आवासले ल्यायाे खुसी

Hem pp

हेमनाथ खतिवडा

आवास मानिसको न्युनतम आधारभूत आवश्यकता हो । गाँस, बास, कपास बिना कसैको पनि जीवन चल्दैन । तर नेपालमा कतिपय मानिसहरू२०७२ सालको विनाशकारी भूकम्पपछि आवास विहीन भए । घरबार विहीन भए । मानिसहरूको नैसर्गिक रुपमा प्राप्त आवासको अधिकार भूकम्पले छिनिदियो ।

भूकम्पपछि अधिकाशं भूकम्प पीडित लामो समय त्रिपालमुनी बस्न बाध्य भए । भूकम्प पीडित भन्छन्, आवासको खास महत्व त्रिपालमुनी बस्दा हुँदो रहेछ । हामी सुन्छौं, सुरक्षित आवास नभएका कारण धेरै मानिसहरूरोग, भोक र अभावका सिकार हुन बाध्यछन् । तर, हाम्रो संविधानलेहरेक नागरिकको लागि सुरक्षित आवासको हक ग्यारेण्टी गरेको छ । मानिसहरूको लागि आवास प्राथमिक विषयपनि हो । त्यसैले त भनिन्छ नि, खाना, नाना र छाना महत्वपूर्ण पाटो हो । यी तीन चिजको उत्तिकै महत्व छ । भूकम्पले कतिपय मानिसहरूको धनजन, आवास मात्रै छिनेन, आवास बनाउने आश्रयस्थल समेत क्षत विच्छेद पारिदियो । कतिपयको बसोबास्स्थल खोसिदियो ।

रसुवा उत्तरगया गाउँपालिका–२ खड्कुकी ५५ वर्षकी मनुङ तामाङ एकल महिला हुन् । उनको घर भूकम्पमा भत्कियो । जसोतसो बसोबास गर्दै आएको घर भत्किएपछि अत्यास आइलाग्यो । आफु काम गर्न नसक्ने भएपछि अनुदानले घर बनाउनसकिएन । सरकारले दिएको ३ लाख रुपियाँले सामान ढुवानी गर्दै ठिक्क भयो । उनी भन्छिन्,समयमा मजदुर नपाउने समस्या छ । उनले बनाउन सुरु गरेको घर जगमै राकियो । तर पछि एउटा संस्थाको थप ५० हजार बराबरको सहयोगमा घर उभ्याउन सक्षम भइन् ।

उत्तरगया गाउँपालिका–५ की मिठू नेपालीको भूकम्पमा भत्किएको घर बनाउन त सुरु गरिन् तर अधुरो रह्यो । भूमिहीन परिवारकी मिठुको घर गाउँकै एक जना जग्गाधनीको स्वीकृती लिई निर्माण सुरु गरेकी थिइन् । तर, अनुदानको रकमले २ कोठे घर बनाउन थालेकी मिठुको छाना छाउने बेलामा समस्या भएर रोकियो । पछि एउटा संस्था सामुदायिक विकास स्रोत केन्द्र नेपालको पूर्णिमा परियोजनामार्फत ५० हजार रुपियाँ थप सहयोग पाएपछि बल्ल उनले छाना छाउन सकिन । अहिले उनी सुरक्षित घरमा बस्दैछिन् । घर निर्माण भइसकेको ठाउँ उनको थिएन, उनले मन्जुरीनामा लिएर घर बनाएकी थिएन्, पछि उनले सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको दिगो समाधान परियोजनाको सहजीकरणमा चार आना क्षेत्रफलको जग्गा आफ्नो नाममा पास गरिन् । अहिले मिठू जग्गाधनी भएकी छिन् भने सुरक्षित आवास पनि बस्न पाएपछि चार जनाको उनको परिवार खुसी छन् ।

उत्तरगया–१ खड्कु डाडाँगाउँका कृष्णबहादुर तामाङ शारिरीक रुपमा अशक्त छन् । केही गर्न सक्दैनन् । विदेशी भूमिमा पसिना बगाउँछु, केही पैसा कमाउँछु र सुखी जिन्दगी विताउछु भन्ने सपना बोकेर विदेशीएका कृष्ण घाइने शरिर लिएर फर्के । उनले घरमा आर्थिक समस्या थियो । भूकम्पले ढलेको घर उठाउन उनीहरूलाई धेरै समस्या थियो । त्यसैले त सुरु गरेको घर ठड्याउन नसकि उनी त्यसै बसेका थिए । २ वर्षसम्म पनि पूरा गर्न नसकिएको उनको घर ३ लाख रुपियाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोग र पूर्णिमा परियोजनाले थप ५० हजार बराबरको सामग्री सहयोग गरी घर पूरा भयो । अहिले कृष्णबहादुर तामाङको परिवार सुरक्षित घरमा बस्न पाएकोमा खुसी छन् ।

उत्तरगया–४ मनिगाउँका जेष्ठ नागरिक लालवहादुर थिङले १ कोठे घर त जसोतसो बनाए । तर, झ्याल, ढोका हाल्न सकेनन्, र घर ह्वाङ्गै थियो । ढुङ्गाको भित्ता पनि लिप्न सकेनन् । उनले पनि अहिले परियोजनाको सहयोगमा घर निर्माण पूरा गर्न सकेका छन् । र उनी सुरक्षित महशुस गरी नयाँ एक कोठे घरमा बसोबास थालेका छन्, यद्यपी उनको लागि १ कोठे घर पर्याप्त भने होइन, उनी भन्छन्, गरिबको लागि यो बाध्यता हो ।

२०७२ सालमा गएको भूकम्पको कारण रसुवा जिल्लामा १२ ७४० घर पूर्ण क्षति हुन पुग्यो । भूकम्पले क्षति गरेको घरहरू आफ्नो आर्थिक सामर्थ हुनेहरूले त समयमै बनाउन सके तर गरिब, भूमिहीन, एकल महिला, जेष्ठ नागरिक र आर्थिक रुपमा कमजोर घरपरिवारले भने समयमै घर ठड्याउनै सकेनन् । कतिपय परिवारसँग त घर ठड्याउने जमिन समेत थिएन । त्यसैले उनीहरू भूकम्प गएको लामो समयसम्म पनि अस्थाथी टहरोमा, पालमुनी बस्न बाध्य भए । जव घरहरू बने त्यसपछि उनीहरूको मुहारमा खुसी छाएको छ । भूकम्प प्रभावित विभिन्न गाउँघरमा पुग्दा अधिकाशं यस्ता समस्या भएका मानिसहरूले यस्तै अनुभव सुनाए । उनीहरू आवास गुम्दा धेरै दुःखी भएको, दुःख भोगेको र अहिले जसोतसो सुरक्षित रुपमा छानामुनी बस्न पाउँदा खुसी भएको सुनाउँछन् ।

घरबनाउन सुरक्षित जमिन चाहिन्छ । तर, भूकम्पको कारण आफ्नो भएको जमिन समेत गुमाएका परिवार रसुवामा मात्रै १ हजार भन्दा बढी छ । उनीहरूको भर्खरै मात्र पुनर्वास सुरु हुँदै छ, किनकी उनीहरूले सुरक्षित आवास निर्माणको लागि सुरक्षित जमिन खोजी गरी खरिद गरिरहेका छन् । यसरी आफ्नो नाममा घर बनाउने जमिन नभएका र भएको जमिन पनि जोखीममा परेका परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप २ लाख रुपियाँ अनुदान घडेरी खरिदको लागि दिने व्यवस्था गरेको छ । सामाजिक संघ संस्था पनि हेर्नुका छन्।

केहीले सचेतना भनेर ठूलै रकम खर्चन्छन् तर निमुखालाई सघाउने यस्ता सामाजिक संघ संस्था विरलै भेटिन्छन् । जसले भूमिहीन, सुकुमवासी, जोखिम बस्तीमा परेका र गरिव, दलित, एकल महिला, अपाङ्गता भएका जसलाई अनुदानले पनि घर बनाउन नसक्नेलाई सहजिकरण चाहिएको थियो । त्यस्तालाई सहजिकरण र पैरवी गरेर उनीहरूको आवाज बाहिर ल्याए । उनीहरूको पहुँच अझैपनि राज्य नजिक थिएन त्यस्तालाई सहयोग गरेर गुन लगाएको कुरा कहिल्यै नविर्सने भूकम्प प्रभावित आफै व्यक्त गर्दछन् । यस्तो समस्यामा परेका परिवारलाई सहज रुपमा अनुदान लिन र जग्गा खोजी र खरिदको लागि सहयोगी भूमिका रसुवा जिल्लामा सामुदायिक आत्मनिर्भर केन्द्रले दिगो समाधान परियोजनामार्फत सहजीकरण गरिरहेको पायौं ।

यो काम यस्ता समस्यामा परेका मानिसहरूको लागि निकै उपयोगी साविक भएको स्वयम् भूकम्प प्रभावित लाभग्राही बताउँछन् । भूकम्प गएका यत्तिका समय वितिसक्यो, कतिपय परिवार अझै पनि अस्थायी टहरोमा बसोबास गर्दै छन् । विस्थापित शिविरहरूमा मानिसहरू बसोबास गर्दैछन्, उनीहरूलाई यथासक्य पुनर्वासमा लगि सुरक्षित रुपमा आवासमा बस्ने पाउने अधिकारको सुरक्षा र ग्यारेण्टी गर्नको लागि सहयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । जवसम्म सबै मानिसहरूले सुरक्षित आवास पाउँदैनन्, तवसम्म उनीहरूले आफूलाई सुरक्षित महशुस गर्न सक्दैनन्, खुसी हुन सक्दैनन्, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

लेखक सामाजिक अभियन्ता हुन् । hemnathkhatiwada@gmail.com

Comments

comments