कविता
दिपा तामाङ
किसान देशको गौरव र शान, गरौं सबैले उनीहरुको सम्मान
सबैको अस्तित्व जोगाउने, खेती गर्ने मिहिनती किसान महान ।
कुनै बहाना हुदैँन मनमा, अविरल झरी होस् या चर्को घाम
खराब नीति र नियतिको कारण, अभाव छ दुई छाक माम ।
दश नङ्ग्रा खियाई उब्जाएको अन्नको, छैन उचित भाउ
बिचराको कठोर परिश्रममा, प्रायः व्यापारीको खराब दाउ ।
अभाव छ गुणस्तरीय, आवश्यक बीउ बिजन र उचित मलजल
खै कहाँ गयो समस्या समाधान गर्छु भन्ने राजनीतिक दल ।
सहेर असिना बगाई रगत र पसिना, खट्छ किसान अहोरात्र
तैपनि आफ्नो अवस्था उस्तै हुँदा, बग्छ आँशुको धारा मात्र ।
सरकारी कर्मचारीको बढ्छ सधैँ, समयानुकूल विभिन्न भत्ता
यसै गरेर किसानसँग पनि, किन गाँसिदैन मानवताको नाता ।
सडकदेखि सदनसम्मको पेट भर्न, उर्माछ सबै प्रकारको अन्न
धनीले भन्न सक्दैन म सुन, चाँदी र पैसा खाएर बाँच्नेछु भन्न ।
किन गर्छौ अपमान किसानलाई, गरिब,दुुःखी र फोहोरी भनेर
चुनौति दिन्छु म त्यस्तालाई कि, अन्न नखाई देखाऊ बाँचेर ।
कृषिमा लगानी,आम्दानी र आदर्श सोच नै हो, किसानको सम्मान
साथै सबै कुनामा आवश्यक सबै कुराको, समतामुलक व्यवस्थापन ।
जि.डि.पीको इन्जिनलाई सदा अनि निरन्तर, सुचारु गर्ने नै किसान
कृषि र कृषकको सम्मानमा नै सम्भव छ, देशको सुनौलो पहिचान ।
- तामाङ कालिका हिमालय उच्चमाविकी छात्रा हुन् ।