नि यात्रा: वाम गाउँको बाक्ट्या नृत्य

Bishnu Sharma Parajuli
विष्णुप्रसाद शर्मा पराजुली

मुगुको उत्तरी सीमामा रहेको मुगुम (मुगु) गाउँबाट फर्केको दिन छाईलचौर, दोस्रो दिन तीर्प, लह, थार्प, रुगा, लुमा हुँदै वाम पुगेर बास बस्यौँ । थार्पमा चतुरसिंह वि.कले उनका छोराछोरीलाई  भेटे । उनकी पत्नीको सुत्केरी हुने समयमा रक्तश्राव भएर मृत्यु भएको थियो । उनले भरियाको काम गरेर तीन सन्तान पालेका छन् । थार्पको बारीमा उब्जने अन्नबालीले दुई महिना पनि धान्दैन । उनको जस्तै समस्या उत्तरी मुगुभरि अर्थात उत्तरी कर्णालीभरि छ । थार्प, रुगा, वाम, देवकोटाबाडातिरका घर एकै प्रकारका हुन्छन् । सबै घर एकअर्कासँग जोडिएका अनि छानो माटोले छाएको हुन्छ, तलामाथि चढ्न हिनु (लिस्नो) प्रयोग गर्छन् । मुगु जिल्ला भौगोलिक रूपमा विकट, आर्थिक रूपमा विपन्न तर प्राकृतिक सुन्दरता र स्रोतमा धनी छ । रुगा गाउँपछि हामीले मुगु कर्णालीको धारलाई छोडेका  थियौँ ।

मैले त्यस पटक यात्रा गरेको गमगढीभन्दा पूर्वोत्तरको करन र मुगुम क्षेत्र, गमगढी नजिकका थार्प, रुगा, वाम, गमगढी उत्तर–पश्चिम चंखेलीदेखि हुम्लासम्म यात्रामा पर्ने गाउँहरू विकटता, अशिक्षा, विपन्नता, गरिबी, रोग, अन्धविश्वासग्रस्त एवम् दुःखैदुःखको अनगिन्ती सागरहरूका नमुना हुन् भन्ने अनुभूति गरेको छु । मेरो भनाइले मुगाली र हुम्ली मेरा सहोदर खस दाजुभाइ–दिदीबहिनीको मन कटक्क खान सक्छ । तर यथार्थ पूर्णिमामा जुन जस्तै प्रष्ट छ । र त्यो दुःखको कारण ‘भाग्य, जन्मदैदेखिको कर्म, पूर्वजुनीको कमाइले गर्दा भएको’ भन्ने जुन विश्वास ती विपन्नतामा बाँच्न बाध्य नागरिकमा छ, त्यो असत्य हो । गमगढी र रुगा गाउँबारेको मेरो संस्मरण सूचना विभागबाट प्रकाशित हुने नेपाल पत्रिकाको २०७३ को माघ–फागुन अंकमा प्रकाशित भएको छ । त्यसैले त्यसबारे यहाँ चर्चा गरिएन ।

यहाँका दाइ–भाउजु र आमा–बाबु परिवारका सदस्यले अठार घण्टा फहरिँदा पनि एक छाक आटोपिठो खान नपाएकै कारण मृत्युको अँगालोमा बाँधिएर कर्णालीका घाटहरूमा अल्पायुमा खरानी हुन बाध्य छन् । म हिँड्दा, मैले देखेका ती फुस्रा अनुहारहरू मेरो छाया बनेर आँसुमा परिणत भएर कर्णालीमा मिसिएको अनुभव गरेको छु । तर्तरी पसिना झारेर दुई छाक खान पाउने भरोसामा गणतान्त्रिक परिवर्तनको अभियानमा मुगाली दाजुभाइ एवम् दिदीबहिनीले बलिदान दिएकै हुन् तर त्यो कर्णालीको भेलसँगै बगेर कहाँ पुग्यो कसैलाई थाहा छैन ।

जुम्लाबाट गमगढी खाद्यान्न ओसार्ने खच्चड आजकल उत्तरी गाउँतिर पसेका छन् ।

थार्प, रुगा नाघेर लुमखोला तर्दा गधा र खच्चडको लामो ताँती वामतिरबाट आएको थियो । जुम्लाबाट गमगढी खाद्यान्न ओसार्ने खच्चड आजकल उत्तरी गाउँतिर पसेका छन् । पोखरा–जोमसोम, बेसीसहर–मनाङमा खच्चड विस्थापित भएझैँ विस्थापित हुन अझै लामो समय पर्खनुपर्नेछ कर्णालीमा । गमगढी–वाम सडक निर्माणको सङ्केत बाटोमा ओछ्याइएका ढुङगाबाट थाहा हुन्थ्यो । त्यो ढुङ्गे बाटो हिँड्न कठिन भयो । त्यस दिन खाना खाने समय जुरेन । चिया र ढुसी परेका चिउराको भरमा उकालो नाप्नुपरेको थियो । हामी वाम गाउँ नजिक पुग्दा वनमा चरेर फर्केका पशु गोठतिर जाँदै थिए । डोकोभरि दाउरा बोकेका दिदीबहिनीहरू घर फर्कँदै थिए । बाटोमा चोर्तेनभन्दा फरक आकार र शैलीका मठ र देउली देखिए । मुगुम यात्राको चौथो दिनपछि हरियो गहुँ र वरपरका पखेरामा देखिएका हरिया पोथ्रापोथ्रीले आँखामा औषधी राख्दा शीतल भएझैँ शीतलता दिएको थियो ।

गमगढी र मुगु कर्णाली उत्तरमा पर्ने वाम गाउँ (२,७०० मिटर) गोदगाढ डाँडानजिक समथर, फराकिलो, खेतीयोग्य भूमि भएको ठाउँमा अवस्थित छ । वाम र थुमबाडा गरी यहाँ नजिकै दुई ठूला गाउँ छन् । लामो यात्रामा हरियाली नदेख्दा मेरो हृदय पनि साँच्चिकै थार्पको पखेरोझैँ सुख्खा भएको थियो । वामका खेतमा हरियो गहुँ बाली लहलह भएको देख्दा हृदय खुसीले गद्गद् भयो ।

हामी साँझपख दाउराको भारीसहितका नारीहरूसँगै गाउँ प्रवेश ग¥यौँ । दाउरा बोकेका ती नारी थकित, भोका भए तापनि मसँग कुराकानी गर्दा उनीहरूको आँखामा चमक र ओठमा मुस्कान देखिएको थियो । सबैले नाकमा बुलाकी, मुन्द्री, कानमा रिङ, माडवारी, हावादारी र नाडीमा विभिन्न रङका चुरा पहिरेका थिए । सबैले तीन फरक–फरक आकारका पोते र तिलहरी पहिरेका थिए । एउटा लामो चाँदीको सिक्का उनेर बनाएको माला छातीभन्दा तल झरेको थियो । दोस्रो बैजनी वा हरियो पोतेमा दुई रातो मुगाको बीचमा ठूलो आकारको चाँदीको सिक्का भएको तिलहरी थियो । तेस्रो सेतो, हरियो र रातो मिश्रित पोतेचाहिँ घाँटीमा टमक्क बसेको थियो । प्रायः सबैले घरबुनाको चोलो र गुन्युमाथि कम्मरमा पटुका बाँधेका थिए ।

हामी वाम गाउँ प्रवेश ग¥यौँ । माटो र ढुङ्गा जोडेर बनेका घरहरू अन्य गाउँमा झैँ एकअर्कोसँग जोडिएका छन् । सबै घर दुई तले छन् । सबै घर काठका फलिका, निरल राखेर माटोले छाएको मुन्ना छानो भएका छन् । छानोमाथि अघिल्तिर खाँबो ठड्याएर भिरालो पारेर फलिकाले छाएका छन् र त्यहाँ घाँसदाउरा, पुराना भाँडाकुँडा, लत्ताकपडा राखेको देखिन्थ्यो । सबै घरमा काठका खाँबो गाँडेर बार्दली निकालेका छन् । कुनै–कुनै घरको अघिल्लो भाग माटोले लिपिएको थियो । प्रायः सबै घरमा भुईं तलादेखि छानोसम्म पुग्ने लामो र पहिलो तलासम्म जाने छोटो गरी दुईटा लिस्नो बाहिरबाट ठड्याएका थिए । बाहिरबाट ती लिस्नु, बरण्डामा ठडिएका एकैनासका खाँबो लहरै देख्दा घर सिँगार्न राखेको जस्तो देखिन्थ्यो । भुईं तलामा गाईवस्तु, घाँस, दाउरा, पहिलो तलाको बार्दलीको छेउछाउ र कुनाकानीमा पनि दाउरा राखेको देखिन्थ्यो । सबै घरको वरपर दाउराको बार थियो । गोबर, दाउरा, घाँस, धुलो, ढुङ्गा, माटो, भेडाका पाठापाठी, गाईका बाच्छाबाच्छी, कुकुर, बिरालो, बालबालिका, नरनारी, वृद्धवृद्धा वरपर, यत्रतत्र, छरपस्ट एवम् चलायमान थिए ।

एक तमासले निरन्तर चलिरहने चिसो बतासमा मिश्रित मुगुको कालो तथा फुस्रो धुलो अनुहार, शरीर, दौरा, सुरुवाल, आस्कोट, चोलो, पछ्र्यौरामा टाँसिन्थ्यो । एक दिन पछि अर्को दिन बित्दै जाँदा त्यो धुलो पत्र–पत्र परेर कालो चिल्लो भएर गाउँलेको अनुहारमा टाँसिएरै बस्थ्यो । गरिबी छँदै थियो । दैनिक १७–१८ घण्टा वन, खेतबारी, पशुको हेरविचार, स–साना बालबालिका र वृद्धको स्याहारसुसार गर्दा बित्थ्यो । बेफुर्सदको अलावा चिसो पानी र चिसो स्याँठले गर्दा कसैले पनि नियमित रुपमा नुहाउन सक्दैनथे । फलस्वरूपः अनुहार कालो देखिन्थ्यो । बिहानदेखि दिनको उज्यालो छउञ्जेल काम गरेर दुई छाक पेटभर खान नपुग्ने भएकाले अनुहारमा टाँसिएको धुलो फाल्ने चासो हुँदैनथ्यो । दुई छाक पेटभित्र हुल्न पाए जीवन धन्य भएको मानिन्छ यहाँ ।

वाम वरपर भेट भएका गाउँले सबै दुब्ला, पातला, ख्याउटे, आँखा भित्र पसेको अवस्थाका थिए ।

घरको बार्दलीमा टुक्रुक्क बसेर हुक्का तान्दै गरेका बरुवाल क्षेत्रीले सो जानकारी दिएका थिए । वाम र थुमबाडमा क्षेत्री, बरुवाल, बरुवार, बुढा थर भएका खस क्षेत्रीहरू र खस दलितको बसोबास रहेको छ । उनीहरू खस भाषा नै बोल्छन् । खस भाषाको उद्गम जुम्लाको सिँजा हो । सिँजा त्यहाँदेखि तीन दिनको पैदल यात्रा गरी पुग्न सकिन्छ । कर्णाली प्रदेशको सहयोगमा खस भाषाको शब्दकोश तयारी हुन लागेको समाचार गाउँमा नपुगे तापनि त्यो काम भयो भने हजारौँ वर्ष पुरानो र नेपाली भाषाकी जननीको पुनर्जन्म हुनेछ । त्यो यथार्थमा परिणत भएको दिन कर्णालीमा मात्र होइन सम्पूर्ण नेपालीको हृदयमा खुसीको दियो बल्नेछ ।

वाम वरपर भेट भएका गाउँले सबै दुब्ला, पातला, ख्याउटे, आँखा भित्र पसेको अवस्थाका थिए । विशेषगरी मैले जति शिशु र आमालाई आँगनवरपर देखेँ उनीहरूको शरीरमा हाडछाला मात्र देखिन्थे । आँखा टलक्क टल्केका देखिन्थे । त्यो देख्दा मेरो मन कटक्क खान्थ्यो, हृदय चस्कन्थ्यो, शरीर सिरिङ्ग हुन्थ्यो । त्यसबेला राजधानीको राजनैतिक सिनो झम्टाई सम्झिँदा झनै विरक्तिन्थँे ।

 हामी गाउँ प्रवेश गर्दा केटाकेटी, युवा तथा पाको उमेरका बीस–बाइस जना मानिसको समूह कराउँदै, चिच्याउँदै, हाँस्दै त्यहीँ गाउँमा आउँदै थिए । त्यसमा महिला थिएनन् । समूहमा चार–पाँच जना अधबैँसे पुरुषहरूले काठको मखुन्डो लगाएका थिए । उनीहरू गीत गाउँदै नाच्दै, उफ्रँदै थिए । मखुन्डो लगाएका मानिसलाई केटाकेटीले जिस्क्याउने, कपडा तान्ने र भाग्ने गरेका थिए । त्यसले काठमाडौंमा मनाइने खोकना, हाँडीगाउँतिरको लाखेजात्राको झल्को दिन्थ्यो । त्यो जात्रा देख्दा मलाई अनौठो लाग्नुका साथै देख्ने अवसर पाएकोमा खुसी लाग्यो । मैले हुक्का तान्दै गरेका ६०–६५ वर्षका बरुवाल क्षेत्रीलाई त्यसबारेमा सोधेँ । उनका अनुसार त्यो विवाहको अवसरमा गरेको खुसीयालीको वाक्ट््या नृत्य उत्सव रहेछ ।

अघिल्लो दिन माथिल्लो वाममा जन्ती गए । बेहुला बेहुलीलाई लिन जाँदा जन्तीसहित गएर त्यो वाक्ट््या नृत्य     (मखुन्डो)को टोली  फक्र्यो ।  भोलिपल्ट दुलाहाले दुलही लिएर फर्कँदै रहेछन् । त्यो मखुन्डो लगाएको समूह रमाइलो गर्दै बीच बाटोसम्म दुलहीलाई स्वागत गर्न जान थालेका रहेछन् । उनीहरूले बेहुला, बेहुलीलाई जन्तीसहित बेहुलाको घर लिएर आउँदा रहेछन् । त्यसैगरी रमाइलो गर्दै दुलहीलाई बेहुलाको घरभित्र हुलेपछि उनीहरू बिदा हुने रहेछन् ।

मुगुका टेलिभिजन पत्रकार कवि कार्कीका अनुसार मखुन्डो नाचलाई स्थानीयले बाक्ट्या नाच भन्दछन् । नेपालका नेवार र शेर्पाजातिले पनि विभिन्न चाडपर्वमा अनौठो, परम्परागत तथा बालबालिका अति प्रसन्न हुने विभिन्न प्रकारका मखुन्डो पहिरेर नृत्य गर्ने चलन हजारौँ वर्ष पहिलेदेखि चलि आएको छ । मुगुको वाम जस्तै अन्य गाउँहरूमा काठको मखुन्डो पहिरेर बाक्ट्या नृत्य गर्ने चलन छ । यहाँ बाक्ट्या नृत्य जन्मोत्सव, व्रतवन्ध, विवाह र अन्य चाडपर्वमा गर्ने गरिन्छ । यो नृत्य यस क्षेत्रको अति प्राचिन नृत्य हो । वामका दुवै गाउँमा क्षेत्रीहरूको बसोबास रहेको छ । उनीहरूले आपूmलाई शुद्ध खस र शुद्ध क्षेत्री बताउँछन् । यहाँका खस क्षेत्रीले बालबालिकाको नामाकरण, व्रतवन्ध, विवाह र मृत्युमा लामा तथा पुरेतको स्थानमा धामी राख्दछन् । सम्पुर्ण धार्मिक, सांस्कृतिक र परम्परागत संस्कार कर्म उनीहरूले धामी मार्फतनै गराउँछन् । मुगुको दक्षिणभागमा मष्टो, उत्तरी क्षेत्रमा बुद्ध अथवा बोनलाई मुख्य देवता मानेझैँ वामका बासिन्दाको मूख्य देवता सुनपाल र मणिपाल हुन् । यी देवताको नाम प्राचीन राजाहरूको जस्तो लागे तापनि राजाको नाम नभई हजारौँ वर्ष पहिले मातृपूजा पछि पितृपूजाको प्रारम्भदेखिनै सो पूजा भएको हो ।

                                  जन्म, विवाह, पितृपूजा, सुनपाल र मणिपाल देवताको पूजा र मृत्यु संस्कारमा यहाँका बासिन्दाले पनि माथिल्लो डोल्पा, माथिल्लो दार्चुलाका क्षेत्री र लामाहरूलेझैँ आफ्नै घरमा बनाएको जाँड र रक्सिको प्रयोग गर्दछन् । आफ्नो प्राचीन संस्कार र संस्कृति मनाउँदा उनीहरूलाई खसानतिरबाट सुकिलो लुगा पहिरेर आउनेले मतवाली क्षेत्री भनि नामाकरण गरेकोमा दुःखि छन् । हाम्रो देश सानो छ तापनि भौगोलिक फैलावको आधारमा फरक–फरक गाउँमा फरक रीति रिवाज, मौलिक परम्परा र संस्कृति छन् । त्यसबारे अध्ययन गरी त्यस प्रकारका सांस्कृतिक महत्व बोकेका मौलिक परम्पराको संरक्षण हुन आवश्यक   छ ।

पातलो वन खेतीयोग्य फाँट भएको वाम ठूलो र फराकिलो छ । यहाँ वाम र थुमबाड गरी दुई ठूला गाउँ रहेका छन् । यहाँको मुख्य व्यवसाय खेतीपाती र पशुपालन हो । यहाँको फाँटमा धान, मकै र गहुँ उब्जन्छ । धेरै जग्गाजमिन हुने कम छन् । त्यसैले उब्जनीले खान नपुग्ने हुँदा अधिकांश युवा सीमापारी गढवालतिर ज्यामी काम गर्न, भारी बोक्न जाने गर्छन् । गाउँमा भएका पुरुष गमगढीतिर भरिया र ज्यामीको काम खोज्न पुग्छन् । वाममा धान असाध्यै राम्रो फल्ने भएकाले मुगुतिर भनिने एउटा उखान यस्तो रहेछ :

धानको बीउ लिन बाम जानु

कोदोको बिउ लिन गमगढी जानु ।

गहुँ नपाए पुमा जानु

केटी नपाए गुम जानु ।

२०३१ सालमा वाममा स्थापना भएको हिमोदय निम्नमाध्यमिक विद्यालयनजिक हामी बास बस्यौँ । मलाई राम्रो निद्रा नपरेको धेरै रात भएको थियो । तीर्प गाउँ माइत भएकी, बुढा थर (क्षेत्री)का युवासँग गमगढीमा देखभेट भई प्रेमविवाह गरेकी महिलाको चिया पसल थियो त्यो । पाहुनाका लागि बिनाझ्यालको चार जना सुुत्न मिल्ने एउटा कोठा रहेछ । मलाई निद्रा लाग्छ कि भनेर मैले त्यो कोठा मागेँ । त्यस दिन चतुर र मबाहेक अन्य दुई जना पाहुना थिए ।

खाना खाने बेलामा मैले ती महिलालाई वाममा विवाहमा मखुन्डो लगाएर बेहुलीलाई लिन गएको बारे सोधेँ । वाम र एक–दुई गाउँमा बाहेक त्यस्तो चलन आपूmले थाहा नपाएको जानकारी उनले दिइन् । उनका अनुसार विवाह गर्ने उमेरका सम्बन्धमा वाम, नाफा, फरिपाटा, पानधारा, देवकोटाबाडा जस्ता गाउँमा स्कुले उमेरमा छ–सात कक्षामा पढ्दै गर्दा प्रेमविवाह गर्नेको सङ्ख्या बढेको, छोरीले स्कुल पढेर के काम भन्ने आमाबाबुको सङख्या नघटेको, अर्काको घरमा गएर चुलोचौको,  घाँसदाउरा नगरी, बच्चा नजन्माईकन बस्न पाउने होइन, त्यस्तै काम धेरै आमाहरूले नपढीकन गरे भने पढेर के हुन्छ र ?” भन्ने चलन नहटेको उनले भनिन् । स्कुल नजाने छोरीको दस–एघार वर्षमा नै बिहे गर्ने चलन अझै छ ।

दुवै परिवारको सल्लाहमा मागी विवाहमा सक्ने परिवारले दाइजोमा घोडा, गाई, बाख्रा, काँसको थाल, हुँणो, रोँचे, खड्कुलो, गाग्री, दराज, कम्बल र छोरीलाई चाहिने सामान दिने चलन छ ।

मागी विवाह गर्ने चलन पनि छ । त्यसो गर्दा गोत्र फरक पारेर गर्छन् । दुवै परिवारको सल्लाहमा मागी विवाहमा सक्ने परिवारले दाइजोमा घोडा, गाई, बाख्रा, काँसको थाल, हुँणो, रोँचे, खड्कुलो, गाग्री, दराज, कम्बल र छोरीलाई चाहिने सामान दिने चलन छ ।

यतातिर परिवार नियोजनको चलन छैन । धेरै बच्चा जन्माउने, केही मात्र बाँच्ने, बच्चाको मृत्यु हुँदा उसले त्यति दिनको मात्र पिठो लिएर धरतीमा जन्मेको थियो भन्ने, आमाको स्वास्थ्य पैतीस वर्षदेखि बिग्रने, पाठेघर झर्ने, अकाल मृत्यु हुने, पाठेघरको समस्या भएपछि लोग्नेले अर्की पत्नी ल्याउने जस्ता समस्या यहाँ सामान्य मानिन्छन् । त्यस्तो समस्यामा झारफुक, टुनामुना  र धामीझाँक्री राखेर टार्ने चलन रहेको उनले जानकारी दिइन् । उनी सुर्खेतमा दुई वर्ष र नेपालगञ्जमा एक वर्ष बसेकी हुनाले उनलाई धेरै कुराको ज्ञान थियो । दुई छोरी र एक छोरा जन्मेपछि उनले सुर्खेतमा नै परिवार नियोजन गरेकी रहिछन् ।

मुगुममा झैँ भोलिपल्ट बिहान चिया नपिउँदै म फेरि वाम गाउँ झरेँ । त्यहाँका नारीहरू सबेरै उठेर पानी भर्न, घाँस काट्न, दाउरा खोज्न डोको बोकेर निस्कँदै थिए । दुध चुस्दै गरेका शिशुहरू आमाको लाम्टो छुटेकाले रुँदै, बाटोमा पछारिँदै आमालाई पछ्याउँदै थिए । त्यहाँ कामकाजी लोग्नेमानिस अत्यन्तै कम देखिन्थे । ती सबै कामको खोजीमा सहर पसेका थिए । अघिल्लो दिन मैले भेटेका वृद्धले विहानै हुक्कामा आगोको फिलिङ्गो राखेर तान्दै, खोक्दै सल्काउँदै थिए । म दुई हात जोडेर नमस्ते गरेर फिर्ता भएँ ।

कहिलेकाहीँ मेरा पाइला एकाएक बीच बाटोमा टक्क रोकिन्थे ।

हामी फरिपाटा, पानधारा हुँदै रारा ताल, कर्णाली नदी, छायानाथ भने जत्तिकै चर्चित चंखेली हिमालतिर लाग्यौँ । बाटोभरि मैले वाम गाउँबारे सोचिरहेँ । अनुहारमा धुलो टाँसिएर पत्रैपत्र भएको दृश्य झलझली आई नै रह्यो । आँखा मात्रै टलक्क टल्केका दुब्ला–पातला आमाहरूलाई देखेँ । मनमा खिन्नता आएर बस्यो । खस महाजातिका यी सन्तान जसले विश्वलाई खस जाति दिए, नेपालमा खस साम्राज्य नै स्थापना गरे, खस भाषाको जननी बने तिनका एउटै कोखका सन्तानको त्यो विलापपूर्ण अवस्था देखेर म भावविह्वल हुन्थेँ । कहिलेकाहीँ मेरा पाइला एकाएक बीच बाटोमा टक्क रोकिन्थे । त्यसपछि झसङ्ग हुँदै फेरि पाईला चंखेलीतिर अगाडि बढाउँथेँ ।

लेखक पराजुलीकाे नियात्रा खुल्ला मञ्चबाट साभार गरिएकाे हाे ।

Comments

comments