भूमि स्वामित्वको खोजीमा दलित समूदाय

Itpare village

हेमनाथ खतिवडा, रसुवा । कालिका गाउँपालिका वडा नं ३ दलित बस्तीका अधिकांस भूमिहीन छन् । उनीहरू स्वामित्वमा भूमि नहुँदा गरिवीको चपेटामा छन् । उनीहरू झण्डै २ दशकदेखिको भूस्वामित्वको खोजीमा भाैतारिदै छन् ।
१. कालिका गाउँपालिका -३ इटपारे गाउँका ५८ वर्षका मुरली नेपाली ०६२ सालमा भूमि आन्दोलनमा होमिए । उनको परिवारसँग एकटुक्रा जमिन छैन । उनको परिवार भूमिहीन हो र उनी र उनको परिवार इटपारे गाउँ नजिकै रहेको सार्वजनिक जमिनमा घर बनाइ बसोबास गरिरहेका छन् । मुरलीको घर बनाउने जमिन समेत नभएको कारण यसरी सार्वजनिक जमिनमा बसिरहेका छन् । सरकारी जमिनमा बसोबास गर्नेसँग कुनै प्रमाण हुँदैन, सरकारले जुनसुकै बेला पनि उठिबास लगाउन पनि सक्छ भन्ने चिन्ता मुरलीलाई छ । ०७२ साल बैशाखको विनाशकारी भूकम्पका कारण गुमेको घर सार्वजनिक जग्गामा थियो । प्रमाण नहुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पाउने निजी आवास निर्माणको अनुदान रकम लिन पाएनन् ।
जिल्ला भूमि अधिकार मञ्चको सहजीकरणमा उनले गाउँपालिकाको सहयोगमा जनता आवास कार्यक्रममार्फत सहयोग पाई घर बनाए । उनी भन्छन्, राज्यले भूमिहीन त मान्छे नै होइन जस्तो गर्छ, राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट समेत वञ्चित गरिन्छ । आवास अनुदान मात्र होइन, आफूसँग पुर्जा नहुँदा आफ्नो नामबाट विद्युत लाइन लिनसमेत पाएका छैनन् । नियमअनुसार विद्युत लाइन (घरमा मिटर राख्न) को लागि लालपुर्जा अनिवार्य चाहिन्छ । भूमि नहुँदा जीविकोपार्जनको लागि पनि धेरै समस्या भोग्नु परिरहेको मुरली बताउछन् ।
२. सुन्तली नेपाली ७४ वर्षकी भइन् । उनी एकल महिला हुन । उनको ४ छोरी र १ छोरा थिए । चारवटै छोरीका विवाह भइसक्यो । भएको एउटा छोरा पनि ३ वर्ष पहिले कलिलै उमेर गुमाउनु प¥यो । उनी अहिले वृद्ध उमेरमा एक्लै छिन् । आफ्नो नाममा जमिन छैन । जीविकोपार्जनको लागि उनी दैनिक रुपमा गाउँमै रहेको सामुदायिक वनबाट घरपोत्ने रातो माटो सङ्कलन गर्छिन् र वेतिनी, माझागाउँका विभिन्न व्यक्तिको घरसम्म पु¥याई त्यसवापत दाल, चालम, तरकारी पाउछिन् र त्यसैबाट जीविका चलाइरहन्छिन् । एक्लै छिन्, आफ्नो नियमित आम्दानीको स्रोत छैन । जमिन छैन, जमिन भएको भए उत्पादन गरेर खान पुग्थ्यो ।
३. इटपारेकी दुर्गा नेपाली ३७ वर्षकी भइन् । उनको ४ छोरी र श्रीमान सहित ६ जनाको परिवार छ । परिवारमा श्रीमान र कान्छि छोरी शारिरीक रुपमा अपाङ्गता भएका छन् । गरिवीको पीडाले छटपटी भयो । सिलाइ व्यवसायका गर्न माईक्रोफाईनान्सको ऋण तिर्न नसकेर विदेशी भूमि कुवेत पुगिन । विदेशी भूमिका कठिन परिश्रम गरी केही पैसा जोरजाम गरी उनले विभिन्न वित्तिय संस्थाहरूबाट गरी १० लाख २० हजार रुपियाँ ऋण लिएकी थिइन् । चर्काे व्याज असुल गर्ने वित्तिय संस्थाको ऋणको व्याज बढ्दै गएको र तिर्न नसक्ने अवस्था आएपछि उनी परिवार र घर नै छाडेर विदेशिनु बाध्य भइन् । यसरी दिनहुँ ऋणले थिचिँदै गएपछि समस्या उत्पन्न भएपछि उनी विदेश जानु परेको बताउँछिन् । विकल्पको कुनै बाटो नभएपछि विदेशमा लामो समय श्रम गरेर उनले बल्लतल्ल ऋण त तिरिन तर जिवीकाको लागि उही दिनचर्या छ ।

माथिका घटना प्रतिनिधी मुलक हुन् । यहाँका सवै दलित गरिव छन् । कारण भूमिहीनता नै हो । दिनहुँ श्रम गर्नेको जमिन छैन । हजारौं रोपनी जमिन हुनेले खेतीमा काम गर्दैनन् । यो त आमा समस्या नै हो । यहाँ अधिकांस भूमिहीन सुकुमवासी परिवार छन् ।

 

राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार यस रसुवा जिल्लाको कुल जनसङ्ख्या ४३,३०० छ । जसमध्ये पुरूष २१,४७५ र महिला २१,८२५ छन् । कालिका गाउँपालिकाले २०७५ सालमा प्रकाशन गरेको पाश्र्वचित्रअनुसार गाउँपालिकामा जम्मा ११,०३३ जनसङ्ख्या रहेको छ । जसमा ५३४१ महिला र ५६९२ पुरुष छन् । कालिका गाउँपालिका वडा नं ३ को दलित बस्ती हो इटपारे यहाँ ४२ घर परिवार बस्छन् । लामो समयदेखि यहाँ दलित समुदायको बसोबास रहँदै आएपनि उनीहरू अधिकांसको जग्गा जमिन छैन । ४२ घरधुरीमा जम्मा १३८ जनसङ्ख्या छ । जसमा ७५ महिला र ६३ पुरुष छन ।

इटपारे गाउँको पराम्परागत पेशाको निरन्तरताको दिने कमै छन् । अधिकांसले पराम्परागत सिलाइ पेशा गर्दथे । २० घरधुरीले आफ्नो पराम्परागत पेशालाई अहिले पनि निरन्तरता दिइरहेका छन् । ८० प्रतिशत घरधुरीले आफ्नो परम्परागत पेशा छाडेका छन् । समय अनुसार उनीहरूले यस्तो पेशा छाडी अन्य काममा लागेका छन् । खासगरी यहाँको अधिकाशं घरधुरी पहिले सिलाई कटाईंको पेशा अगाल्थे, तर अहिले त्यस्तै छैन । अहिले बजारको सङ्ख्या बढ्यो, रेडिमेड (तयारी) सामग्रीहरूको उपलब्धता बढी र सस्तो हुन थाल्यो, त्यसैले मानिसहरूले दलितहरूमार्फत सिलाएर लगाउने कपडामा परिवर्तन भएको स्थानीय रुपि नेपाली बताउछन् । पहिले २ पाथी कोदो र मकैमा (बालीघरे प्रथा) मा वर्षभर काम गर्नुपथ्यो । अहिले बालीघरे प्रथाले जीविका धान्नलाई धौधौ हुने भएपछि बढी आम्दानी हुने जस्तै, दैनिक ज्याला मजदूरीको काम, साना खुद्रा पसल, कृषि मजदूरीको काममा बढी केन्द्रीत भएको स्थानीय बबिता नेपाली बताउछिन् ।
त्यहाँका ४१ मध्ये १८ घरधुरीसँग थोरै जमिन छ । बाँकी परिवार भूमिहीन छन् । १ रोपनीभन्दा कम जग्गा हुने ८ परिवार छन् । १ रोपनी भन्दा बढि जग्गा ६ परिवार छन् । त्यसतै ३ भन्दा बढि जग्गा हुने ३ परिवार छन् । इटपारेमा जग्गा हुने परिवारसँग पनि पर्याप्त जमिन छैन । जीविकोपार्जनको मुख्य स्रोत भूमि नभएको कारण इटपारेबासी भूमिहीन छन् भन्ने यस तथ्यांकबाट पुष्टि हुन्छ ।

यहाँका २३ परिवारसँग कत्ति पनि जमिन छैन । भएकासँग पनि केही थोरै मात्र जमिन छ । २३ मध्ये १४ परिवार वा ७८ प्रतिशत घरधुरी आफ्नो पुख्र्याैली सम्पत्ति नभएको कारण नै भूमिहीन भए हुन् । भूमि नहुँदा ४० घरधुरीले खाद्यन्नको अभावको समानामा गर्नु परेको छ र्। यदी भूमिको स्रोत उपलब्ध गराइने हो भने कम्तिमा दैनिक जीवनयापन सहजसँग गर्न सक्छन् स्थानीय मुरली नेपालीले बताए । धेरैवर्ष अघि यो ठाउँका मानिसहरू आफ्नो जीविकोपार्जनको लागि इट बनाउने काम गर्थे रे । माटो रातो र राम्रो भएकाले इट्टा बनाउन उपयुक्त स्थान थियो । सबै मानिसहरू‘इट्टा’ बनाउने काममा लागेकाले ठाउँको नाम नै ‘इट्टापारे’ भन्न थालियो । पछि मानिसहरूले इट्टा बनाउने पेशा छाडेर कोही कपडा सिलाउने, कोही अरुकोमा ज्याला मजदूरी गरी जीविका चलाउन थाले। तर गाउँको नाम भने ‘इट्टापारे’बाट पछि ‘इटपारे’ हुन पुग्यो । यद्यपि अहिले पनि यस गाउँलाई ‘इटपारे’ नामले चिनिन्छ ।
आफ्नो स्वामित्वमा पर्याप्त जग्गा जमिनको स्रोत नभएकाले वर्षैभरी अरुकोमा ज्याला मजदूरी गरी जीविका धान्नुपर्ने बाध्यता यी समुदायको छ । आफ्नो परिवारको लागि बसोबासको थातथलोसमेत उभ्याउने जमिन नभएकाले ६ परिवार गाउँ नजिकै रहेको सामुदायिक वनको सार्वजनिक जमिनमा बसोबास गरिरहेका छन् ।
पहिलेदेखि नै भूमिहीन दलित बस्तीमा आफ्नो उत्पादनले खान पुग्ने परिवार कोही पनि छैनन । यसकारण दैनिक जीविका चलाउनको लागि प्रायः सबै दैनिक ज्याला मजदूरीमा संलग्न हुने गरेका छन् । यस्तो दैनिक ज्यालामजदूरी गर्नको लागि अन्य गैरदलित समुदायको खेतबारीमा कामकाज गर्न जानु यहाँको मानिसहरूको बाध्यता हो । केही परिवारका सदस्यहरू सदरमुकाम धुन्चे, राजधानी काठमाडौंसम्म पनि मजदूरीको लागि पुग्ने गरेका छन् । ७ परिवार भने आफ्नो परम्परागत पेशा सिलाई कटाई व्यवसाय गरी जीविका चलाइरहेका छन् ।
यस गाउँमा मुरली नेपाली, सानोमुरली नेपाली, अनिता परियार, लघुराम तामाङ (मंगले) शंकर नेपाली, माइलो नेपाली, माया लामा, गणेश भुषाल, रुपी भुषाल, भवानी भुषाल, सुन्तली नेपाली, श्यामबहादुर नेपाली, उजेली नेपाली सुकुमबासी छन् । यहाँ विष्णुबहादुर भट्टराइको बिर्ता जग्गा कमाउने ३ परिवार छन् । अन्यको घर बनाउनको लागि गाउँमा २ / ३ आना घडेरी मात्र छ ।
उनीहरूले लामो समयदेखि भूमि प्राप्तीको अभियानमा निरन्तर लागेका छन् । १५ वर्षअघि सिंहदरवारदेखि नेताहरू भेटेर धेरै पटक माग राखे । शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनबाट पनि परिवर्तन सम्भव छ भनेर हामी लागिरहेका छौं तर सुनुवाई भएन स्थानीय मुरली नेपालीले भने भूमिहीन दलितले जमिन पाउने भनेर आयोग बनेको तर खै त्यसले पनि पूरा अवधि काम गर्न नपाउँदै बिघटन भयो । आशा निराशामा परिणत भयो । अहिले गाउँमै सिंहदरवार आयो भनेपनि भूस्वामित्व दिन सकेन ।
इटपारेकै रुपी कुमार भूषलको आफ्नै जीवनमा भूमिको अभियान निरन्तरता दिएर पनि भूमिमाथिको स्वामित्व लिने अठोट छ । अघिल्लो पुस्ताले आफ्नो बिचार राख्ने र भूमि स्वामित्वको लागि आन्दोलन गर्न सकेनन् हामीले आफ्नो पालामा स्वामित्व लिन सके आगामी पुस्ताले सुखले जिवीका चलाउन सक्थे । संघीय र प्रदेश सरकारको नीतिसँग बाझिने गरी स्थानीय सरकारले नीति निर्माण गरेर भूमिको स्वामित्व दिलाउन नसक्ने भएकोले हामीले इटपारे जस्तो बस्तीका गरिब, दलित, भूमिहीन किसानको पक्षमा भूस्वामित्व दिलाउन नसकेको जिल्ला भूमिअधिकार मञ्चका पूर्व अध्यक्ष तथा कालिका गाउँपालिका उपाध्यक्ष भवानी न्यौपानेले बताए ।
संबिधानले नै आवासको हकलाई मौलिक हकका रुपमा समेटेको छ । भूमिमा रातदिन काम गर्नेसँग भूमिको स्वामित्व छैन । किसानको स्वामित्वमा जमिन भए बाँझो रहने थिएन । त्यहाँ उत्पादन गरेर धेरैले खान पाउथे । जसका कारण उनीहरुको जिवीका र खाद्य अधिकारको सुरक्षा हुन सकिरहेको छैन । गाउँमै सिंहदरबार आएको भनेपनि महसुस गर्ने गरी दलित समुदाय र महिलाहरूको क्षमता विकास तथा जिवीकाको सवालमा स्थानीय तहले पार्याप्त ध्यान दिन नसकेको देखिन्छ ।

Comments

comments