७ किलो सुनसहित एक व्यक्ति पक्राउ

धुन्चे, ३ चैत, २०७३ । अवैध रुपमा लुकाइछिपाइ छिमेकी मुलक चीनको केरुङबाट नेपाल तर्फ ल्याइएको ७ किलो सुनसहित एक व्यक्ति नेपालस्थित टिमुरेबाट प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङजा वालिङ नगरपालिका घर भई हाल लहरेपौवा ६ बस्ने बर्ष ३५ प्रकाश गैरे रहेका बताइएको छ । चीनको केरुङबाट राजश्व छली स्कारपियो गाडीमा लुकाएर ल्याएको अवस्थामा सीमा प्रहरी चौकी टिमुरेले चेकजाचको क्रममा सुनसहित गैरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सुराकिको आधारमा गाडी खानतलासी गर्दा गाडीको गियरबक्समा लुकाएको अवस्थामा सुन भेटिएको थियो । बा १७ च २२७५ नम्बर सेतो स्कार्पियोमा सुन लुकाएर ल्याएको विशेष सुराकीको आधारमा प्रहरीले चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरी निरिक्षक धुब्रप्रसाद सिलवालले जानकारी दिएका छन् । सिलवालका अनुसार ठूलो परिमाणमा सुन भित्रदै छ भन्ने विशेष सुराकी आएपछि चेकजाँच कडा गरिएको थियो । सुनसहित पक्राउ परेका गैरेलाई नेपाल प्रहरीले थप अनुसन्धान पश्चात सार्वजनिक गर्ने बताइएको छ ।
पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएर चीनले रसुवागढी नाका खुलाएसँगै सुन तस्करीको दर बढ्दै गएको छ । तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट तस्करी बढिरहेको पाइएपछि रसुवामा सुरक्षा निकायले नियमनमा कडाई गर्न थालेको छ । यसअघि पनि यस्ता घटनाहरु पटक पटक हुने गरेको पाइएको छ, नेपाल प्रहरीले कडाइ गरेको भएपनि तस्करहरुले विभिन्न उपायलगाई छली गरी तस्कर गर्ने गरेको पाइएको छ ।
नेपाल चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा बिस्तार भईरहेको रसुवागढी नाका पछिल्लो समय सुन तस्करी हुने क्रम बढ्न थालेपछि विशेष निगरानी प्रहरीले गरिरहेको बताइएको छ ।

Comments

comments