रसुवा, असार १५ गते । जिल्लामा कोभिड–१९ संक्रमण जोखिम कायम रहेको भन्दै जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र( डिसिसिएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालयले असार २१ गतेसम्मका लागि निशेध आदेश थप गरिएको छ ।
कोभिड–१९ संक्रमणका बिरामी केही स्थानमा नघटेकोले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय ०७८ असार १४ गते राति १२ बजेबाट सकियो । डिसिसिएमसीको सोमबार बसेको बैठकले असार २१ गते राति १२ बजेसम्म जिल्लाभर लागू हुने गरी निषेधाज्ञालाई निरन्तरता दिन सिफरिस गर्ने निर्णय गरे पछि प्रशासनले निशेधाज्ञा जारी गरेको हो ।
निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले बताउनुभयो ।
अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भएपश्चात यात्रा गर्ने, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूमा अनावश्यक भिडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो प्रणाली अनुसार कर्मचारी खटाइ काम सुरु गर्ने व्यवस्था मिलाउन पर्ने छ ।
अत्यावश्यक सेवाका कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्न पाउने छन् । यसैगरी बैठकले खाद्यवस्तु तथा पशुपक्षीको दाना, खाना पकाउने ग्यास, तरकारी, फलपूmल, डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्रीलगायतका अत्यावश्यक पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने र अन्य पसलहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्णय गरेको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सैं घण्टा खुला हुने छ ।
निर्माण कार्यमा प्रयोग हुने, सीमानाकाबाट सामग्री ओसारपसार गर्ने, भन्सार सम्बन्धी कार्य गर्न आउने भन्सार एजेन्टहरूले प्रयोग गर्ने सवारी साधन र अत्यावश्यक सामग्री एंवम वस्तु आयातमा प्रयोग हुने सवारी साधन सञ्चालन गर्न पाइने छ । आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड–१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८ बमोजिम कारवाही गरिने निर्णय भएको छ ।
सक्रिय कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । सोमबार १६ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ९४ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ७, कालिकामा ७५ र उत्तरगयामा १२ जना रहेका छन् । संक्रमितहरूमध्ये ५ जना संस्थागत र ८९ जना होम आइसोलेसनमा बसेका छन् । रसुवामा हालसम्म १ हजार २५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ९ सय ३० जना निको भएका छन् । जिल्लामा हालसम्म ३ हजार ६ सय ७ वटा स्वाव संकलन गरिएकोमा २ हजार ५ सय ८२ नेगेटिभ र १ हजार २५ पोजेटिभ आएको थियो ।
Related Posts
- मानव जीवनको लागि सौन्दर्य अति अपरिहार्य छ – वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ
- सिटिइभिटीका सबै परीक्षा रद्द हुने
- काेराेना संक्रमण बढ्दै
- अत्याधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार
- क्यान्सरलाई जितेर फर्किएका समाचार प्रमुख पौडेललाई मकालु टेलिजिनमा स्वागत
- कोरोना विरुद्धको १५ सय डोज मोडर्ना खोप फिर्ता