पत्रकारिता शिक्षाको पक्षमा

 हिजोआज पत्रकारिता पेसाप्रति आकर्षण कम हुँदै गएको छ । परिणाम स्वरुप पत्रकारिता शिक्षाप्रति पनि त्यसको असर परेको छ । यसका मुख्य दुई कारणहरु छन्ः

पहिलो, पत्रकारिता दुख्याहा पेसा हो, समयमा तलब समेत पाइँदैन तथा पत्रकारलाई सुरक्षा खतरा छ भन्ने सन्देश जानु । दोस्रो कारण, कलेजका संस्थापक एवम् सञ्चालकहरुबाट विज्ञार्थीहरुलाई उचित सरसल्लाह प्राप्त नहुनु । यस लेखमा आमसञ्चार र पत्रकारिता विषयले समेट्न सक्ने कार्यक्षेत्रका बारेमा चर्चा गरिएको छ ।

नेपालमा हाल अध्ययन-अध्यापन भइरहेको विषय ‘आमसञ्चार र पत्रकारिता’ हो, पत्रकारिता मात्रै होइन । पत्रकारिताको तुलनामा ‘आमसञ्चार’ शब्दले अझ बृहत् क्षेत्र समेट्छ, जस्तै ः सञ्चार, सञ्चारमाध्यम, विज्ञापन, जनसम्पर्क, कूटनीति, अनुसन्धान, पत्रकारिता आदि । यसर्थ, आमसञ्चार र पत्रकारिता पढ्ने विद्यार्थीले यी विभिन्न पेसागत क्षेत्रहरुमा विशेषज्ञता हासिल गर्न सक्छ । तर, धेरैजसो कलेजका संस्थापकहरु व्यवस्थापन वा विज्ञान शंकाय पढेको छन्, जसले नवआगन्तुक विद्यार्थीहरुलाई विज्ञान र व्यवस्थापन शंकाय नै उत्तम हो भनी उत्प्रेरित गर्नु स्वाभाविक हो । अझ कतिपय शैक्षिक परामर्शकर्ताहरुले पत्रकारिता शिक्षा पढेर सरकारी जागिर खान पाइँदैन भन्ने भ्रम फिँजाएर समेत इच्छुक विद्यार्थीहरुलाई विज्ञान वा व्यवस्थापन पढ्न जबर्जस्ति गरिएको भेटिएको छ ।

आमसञ्चार र पत्रकारिता विषयले बोलीका साथै लेखाइमा समेत प्रभावकारिता बढाउँछ । राम्रो लेख्न र सम्पादन गर्न सक्ने मानिसहरु सबै पेसा वा व्यवसायमा खाँचो छ । सञ्चारको सिप आवश्यक नपर्ने कुनै पेसा वा व्यवसाय छैन । ‘बोल्नेको पिठो बिक्छ’ भनेझैं कुनै पनि विधामा सफलता प्राप्त गर्नका लागि प्रभावकारी सञ्चार आवश्यक पर्दछ ।

आमसञ्चार र पत्रकारिता विषय अध्ययन गरेर पत्रकार (संवाददाता वा सम्पादक) मात्रै भइने होइन । साथै, यस विषयका विद्यार्थीले पत्रकारै हुनुपर्छ भन्ने छैन । यस विषयले समाजशास्त्र (सोसियोलोजी) जस्तै विभिन्न पेसा वा व्यवसायको सम्भावनाहरु बोकेको छ । यो विषयका अध्येताहरु लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी सूचना अधिकृत लगायत सरकारी सेवाका विभिन्न पदहरुमा प्रवेश गर्न सक्छन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले दफा ६ मा हरेक सरकारी वा सार्वजनिक निकायहरुमा सूचना अधिकृतको अनिवार्य व्यवस्था गरेको छ । नेपालमा १६ हजार सरकारी निकायहरु छन्, निजी क्षेत्रबाट खुलेका सार्वजनिक संघसंस्थाहरु पनि हजारौंको संख्यामा छन्, जसका लागि आमसञ्चार र पत्रकारिता विषय पढेको व्यक्ति योेग्य उम्मेदवार बन्न सक्छ । यसै सम्भावनालाई बुझेर अहिले धेरै सरकारी कर्मचारीहरु आमसञ्चार र पत्रकारिता विषय पढ्न थालेको पाइन्छ । दक्ष सूचना अधिकृतको अभावमा सरकारी सूचना अधिकारीहरु (प्रवक्ता, सूचना अधिकृत, सञ्चार सल्लाहकार आदि) सर्वसाधारणलाई सूचना दिनुभन्दा लुकाउनका लागि अग्रसर हुन्छन् । यो सरकारी प्रवृत्तिलाई चिर्नका लागि समेत दक्ष सूचना अधिकारीको खाँचो छ ।

त्यसैगरी, आमसञ्चार र पत्रकारिता विषय अध्ययन गर्नेहरुका लागि अर्को उपयुक्त पेसागत क्षेत्र हो, जनसम्पर्क । जनसम्पर्कलाई व्यावसायिक सञ्चारको महत्वपूर्ण हिस्साका रुपमा लिने गरिन्छ । बहुदलीय शासन व्यवस्थाको पुनर्बहाली भएयता नेपालमा जनसम्पर्कको दायरा बढ्दो छ । निजी, सार्वजनिक तथा व्यापारिक कार्यालयहरुमा रिसेप्सनिस्ट, पब्लिक रिलेसन्स अफिसर, प्रोग्राम को-अर्डिनेटर जस्ता पदहरु सिर्जना गरी जनसम्पर्क प्रवद्र्धन गर्ने अभ्यास भइरहेको छ । त्यसैगरी राजनीतिक दल र गैरसरकारी संस्थाहरुका लागि आफ्ना उद्देश्य पूर्ति गर्न जनसम्पर्क ज्यादै महत्वपूर्ण रणनीति बनेको छ । बहुलवादी समाज र लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि कार्यक्रम सफल पार्न प्रभावकारी जनसम्पर्क अत्यावश्यक छ ।

हरेक वर्ष नेपालमा विज्ञापनको बजार बढिरहेको छ । विज्ञापन व्यवसायी संघका अनुसार सन् २०११ मा नेपालमा ४ अर्ब ३२ करोड रुपैया बराबरको विज्ञापन कारोबार भएको थियो । हाल विज्ञापनको कारोबार ८ अर्बभन्दा माथि छ । यसरी, हरेक वर्ष विज्ञापन कारोबारको दायरा बढ्दो छ, जसका लागि हजारौंको संख्यामा दक्ष व्यक्तिहरु आवश्यक पर्दछ । विज्ञापनसम्बन्धी सिर्जनात्मक कार्य, प्राविधिक ज्ञान, बजार अनुसन्धान एवम् प्रभाव मूल्याङ्कन गर्ने कार्यहरुका लागि आमसञ्चार र पत्रकारिता विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादन हुनसक्छ । यो विषय बुझेका विज्ञापन एजेन्सी सञ्चालकहरुले समाचार र विज्ञापनको सिमारेखा छुट्याउन सक्छन् र भविष्यमा विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने परिपाटी घट्नसक्ने अपेक्षा गर्न सकिन्छ ।

पत्रकारिता क्षेत्रमै पनि सैद्धान्तिक ज्ञान हासिल गरेको जनशक्तिको अभाव छ । नेपालमा हाल ३५८० पत्रपत्रिका, ५४३ रेडियो र ३४ टेलिभिजनहरु दर्ता भएका छन्, जसमा संलग्न जनशक्तिमध्ये करिब ८० प्रतिशतभन्दा बढिले पत्रकारिता विषयको अध्ययन गर्न पाएका छैनन् । यसको मूल कारण अध्ययन गर्ने अवसरको अभाव हो । अहिले काठमाडौं उपत्यका भित्र र बाहिर पनि पत्रकारिता विषयमा विभिन्न तहमा अध्ययन गर्न सकिन्छ । हुनत कामकै सिलसिलामा वा कार्यगत अनुभवकै आधारमा पनि पत्रकारिता गर्न सकिन्छ तर त्यसबाट हुने सिकाइ अपूर्ण हुन्छ । पत्रकारिताको उद्देश्य, सिद्धान्त, आचारसंहिता, पत्रकारिताको नीति तथा कानुनसम्बन्धी ज्ञानका बारेमा नजानिकन पूर्ण पत्रकार भइँदैन । ‘अनुभवकै आधारमा म पोख्त भइसकें’ भनेर दाबी गर्ने कतिपय पत्रकारहरुले पत्रकारिता विषयको अध्ययनपछि ‘जान्नु पर्ने कुरा धेरै रहेछन्’ भनेर आफ्ना सहकर्मीहरुलाई पत्रकारिता विषय पढ्न उत्प्रेरित गरेका उदाहरणहरु यथेष्ट छन् । पत्रकारिता विषयमा शैक्षिक दक्षता हासिल गरेको जनशक्तिले पुरानो पुस्तालाई विस्तारै विस्थापित गरिरहेको छ ।

हिजोआज मिडियाका लगानीकर्ता वा सञ्चालकहरुले समेत पत्रकारिता विषयको सैद्धान्तिक ज्ञान हासिल गर्नु आवश्यक छ भनी आवाज उठ्न थालेको छ । पत्रकारिता पेसाको व्यावसायिक आचरण र समाजप्रति यसको दायित्वलाई लगानीकर्ताहरुले बुझिदिने हो भने मिडियामा हुने कतिपय गलत अभ्यास वा दुरुपयोगलाई रोक्न सकिन्छ । आमसञ्चार माध्यममा गरिएको लगानीलाई तत्कालै नाफा आर्जन गर्न सकिने व्यवसाय भनी लगानीकर्ताहरुले सम्झिदिनाले सम्बन्धित मिडियामा सम्पादकीय स्वतन्त्रता कुण्ठित भएको पाइन्छ । आमसञ्चार र पत्रकारिता अन्तर्गत मिडिया व्यवस्थापन विषय पनि अध्ययन गराइन्छ, जुन मिडियाका व्यवस्थापकहरुका लागि लक्षित छ ।

अचेल निजी कलेजहरुबाट मानवीकी शंकाय हटाइँदैछ । यो शंकाय भएका कलेजहरुमा पनि ज्यादै कमजोर शैक्षिक स्तर भएकाहरु विद्यार्थीलाई थन्क्याउने गरिन्छ । तर सन्तुलित आहार भनेजस्तै शिक्षा पनि सन्तुलित हुन जरुरी छ । यो देशका सबै विद्यार्थीले विज्ञान विषय मात्र पढे भने वा इन्जिनियर मात्रै बने भने वा व्यापारी मात्रै भए भने देश असन्तुलित हुन्छ र दुर्गतितर्फ धकेलिन्छ । तसर्थ, समाजका सबै पक्षहरुलाई सक्रिय बनाउनका लागि सबै विषयको अध्ययन-अध्यापन हुनुपर्दछ र त्यसअनुरुपको जनशक्ति उत्पादन हुनुपर्दछ ।

आमसञ्चार र पत्रकारिता विषयले बोलीका साथै लेखाइमा समेत प्रभावकारिता बढाउँछ । राम्रो लेख्न र सम्पादन गर्न सक्ने मानिसहरु सबै पेसा वा व्यवसायमा खाँचो छ । सञ्चारको सिप आवश्यक नपर्ने कुनै पेसा वा व्यवसाय छैन । ‘बोल्नेको पिठो बिक्छ’ भनेझैं कुनै पनि विधामा सफलता प्राप्त गर्नका लागि प्रभावकारी सञ्चार आवश्यक पर्दछ । उदाहरणका लागि चिकीत्सक, उद्योग–व्यवसायी, नीति–निर्माता, शिक्षक–विद्यार्थी सबैले प्रभावकारी सञ्चारको सिप बिना आफ्नो उद्देश्य हासिल गर्न सक्दैनन् । शिक्षकहरुले प्रभावकारी शिक्षण गर्न, चिकित्सकहरुले बिरामीसँग प्रभावकारी सञ्चार गर्न, उत्पादकहरुले आफ्ना सामग्रीको बजार प्रवद्र्धन गर्न, परामर्शदातृ निकायहरुले आफ्ना ग्राहकहरुलाई स्पष्ट सन्देश दिन प्रभावकारी सञ्चार सिप हासिल गर्नु आवश्यक छ । समग्रमा, सबै पेसाकर्मीलाई मिडिया साक्षरता आवश्यक छ किनभने मिडियाको सहि प्रयोगबाट सबै पेसाकर्मीहरु लाभान्वित हुनसक्छन् । साथै, बढ्दो मिडिया साक्षरताले पत्रकारिताको सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्न पत्रकारहरुलाई सकारात्मक दबाब दिन्छ ।

Comments

comments