चिलिमे जलविद्युत कम्पनीले ९ महिनामा ५१ करोड मुनाफा कमायाे

ChilimeChilime

रसुवा , वैशाख २९ गते । रसुवाबाट पहिलाे पटक विद्युत उत्पादन गरेकाे  २२ मेगावाट क्षमता चिलिमे जलविद्युत कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ५१ करोड ५४ लाख ३१ हजार रूपियाँ मुनाफा कमाएको छ । कम्पनीले साउनदेखि चैत मसान्तसम्मको अवधिमा  मुनाफा आर्जन गर्न सफल भएको हो ।

नेपली पुँजी, नेपाली श्रम र प्राबिधिकले निर्माण गरेकाे विद्युत कम्पनीले आर्जन गरेको खुद नाफा अघिल्लो आर्थिक वर्षको यस अवधिको तुलनामा भने १.९४ प्रतिशत कम हो । कम्पनीको गत वर्षको ९ महिनाको खुद नाफा ५२ करोड ५६ लाख ४६ हजार  रूपियाँ थियो । कम्पनीले यो वर्ष विद्युत बिक्रीबाट गर्ने आम्दानी ०.६९ प्रतिशत बढाएको छ । उसले चैतसम्ममा २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत बिक्री गरेर ८० करोड ९२ लाख २५ हजार रूपियाँ  कमाएको छ । गत आर्थिक वर्षको अवधिको विद्युत बिक्रीबाट गरेको आम्दानी ८० करोड ३७ लाख १९ हजार रूपियाँ  थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी थोरै बढे पनि जलविद्युत केन्द्रको सञ्चालन तथा मर्मत खर्च भने बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले दिने ब्याजदर घटेकाले बैंकमा भएको रकमको ब्याजबाट हुने आम्दानी पनि घटेको छ । कम्पनीले अघिल्लो वर्ष ११ करोड ५१ लाख रुपैयाँ ब्याजबाट आम्दानी गरेकोमा यस वर्ष १० करोड ५२ लाख रूपियाँ  मात्रै आम्दानी भएको कम्पनीले जनाएको छ ।

कम्पनीले रसुवामा निर्माण गरेको चिलिमे जलविद्युत केन्द्र सञ्चालनमा छ । कम्पनीले सहायक कम्पनीमार्फत अघि बढाएका २ सय ७५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणाधीन छन् । १०२ मेगावाटको मध्यभोटेकोसी, १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटका सान्जेन (माथिल्लो सान्जेन र सान्जेन ) का २ आयोजना निर्माणाधीन छन् ।

Comments

comments