नमुना विद्यालयका लागि सहयोग जुटाउदै

Nilakantha school

रसुवा, जेठ ६ गते । उत्तरगया गाउँपालिका–५ मा रहेको जिल्लाकै पहिलो शिक्षण संस्था विद्यालय नीलकण्ठ माध्यमिक विद्यालयले ‘नमुना विद्यालय’ भवन निर्माण गर्न जग्गा खरिदका लागि पुर्वविद्यार्थीहरुले झन्डै २३ लाख रुपियाँ जुाएका छन् ।

विद्यालय भवन बनाउन आवश्यक पाँच रोपनी जग्गा खरिद गर्न विद्यालयका पूर्वविद्यार्थीहरूको पहलमा सुरु गरिएको चन्दा सङ्कलनको एक महिनामा २२ लाख ९२ हजार रुपियाँ जम्मा भएको प्रचारप्रसार विभागका संयोजक तथा पुर्व विद्यार्थी शशीकुमार डङ्गोलले बताउनुभयो ।

उत्तरगया गाउँपालिका– ५ घर भएर हाल बेल्जियमनिवासी मीरा डङ्गोलले एक लाख एक सय रुपियाँ दिएर सुरु भएको अभियानमा हालसम्म एक सय ९८ दाताबाट आर्थिक सहयोग जुटेको छ । रकम सङ्कलन अभियानको क्रममा अहिलेको निषेधाज्ञाको समयमा पनि जारी रहेको शिक्षक गणेश श्रेष्ठले बताउनुभयो । वि.सं.२००७ मा स्थापना भएको उक्त विद्यालयमा भवन र आवासीय संरचना सहितको भवन निर्माण गर्न संघीय सरकारले नमुना विद्यालय सहयोगको लागि एक करोड ५० लाख रुपियाँ रकम बजेट सुनिश्चित भएको छ । सोही कारण जग्गाको जोहो गर्न लागिएको हो ।

विद्यालयका लागि आवश्यक चार रोपनी जग्गा ७६ लाख ८० हजार रुपियाँमा खरिद गर्नका लागि दाताबाट सङ्कलन भएको रकमबाट विद्यालयले १० लाख अग्रिम भुक्तानी दिइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिनुभयो । जग्गा खरिदसहित पूर्वविद्यार्थीले स्मारक, बाल उद्यानलगायतका संरचना निर्माण गर्न सहयोग अभियान चलाएको छ । अभियानकै रुपमा एक करोड रुपियाँ रकम सङ्कलन गर्ने लक्ष्य छ । रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने भएकोले यस विद्यालयमा दुवै जिल्लाका विद्यार्थीहरू पढ्छन् । कम्प्युटर साइन्स लगायतका विषय पढाइहुने सो विद्यालयमा ५ सय ६४ जना विद्यार्थी अध्ययनरत छन् । यहाँ मानविकी संकाय स्नातक तहसम्म पढाइ हुन्छ ।

Comments

comments