जन्मियो तेन्जिङ ईको ट्रेक्स काठमाडौंमा । माता पिता बितेको वर्ष दिन पछि । बुबाको सपना साकार पार्नु थियो । पिताजीको सपना  थियाे लाङटाङमा ठूलो र सुविधा सम्पन होटल होस् । त्यही सपना पूरा गर्नका लागि जन्मिएको हो होटल बुद्ध इन् । जो लाङटाङ क्षेत्रकै चर्चित होटलका रुपमा परिचित छ । २७ वर्षकै उमेरमा व्यवसायमा फड्को मार्न सफल छन् पासाङ । उनी एक साथ दुई कम्पनी ह्याण्डल गरिरहेका छन् । कर्मको सिलसिलामा उनी केही महिना पुग्छन् जर्मन र रहन्छन् नेपालमा सात आठ महिना । अफ सिजनल उनी पुग्छन् जर्मन र काम गर्दछन् पर्यटन प्रवद्र्धनको र बाँकी सात महिना समय नेपालमै काम गर्दछन् । जर्मनमा पुग्दा पनि पोल्छ उनलाई आफू जन्मिए हुर्किएकै ठाउँको माया र ममताले । त्यही कारण धेरै बिदेशीहरूलाई आफ्नो जन्मभूमि अर्थात तेस्रो पर्यटकीय गन्तव्य स्थल रसुवाको सक्दो प्रचार प्रसार गर्दै आएका छन् । उनीसँग रसुवाको पर्यटनको सेरोफेरोमा रहेर हामीले केही जिज्ञासा राख्यौं :

हाम्रो जिज्ञासा थियाे भूकम्प पछि क्याञ्जिङ (समग्र रसुवा भित्रने) पर्यटकको अवस्था कस्तो छ ?

ट्राभल र अर्को होटल यी दुई कोणबाट हेरिनु जरुरी छ । यी दुबै कोणबाट सुक्ष्म रुपमा मूल्यांकन गर्ने हो भने भूकम्प पछि रसुवा भित्रने पर्यटकको संख्या घटेको छ । भूकम्प अघि यस्को राम्रो प्रचार थियो । यता आएर फर्किएका विदेशीहरूले आफ्ना देशमा लाङटाङका बारेमा बताउँथे । यता भित्रने १ जना पर्यटकले २ जनालाई लाङटाङको बारेमा प्रचार गर्थे । तर भूकम्पपछि स्थिती त्यस्तो रहेन । लाङटाङ क्षेत्र तहस नहस नै भयो । त्यहाँ पर्यटकका ज्यान गयो । साथै लाङटाङ पदमार्ग लामो समयसम्म बन्द गरिएको भन्ने प्रचार भयो । वेवसाइडहरुमा यस्तो राखिएपछि अनलाइनबाटै चासो राखेर भित्रने केही पर्यटक घटे । भूकम्प गएको वर्ष दिन बितिसक्दा पनि पूननिर्माण कामले गति नि सकेन । यी यावत कुराले पर्यटकको आगमनमा असर पारिरहेको छ ।

 पासाङ तमाङ
 प्रवन्ध निर्देशक,होटल बुद्ध इन्

० रसुवा भित्रिएका कति पर्यटक क्याञ्जिङ पुग्छन ?

बिशेष गरी रसुवाभन्दा पनि पर्यटकहरू लाङटाङ जाने उदेश्यले आउँछन् । रसुवा भन्ने धेरै पर्यटकलाई शुरुमा ज्ञातै हुँदैन । रसुवा घुम्न आएका र लाङटाङ घुम्न निस्किएका मध्ये ९८ प्रतिशत पर्यटकहरु क्याञ्जिङ पुगेकै नै हुन्छन् । केही पर्यटक मात्र क्यान्जिङ पुग्दैनन विमार अर्थात यस्तै अन्य कारणले । तेश्रो पर्यटकीय गन्तव्य रसुवा जहाँ भित्रने अधिकांश पर्यटक लाङटाङ वा गोसाँइकुण्ड नै जाने उद्देश्य बोकेर भित्रिएका हुन्छन् ।

० रसुवालाई तेश्रो पर्यटकीय गन्तव्य भनिदै आइएको छ । तर अन्य पर्यटकीय गन्तव्य जस्तो रसुवाले किन फड्को मात्र सकेन ?

यो निकै चिन्ताकाे विषय हो रसुवाबासीका लागि । रसुवामा प्राकृतिक स्रोत र साधन प्रशस्तै छ । पर्यटकीय उद्गम स्थलहरू मनग्य छन् । लाङटाङ, गोसाइँकुण्डजस्ता पर्यटकीय स्थलकै कारण यो तेस्रो पर्यटकीय गन्तव्यको रूपमा विश्वमा नै परिचित छ । तामाङ हेरिटेज ट्रेल विकासोन्मुख स्थलको रूपमा रहेको छ । यस्तै यस्तै धेरै पर्यटकीय सम्भावनाका बोकेको जिल्ला हो रसुवा । पैरेबेशी, मैलुङ, हाकुहुँदै तामाङ हेरिटेज ट्रेल निस्कने बाटो र स्याउबारी हुँदै यार्सा, सरमथलीबाट नुवाकोटको चोकदे वा रसुवाकै बेत्रावती निस्कने अर्को बाटो पनि प्रचुर सम्भावना भएको रूट हो । विकासको प्रवल सम्भावना बोकेको मार्ग । कतिपय ट्रेकिङ एजेन्सीहरू स्याउबारी, नौकुण्डहुँदै गोसाइँकुण्डको यात्रामा गइसकेका छन् । यसरी हेर्दा रसुवा प्रचुर पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । प्रशस्त चुनौती र कठिनाईहरू छन् । पर्यटन व्यवसाय व्यवसायिक हुन सकेको छैन वा व्यवसायीहरूबाट व्यवसायिक रूप दिन सकिएको छैन । हामी यो पाटोमा चुकेका छौं । पर्यटन व्यवसायलाई विविधिकरण गर्न अति आवश्यक छ । थोरै समुदाय पर्यटकीय व्यवसायमा लाग्नु, शिक्षित र योग्य जनशक्ति कम हुनु यहाँका प्रमुख समस्याका रुपमा देख्छु । अरू जिल्लाका साथीहरू अधिकांश पर्यटक गाइड र व्यवस्थापक बनिरहेका हुन्छन् । हाम्रो रसुवाका भरिया । यो दुःखद् पाटो । यसमा हामी सबैको जिम्मेवारी छ । एउटालाई दोष लगाएर अर्काे उम्कन मिल्दैन ।

० रसुवामा पर्यटनको कसरी विकास गर्न सकिन्छ ?

मुख्य कुरा सरसफाई हो । उनीहरूले सफा खोज्छन, तर हाम्रो मुलुकको राजधानी शहर पनि नमुना सरसफाई युक्त छैन । उनीहरू प्लेनबाट झर्नासाथ दिक्क हुन्छन् । फोहोरहरु जथाभावी फाल्ने गर्नु भएन । यसले मानव स्वास्थ्यमा पनि असर पार्छ भन्ने वुझ्नु पर्यो । त्यसमाथि पनि हाम्रोमा सिस्टम् राम्रो छैन । स्वतन्त्र रूपमा पर्यटक आफै ठाउँ रोजेर बस्न पाएका छैनन् । यहाँ तानातान हुन्छ, त्यस्तो हुनु नराम्रो हो । ट्याक्सी ड्राईभरदेखि नै हाम्रो होटलमा जाउँ भनेर बाटोबाटो लैजाने गर्नु भन्दा पनि राम्रो स्वागत सत्कार गर्ने र खानपान वास तथा स्वागत सत्कार राम्रो गर्न सकेमा अझै राम्रो हुन्छ ।

साथै लामा होटलका विषयमा पटक पटक धेरै कुराहरु उठेका छन् । त्यहाँ धेरै प्रकारका समस्याहरू देखिएका छन् । क्यान्जिङबाट फर्कदाँ र गोसाँइकुण्डबाट फर्कदाँ पनि सेन्टर यही पर्छ । यहाँ रुम्चेमा २ ओटा र लामा होटलमा ५ ओटा गरी ८ ओटा होटल रहेका छन् । यहाँको क्षमता भनेको १ सय २० जना मात्र । त्यो पनि पर्यटकको लागि हो । गाइडहरूको लागि केही व्यवस्था छैन् । तर, सिजनको समयमा १ सय ६० जनासम्म दैनिक पर्यटकहरू आउने गर्दछन् । धेरैले बस्नसम्म नपाउने अवस्था रहेको छ । त्यसैले अझ १० वटा ठूला होटल थप्नु्पर्छ । अहिले हाम्रो हालत यस्तो छ यदी अन्नपूर्ण अर्थात सगरमाथाजस्तो पर्यटन बृद्धि हुने हो भने हाम्रो हालत के होला ? यस्तै कारण कम्पनीहरूले पर्यटकहरुलाई रसुवातिर पढाउन छाडेर अन्य रूटमा पठाउँछन् ।

० यो पाटोमा कहाँ चुके व्यवसायी,कहाँ चुक्यो राज्य वा सरकार ?

सरकारले जुन क्षेत्रबाट कर उठाएको हो । त्यो करको खर्च सोही क्षेत्रमा विकासमा खर्चनुपर्ने हो । पर्यटकहरू संख्यात्मक मात्र नभई गुणात्मक पर्यटक भित्राउन पहल हुनु आवश्यक छ ।

प्रस्तुति  : महेश्वर गजुरेल  https://uddhammi.com बाट साभार

Comments

comments