योजना तथा वजेट निर्माण गर्न प्रशिक्षण

lantang-logo (1)

रसुवा, जेठ १८ – स्थानीय तहमा योजना तथा वजेट निर्माण कार्य सुरु भएसँगै जिल्लाका स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई  सुरु भएकाे छ।

स्थानीय तहमा योजना छनोट, प्राथमिकिकरण र वजेट निर्माण बारे भएका कानुनी व्यवस्था, योजना कार्यान्वनका लागि निर्वाह गर्नुपर्ने भूमिका र वडास्तरमा योजना प्राथमिकीकरण लगायतका बारेमा जानकारी दिन प्रशिक्षण सञ्चालन गरिएको हो । कार्यक्रम पछि पाँचै गाउँ पालिकामा कार्यक्रम तय हुने छ ।

प्रशिक्षण बिहिबार र शुक्रबार दुई दिनसम्म सञ्चालन गरिएको हो । कार्यक्रममा जिल्लाको पाँच वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल सहभागि छन् । वार्षिक योजना निर्माण गर्नका लागि गर्नुपर्ने पूर्व तयारी तथा योजना कार्यान्वयन लगायतको विषय प्रशिक्षणमा समेटिएको छ ।

प्रशिक्षण कार्यक्रममा स्थानीय तहको वार्षिक योजना र वजेट तर्जुमा पूर्व तयारी, स्रोत अनुगमन तथा वजेट सीमा निर्धारण बारे जानकारी दिने जिल्ला समन्वय अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । ‘बस्तीस्तरका योजना छनोट र वडा स्तरमा योजना प्राथमिकीकरण गर्न यो प्रशिक्षण उपयोगी हुने छ, जिल्ला समन्वय अधिकारी पाण्डेले भने, कार्यपालिकाका विभिन्न समितिहरुमा वजेट छलफल र कार्यपालिका एंव सभाबाट स्वीकृती प्रक्रिया बारे समेत जानकारी दिने छौँ ।’

आर्थिक ऐन, विनियोजन ऐन, तथा वजेट सम्बन्धी अनुसूचीहरुको जानकारी दिने उनले बताए । ‘प्रशिक्षणमा हामी सैदान्तिक कुरा मात्रै गर्दैनौ उनले भने, प्रस्तुत भएका विषयबस्तुको अभ्यास समेत गराउँछौँ ।’ प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले प्रशासन सुधार र स्थानीय तहसँगको समन्वय बारेमा जानकारी गराएका थिए ।

जिल्ला प्रशासन कार्यालय रसुवाले तयार पारेको जिल्ला मार्गदर्शनको ड्राफ्ट बारे प्रशिक्षणमा फिड ब्याक लिएको उनले बताए । जिल्लाका स्थानीय तहहरुले बस्तीस्तरका योजना छनोट गर्ने कार्य गरिरहेका छन् । असार १० गतेभित्र गाउँसभा गर्नका लागि गाउँपालिकाहरुले कार्ययोजना बनाएर कार्य गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।

प्रशिक्षणमा योजना कार्यान्वन अनुगमन र मुल्याकंन सम्बन्धी व्यवस्था बारे समेत जानकारी गराउने आयोजकले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा रसुवा जिल्लाको लागि ७४ करोड ४४ लाख वजेट विनियोजन गरिएको छ ।

मंगलबार सार्वजनिक भएको वजेट अनुसार जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा १६ करोड ३४ लाख, नौकुण्ड गाउँपालिकामा १५ करोड ८१ लाख, कालिका गाउँपालिकामा १५ करोड ६७ लाख, उत्तरगया गाउँपालिकामा १५ करोड ५४ लाख र आमाछोदिङ्मो गाउँपालिकामा ११ करोड ८ लाख वजेट परेको छ । यस पटकको वजेटमा सबैभन्दा बढी गोसाइँकुण्ड र सबैभन्दा कम आमाछोदिङ्मो गाउँपालिकाको लागि वजेट विनियोजन भएको छ ।

Comments

comments