गोसाँइकुण्डमा एकीकृत विकासको लागि पाँच कराेड

langtang-center3

रसुवा, बागमती प्रदेशले रसुवा जिल्लाको गोसाँइकुण्डमा एकीकृत विकासको लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

गोसाइकुण्डमा ताल वरपर ढुंगा छाप्ने, कुन्डको वरिपरी रेलिङ हाल्ने, स्नान घर, चेन्जिङ रुम, शौचालय, सोलार बत्ती जडान, खानेपानीको पाइप छ सय मिटर जडान गर्ने, दुई वटा पाटीपौवा निर्माण गरिने, गोसाइकुण्डको त्रिशूल धारामा चौबिसै घण्टा बग्ने पानीको लागि कुण्डको अन्त्यसम्म डेढ सय मिटरको नाला निर्माण गर्ने एकीकृत परियोजनामा समावेश भएको सहरी विकास तथा भवन कार्यालय नुवाकोटका प्रमुख सञ्जय पाण्डेले बताउनुभयाे ।

गोसाइकुण्ड गाउँपालिकाको गोसाइकुण्डमा प्रदेश सरकारले नाँच घर निर्माण गर्ने भएको छ । गोसाइकुण्डसम्म जाने बाटोमा पाँच फिट चौडा भएको १३ सय मिटर लम्बाई सम्म ढुंगाको सिढी निर्माण गरिने छ । सहरी विकास तथा भवन कार्यालय नुवकोटले धादिङ र रसुवा जिल्लामा काम गर्दै आएको छ । भवन कार्यालयका प्रमुख सञ्जय पाण्डेले गोसाइकुण्ड हालको लागि भगवान शिवको स्मारक बनाइने र निर्माण पश्चात अग्लो मुर्ति राखिने समेत बताउनुभयाे ।

गोसाइकुण्डको एकिकृत विकासको लागि गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ्ग नुर्पु तामाङ लागायत रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधहरुसँग धेरै पटक छलफल भएको प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताउनुभयाे । उहाँले टुक्रा टुक्रा योजनाहरु भन्दा सबै योजनाहरुलाई एउटै प्याकेज बनाएर काम गर्न सुरु गरेको बताए । गोसाइकुण्डमा बन्ने सबै भौतिक पूर्वाधारको संरचना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी हुने उहाँले दाबी गर्नुभयाे ।

गोसाइकुण्डको तालतलैया जोगाउने, संस्कृति धार्मिक विश्वासलाई कसरी जोगाउने भन्ने विषयलाई आफू गम्भीर रहेको मन्त्री फुयाँलले बताए । उनले आउँदो बैशाख ७ गते प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले गोसाइकुण्ड एकिकृत विकास परियोजनाको शिलान्यास गर्ने जानकारी दिए । जनैपूर्णिमामा हिन्दु र बुद्ध धर्रमावलम्वीहरूले गोसाइकुण्डमा एकै ठाउँमा पुजा गर्ने गरेका छन् ।

Comments

comments