नेपालमा प्रणालीको कुनै अर्थ छैन ?

Pradip Nepal

प्रदीप नेपाल

नेपालमा मैले तीन थान शासनप्रणाली भोगेँ । मेरो उमेरका सबैले भोग्यौँ । नक्खु जेलमा बस्दा ‘किशुनजी’ भन्नुहुन्थ्यो– अहिले नेपाली काँग्रेसको तेस्रो पुस्ता प्रजातान्त्रिक आन्दोलनमा होमिएको छ । उहाँको भनाइलाई मान्दा काँग्रेसको त पाँच पुस्ता भइसकेको छ भनी मान्नुपर्दछ । शहादतको परम्परालाई मान्ने हो भने प्रजातान्त्रिक आन्दोलनको ७० वर्ष पुगेछ ।
यो ७० वर्षमा प्रकृतिमै पनि गम्भीर परिवर्तनहरू हुन्छन् । मानिसको परिवर्तनको त कुरै नगरौँ । प्रणाली पनि राणाशासन (१९९७–२००७) शाहशासन (००७–२०१५) शिशु प्रजातन्त्र (०१५–२०१७), पञ्चायती ‘प्रजातन्त्र’ (०१७–२०४६), बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र (०४७–२०५८), राजाको एकल शासन (०५८–२०६२), सङ्घीय लोकतान्त्रिक गणतन्त्र (०६३ देखि अहिलेसम्म) । ००७ सालको क्रान्तिलाई पुष्पलालले ‘अपूर्ण क्रान्ति’ भन्नुभएको थियो । अज्ञानी इतिहासकारले त्यसलाई महान् परिवर्तन भने पनि कुन सत्यको उद्घाटन भइसकेको छ भने त्यो ‘असफल क्रान्ति’ थियो । नेपाली काँग्रेसको नेतृत्वमा हजारौँ नेपाली परिवर्तनकारी ‘क्रान्ति’ मा लागेका थिए तर क्रान्तिको नेता पार्टी नेपाली काँग्रेसलाई आँगनमा पठाएर, राजा श्री ५ महाराज त्रिभुवन, प्रधानमन्त्री श्री ३ महाराज मोहनशमसेर र नेपालका निम्ति भारतीय राजदूत सी.पी.एन. सिंहको सहमतिको ‘क्रान्ति’ पो रहेछ । यसको सार्वजनिक जानकारी नेपाली काँग्रेसको नेतृत्वले गर्नुपथ्र्यो तर त्यसो गरिएन । किन ? किनभने सात सालको कथित क्रान्ति यथार्थमा कुनै राजनीतिक परिवर्तन थिएन । त्यो त खाली कोटहरूको परिवर्तन मात्र थियो । राणाहरू ‘लङ् कोट’ लाउँथे, शाह राजाले दौरा, सुरुवालमा ‘फिट’ हुने छोटो लगाउन थाले । तर नेपालीहरू पढ्दैनन् । काँग्रेस त पढ्दैनन् नै । कम्युनिस्टहरू पनि पढ्दा रहेनछन् । सात सालको गीत गाउनु भनेको आकाशतिर थुकेर आफ्नो अनुहार त्यतै फर्काउनु हो ।
हरे ! नेपाली विद्वानहरूको ज्ञान । लाजै नमानी लेख्छन् उनीहरू– नेपाली प्रजातन्त्रको सूर्योदय सात सालको फागुन ७ गते हो । यथार्थमा भन्ने हो भने सात सालको सत्ता हेरफेरले नेपाली जनतासँग कुनै सरोकार राख्दैन । दुईखाले जमिन्दारको सम्झौताको बकपत्र हो सात साल । नेपाली जनताका लागि जस्तो थियो ००६ साल त्यस्तै रह्यो ००८ साल पनि ।
नेपाली नेताहरू भन्छन्, सात सालले नेपाली जनतालाई मतदानको अधिकार दियो । मतदान होइन, पहिले राणाले छानेका मान्छेले शासन गर्थे, पछि शाहले छानेका मान्छेले शासन गर्न थाले । त्यसैले २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । किसान नेता भीमदत्त पन्तको किसान विद्रोहसँग तर्सिएको सरकारले भारतबाट सेना बोलाएर त्यो विद्रोहलाई निर्ममतापूर्वक दबायो । यस्तो पनि हुन्छ प्रजातन्त्र ? जनता त जहिले पनि मकै पिँध्ने जाँतोमा पिँधिइरहे । मतदानको अधिकार त जनताले त्यसको आठ वर्षपछि २०१५ सालमा मात्र पाए । त्यसैले मैले ०१५–१७ लाई शिशु प्रजातन्त्र भनेको हुँ । ०१७ सालपछि निरङ्कुश पञ्चायती ‘प्रजातन्त्र’ को शासन आरम्भ सुरु भयो । बाठा थिए राजा महेन्द्र । एकातिर उनले बी.पी. कोइरालाको कार्यक्रमका केही लोकप्रिय अंशहरूलाई पञ्चायती कार्यक्रमका रूपमा अघि बढाए । जस्तो, भूमिसुुधार कार्यक्रम, जातपात खारेज गरेको नयाँ मुुलुकी ऐन । उत्तर दक्षिण दुवैतिरको सम्बन्ध राम्रो बनाउन उनले एकातिर अरनिको राजमार्ग निर्माण गरे भने अर्कातिर कालापानीमा भारतको सैनिक क्याम्प राख्ने अनुमति दिए । दौरा सुरुवाललाई राष्ट्रिय पोसाक बनाएर, भारततिरको सिमाना खुला राखेर भारतीयहरूलाई नेपाली नागरिकता दिने सजिलो बाटो बनाइदिए । राजा महेन्द्रको शासन जनमुखी हुन्थ्यो भने तेह्रथुमका कम्युनिस्ट नेता नेत्रप्रसाद गुरागाईं पञ्चायती गोलीको पहिलो शिकार हुँदैनथे ।
पञ्चायत भोगेका सयौँ नेताहरू अहिले पनि जीवितै छन् । राष्ट्रिय पञ्चायत, अञ्चल पञ्चायत, जिल्ला पञ्चायत, नगर पञ्चायत र गाउँ पञ्चायत । प्रणालीका रूपमा कसैले नराम्रो भन्न मिल्दैन । त्यतिबेला राजा थिए, त्यसैले सबै निर्णय नारायणहिटी राजदरबारबाट हुन्थ्यो । अहिले राजा नभएको हुनाले सबै निर्णय प्रधानमन्त्री प्रमुख रहेको सिंहदरबारले नै गर्छ । त्यसैले अहिलेको सङ्घीयतालाई मैले ‘महेन्द्रपथीय सङ्घीयता’ भनेको हुँ ।
चुरो कुरो प्रणाली होइन, चुरो कुरो हो– देश र दुनियाँको विकास । राजनीति, खाना, शिक्षा, स्वास्थ्य– यी चार विकासका सूचकाङ्क हुन् । म ००७ सालतिर जान्न तर ०१७ साल र अहिलेको ०७७ सालमा श्रमजीवी जनताको जीवनमा के फरक छ ? उही भोेक, रोग र शोकको जिन्दगी । केही भुइँफुट्टाहरू कुलीन र सम्भ्रान्त भएका छन् । ०३५ सालमा साथीहरू गीत गाउनुहुन्थ्यो, ‘धन हुनेलाई धनमाथि धनै छ, गरिबलाई चमेली रिनमाथि रिनै छ । यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक छ, जति सान्दर्भिक ०३५/०३६ को आन्दोलनताका थियो ।
अहिले झगडा गरिरहेका बाजेहरू (यो सबै पार्टीका लागि भनिएको होे) ००७ सालअघि पनि ठालु नै थिए, अहिले पनि ठालु नै छन् । त्यतिबेलाका गरिबहरू अहिले फाटेको लुगा लगाएरै बाँचेका छन् । यो ७० वर्षमा भुइँफुट्टाहरूकै राज रह्यो । राष्ट्रपति, प्रधानमन्त्री, आदि इत्यादिहरू महामहिम भए । तर उनीहरूलाई त्यो ठाउँमाा पु¥याउने, उनीहरूको खानपानका लागि कर तिर्ने काम न काजका खञ्चुवा नै रहे । ए बाबा ! राजनीति गर्नेहरूले थोरबहुत पढ्नु त पर्छ नि । मैले ब्याचलर, मास्टर, पीएच्डी भनेको होइन, देशको इतिहास, भूगोल मात्रै पढे पनि पुग्छ । म अर्थशास्त्र झ्याङ झ्याङ जान्दिनँ । गर्ने हो भने अहिलेको नेपालको भूमिले नेपालीजनलाई पूरा खाना दिन सक्छ । संसद्मा बसेर चार करोड निजी खर्च माग्ने माननीयहरूले त्यो सबै पैसा यो अवधिमा कृषिमा लगाउनु र कृषिमा आत्मनिर्भर बन्नू भनेर निर्णय गरे कति अर्ब रुपियाँ सिधै तल जान्छ र नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन्छ भन्ने हिसाब किताब अर्थशास्त्रीहरूले गरुन् । अहिलेको चालु सरकारले नै पनि यो काम गरिदिने हो भने देशको तीन चौथाइ जनताको अनुहार उज्यालो हुन्थ्यो ।

अहिले त समाजवाद उन्मुख सङ्घीय जनवादी गणतन्त्र ! सरकारमा छ नेपाल कम्युनिस्ट पार्टी । प्रमुख प्रतिपक्षमा छ नेपाली काँग्रेस । दुवै पार्टीको अन्तिम लक्ष्य समाजवाद । यस्तो अवस्थामा त देशले चिनियाँ मोडेलको विकास गर्न सक्नुपर्ने हो । कृषिप्रधान भनेको देशमा चामल, आलु, गहुँ आदिको कुरै छाडौँ गुन्द्रुकसमेत विदेशबाट आयात गरिन्छ । हिजो हामी कृषि फसल निर्यात गथ्र्यौं । १९६० को दशकमा नेपालले दक्षिण कोरियालाई चामल पठाएर सहयोग गरेको थियो । अहिले अर्धदक्ष या अदक्ष श्रमिक पठाएर सहयोग गरिरहेछ ।
कामदार पठाउने कामले समाजलाई कता लगिरहेछ भन्ने चिन्ता बेलाबेलामा सुुनिन्छ । अम्बाको रुखमा आँप फल्दैन । सन् १९६० मा नेपालका राजा र कोरियाका राष्ट्रपति दुवैले प्रवासी जनतालाई स्वदेश फर्कन आह्वान गरे । कोरियाली राष्ट्रपतिले प्राविधिक जनशक्तिलाई आह्वान गरे,
‘अहिले तपाईंहरू आफ्नो प्राविधिक ज्ञान स्वदेशलाई दिनुस् । तपाईंको जीवनकालमै हामी तपाईंलाई एउटा समृद्ध राष्ट्र दिनेछौँ ।’ अहिले दक्षिण कोरिया समृद्ध प्राविधिक राष्ट्र भइसकेको छ ।

बोलाउन त हाम्रा राजा महेन्द्रले पनि ‘फर्क हे फर्क नेपाली, तिमीलाई डाक्छ हिमाल’ भनेकै हुन् । तर कवि राजा– मबीबी शाह । त्यसैले नेपालमा राम्रा गीतकार, सङ्गीतकार आए । नेपालको कला साहित्यको फाँटले ठूलै फड्को मा¥यो तर नागरिकले खोजेको जस्तो समृद्धि नेपालीले पाउन सकेनन् ।

अहिलेको सरकारले एउटा मीठो नारा बनाएको छ ‘सुखी नेपाली, समृद्ध नेपाल’ । दुई चार शब्द यसका बारेमा पनि भनिहालौँ । नारा राम्रो काम नराम्रो । जति तिहाइको सरकार भए पनि त्यो धेरै टिक्दैन । किनभने अहिलको नारा यसरी अभिव्यक्त भएको छ ‘सुखी नेता, समृद्ध परिवार’ ।
झगडा सगडा छोड्नुहोस् । ९९ राम्रो र एउटा नराम्रो काम भयो भने, मान्छेले त्यही एकलाई सय गुणा बढाउँछन् । त्यसैले कार्यशैली उल्टाउनोस् शक्तिशाली पालिका सरकार, घुमाउने घरको चुली (यस्ता घरहरू मैले स्याङ्जा र कास्कीमा देखेको थिएँ ।) सङ्घीय सरकार । यसो भएपछि सबैको सम्मान हुनेछ ।

गाेरखापत्रबाट

(लेखक नेकपाका नेता हुनुहुन्छ ।) 

Comments

comments