बदलिए नेपाली

phurpa Tamang 2012

 फुर्पा तामाङ

२०४१ साउनमा पहिलो पटक दिदीसँग काठमाडौं घुम्न आउँदा शहरको सडक–गल्लीमा बसेर केटाहरूले केटी जिस्क्याएको देखेर म छक्क परेको थिएँ। २०४९ मंसीरमा कलेज पढ्न काठमाडौं बस्दै आउँदा पनि राजधानीमा केटीहरूलाई जिस्क्याउने प्रवृत्ति कायमै थियो।

आवाराहरू बाटो हिंड्ने केटी जिस्क्याउनकै लागि ढुकेर बसेका देखिन्थे। एक्लादोक्ला केटी आएको देखेपछि उनीहरू कोही चुइगम पड्काउँथे, कोही कागज डल्लो पारेर हिर्काउँथेत कोही अश्लील इशाराहरू गर्थे। कतिले त निकै परसम्म पछ्याउँदै जिस्क्याउँथे। बाटो हिंडिरहेकी केटी दाजुभाइ, काका वा अरू आफन्तसँग छन् भने आवाराहरूको अश्लील हर्कतले निकै अप्ठ्यारो वातावरण बन्थ्यो। त्यस्तो बेला झ्गडा र मारपिट समेत हुन्थ्यो।

नेपालका कतिपय आदिवासी जनजाति समुदायमा केटी जिस्क्याउने संस्कृति नै छ, तर त्यसमा मर्यादाको लक्ष्मणरेखा हुन्छ। जिस्क्याउने/जिस्किने पनि निश्चित साइनो र अवसर हुन्छ। विवाहभोज वा मेलापर्वहरूमा भेटिएकी उमेर मिल्ने सोल्टिनीलाई नजिस्क्याउने जनजाति युवक शायदै कोही भेटिएला। तर, जनजाति समाजमै पनि चिन्दै नचिनेका वा बाटो हिंडिरहेका केटीलाई जिस्क्याउने चलन छैन। काठमाडौंमा भने बाह्रै महीना सडकगल्लीमा घात लगाएर केटी जिस्क्याएको देखिन्थ्यो। होली आउनुभन्दा एक महीना अघिदेखि नै केटीहरूलाई स्कूल–कलेज वा कार्यालय जान कठिन हुन्थ्यो। ड्रेसमा आफ्नो बाटो हिंडिरहेका केटी वा युवा महिलाहरूलाई होलीको नाममा लोला हानेर हैरान पार्ने कहीं नभएको विकृति काठमाडौंमा देखिन्थ्यो।

माओवादीहरूले शुरू गरेको हिंसात्मक द्वन्द्वकै बीच संकटकाल घोषणापछि कम हुनपुगेको यो विकृतिमा २०६३ सालपछि काफी सुधार आएको छ। एक–दुई वर्ष भयो, होलीकै दिन मात्र बेलुन हानेको देखिएको। रंग दल्ने चलन चिनेजानेका बीच सीमित भएको छ। बरु, पछिल्ला वर्षहरूको होलीमा केटीहरू पनि बराबर सहभागी भएका देखिन्छन्। तौरतरिका मर्यादित भएकैले उनीहरू पनि पर्वको रंगरउस गर्न सडकमा आएको अनुमान गर्न गाह्रो छैन।

२०६२/६३ को जनआन्दोलनको परिणाममा अन्तरिम संविधान आएपछि नेपाली समाजका यावत् पक्षमा काफी सुधार भएको छ। जस्तो, अचेल तामाङ गाउँहरूमा केटी तानेर विवाह गर्ने चलन लगभग हराएको छ। हिजोआज सुतिरहेकी केटीलाई तान्न राति कुटुम्बको घरमा पस्ने आँट कोही तामाङ युवाले गर्दैनन्। पहिला त यस्तो हर्कत संस्कृति र अधिकारभित्रै पर्थ्यो। रसुवाका तामाङ समुदायमा वारि–पारि र माथिल्लो लेक–तल्लो बेंसीबीच पनि वैवाहिक सम्बन्ध सहज हुँदै गएको छ। अहिले त बाहुन, क्षेत्री, नेवार, राई, लिम्बू, मगर वा कथित दलित तथा विदेशीसँगको विवाह पनि सामान्य हुँदै गएको छ।

अर्थात्, हामी नेपालीले समय अनुसार समाजलाई बदलिसक्यौं। १० वर्षअघि कुनै तामाङले दुनियाँको केश काटे जात जान बेर लाग्दैनथ्यो। आज काठमाडौंमा तामाङको स्यालनमा सफाचट हुन मधेशी दाजुभाइहरू लाइनमा बसेका भेटिन्छन्। बंगुर पाल्ने बाहुन–क्षेत्री, लुगा सिउने श्रेष्ठ, बाख्रा पाल्ने राई गाउँ–गाउँमा भेटिन्छन्। यसले हामीलाई एकसाथ बहुलवादी र स्वाबलम्बी बनाउँदैछ। २०४६ सालपछिको खुलापन, राजनीतिक चेतना, सशक्तीकरण, संवैधानिक अधिकार, सामाजिक न्याय, जातीय–क्षेत्रीय–लैंगिक समावेशीपन, अन्तर्राष्ट्रिय कानून अनुकूल गरी राष्ट्रिय कानूनहरू संशोधन, परिमार्जन र निर्माण आदिका कारण यो सम्भव भएको हो।

उल्लिखित परिवर्तनहरूले हाम्रो दृष्टिकोणलाई पनि उन्नत बनाएको छ। समाजमा कतै सार्वजनिक शिष्टता तथा व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मान असुहाउँदो व्यवहार देखिए चर्को विरोध हुन्छ। त्यसकै परिणाम थियो, रोपाईंमा हिलो दल्ने चलनको आवरणमा महिलाहरूप्रति भद्दा व्यवहार गर्ने कृषि मन्त्रीले राजीनामा नै दिनुपर्‍यो। सामाजिक तौरतरिकासँगै केन्द्रीय राजनीति समेत परिवर्तन भएको दृष्टान्त त यतिखेर नेपालको राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला हुनु छँदैछ।

हामीले मुलुकको परम्परागत तप्काको सुनको लंकालाई भष्म गरेरै यो परिवर्तन ल्याएका हौं, तर परिवर्तनको नाममा सबै संस्कृति, मान्यता र विश्वास बदल्ने भन्ने होइन। समाज परिवर्तनका लागि जुनसुकै नामको विभेद, अन्याय र कुरीतिलाई फाल्ने हो, सुसंस्कारहरूलाई अझ् परिमार्जन गर्दै निरन्तरता दिने हो। सबै क्षेत्र, जातजाति र भाषाभाषीको पहिचान भएको सद्भावपूर्ण सभ्य समाज निर्माण गर्ने हो, हामी नेपाली त्यतै उन्मुख छौं पनि।

Comments

comments