रसुवामा साँढे ८ हजार निजी आवास निर्माण

Singa Lama Waiba_Ramche-3 Grang

विनाशकारी भूकम्पले क्षती भएका  रसुवाका ८ हजार ७ सय भूकम्प पीडितले निजी आवास निर्माण गरेका छन् । भूकम्प गएको यस अवधिमा  जिल्लाका ८ हजार ७ सय ६८ ले निजी आवास निर्माण सम्पन्न गरेका हुन् ।

हालसम्म जिल्लाभर  ७० प्रतिशत भूकम्प पीडितको घर निर्माण भइसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ ।

‘समय सीमाका कारण पीडितले घर धमाधम बनाइरहेका छन्, कार्यालयका प्रमुख कृष्णकान्त उपाध्यायले भने, यसले तोकिएको समयमा नै घर निर्माण हुनेमा आसा जगाएको छ ।’ भौगोलिक विकटता, निर्माण सामग्रीको अभावले ग्रामीण क्षेत्रमा सडक विस्तार हुन नसक्दा दुई वर्षसम्म पुनर्निर्माणले गति लिन सकेको थिएन् । हाकुलगायतका केही स्थान जाेखिममा परेकाे सडकअभावले सामग्री ढुवानीमा समेत समस्या देखएकाे छ ।

जिल्लाको नौकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा सडक विस्तार भएँसगै त्यहाँका पीडितलाई हिउँदमा सामग्री ढुवानीका लागि सहज भएको थियो । भूकम्पले क्षति गरेका घर निर्माणका लागि स्थानीय तहले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका थिए ।

‘सडक निर्माण नहुँदा डेड वर्षसम्म हामी पाचौँ स्थानमा थियौँ, नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले भनिन्, सडककै कारण यो गाउँपालिकामा पुनर्निर्माणमा सफलता पाएका हौँ ।’ जिल्लामा बनेका ८० प्रतिशत घर ढलान गरेर बनाइएको छ । परम्परागत शैलीका घर देख्न सकिन्न ।

भूकम्प प्रतिरोधी घर निर्माण गर्ने भन्दै पीडितले ढलान गरेर घर बनाएका छन् । कतिपय पीडितले त एक कोठे ‘भूकम्पको घर’ बनाएका छन् । किस्ता पाउनका लागि मात्रै पीडितले एक कोठे घर बनाएका हुन् । जिल्लामा १२ हजार ४ सय ९० घरधुरी लाभग्राही सूचिमा समावेस छन् ।  जिल्लाको पाँच वटा गाउँपालिकामध्ये सबैभन्दा कम गोसाईकुण्ड गाउँपालिकामा र सबैभन्दा बढी नौकुण्ड गाउँपालिकामा घर निर्माण भएको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्क अनुसार नौकुण्ड गाउँपालिकामा २ हजार ६ सय ९१, कालिका गाउँपालिका लाभग्राहीमा २ हजार ६३, उत्तरगया गाउँपालिकामा १ हजार ६ सय ५०, आमाछोदिङमो गाउँपालिकामा १ हजार २ सय २३ र गोसाईकुण्ड गाउँपालिकामा १ हजार १ सय ४१ पीडितले घर निर्माण गरेका छन् । भूकम्प पीडितले पुननिर्माणलाई तिब्रता दिनका लागि पर्म गरेर घर बनाउने, बाहिरी जिल्लाबाट कामदार ल्याउने, स्थानीय स्रोत र साधनको प्रयोग गर्ने लगायतका कार्य गरेका छन् । बिकट र निर्माण सामग्री लैजान कठिनाइ रहेकाे स्थानमा समेत सरकारले बराबरी अनुदान दिने भएकाेले घर निर्माण गर्न कठिन भएकाे हाकुका उर्ची तामाङ बताउछिन् । सुरक्षित जग्गा जमीन नभएका हाकु , डाडागाउँका  विस्थापितकाे अस्थायी छाप्राेमै रहेका छन् ।

Comments

comments