वर्तमान राजनीतिबाट भावी पुस्ताले के सिक्ने ?

Biswash

विश्वास नेपाली

राष्ट्रिय राजनीतिमा जे भइरहेको छ, त्यसले यो सबै कुर्सीका लागि भइरहेको छ र जनतासँग गरिने वाचा फगत चुनावी नारा मात्र हुन् भन्ने स्थापित हुँदै छ । 

मुलुकमा राजनीतिक संकट चुलिएको छ । ठूला दलहरू सत्ता कसले हत्याउने, शक्तिमा को पुग्ने, कसले कसलाई शक्तिहीन र कसलाई शक्तिशाली बनाउने भन्ने खेलमा छन् । साना दलहरू कतातिर लाग्दा सुरक्षित भइन्छ र सत्तामा पुगिन्छ भनेर दाउपेच हेरिबसेका छन् । यस्तै राजनीति नै अहिलेको दैनिकी छ । अहिले भइरहेको राजनीतिक खेल हिजो नेतृत्वले गरेको प्रतिबद्धताको ठीक उल्टो छ– राजनीतिक सिद्धान्त र दस्तावेज एकातिर, कार्यशैली अर्काेतिर । इमान र सिद्धान्तको राजनीति एकादेशको कथा भएको छ । परिवर्तनको चाह राख्ने अहिलेको पुस्तासामु सिद्धान्तविनाको राजनीतिक खेल वर्तमान नेतृत्वबाट हुनु भनेको पक्कै राम्रो होइन । यसबाट भावी पुस्ताले के सिक्ने ? कस्तो खालको सिकाइ लिने ? कुन अभ्यासको अनुसरण गर्ने ? विषय गम्भीर र पेचिलो बन्दै गएको छ ।

हामी देख्न, हेर्न र समीक्षा गर्न सक्छौँ– के अहिले मुलुकमा भइरहेको राजनीतिक अभ्यास सही दिशामा छ ? राजनीतिक मूल्य–मान्यता र सिद्धान्तअनुसार राज्यको नेतृत्व गर्नेहरूले आफ्नो देशलाई कहाँ पुर्‍याइसके र हामी कहाँ छौँ ? जहाँ स्थिर खालको सरकार छ र नेतृत्वमा अनुशासन छ, ती देश आज कुन स्थानमा छन् र स्थिर सरकार कस्तो हुन्छ भनेर अनुभूतसमेत गर्न नपाएका हामी कुन स्थानमा छौँ । समीक्षा गर्नुपर्छ कि पर्दैन ?

हामीकहाँ राजनीति गर्नका लागि कुनै योग्यता र सर्टिफिकेट चाहिँदैन । जोसुकै पनि दलका कार्यकर्ता हुन सक्छन् र भविष्यमा उनीहरू जनप्रतिनिधि बन्न सक्छन् । उच्च तहको नेतृत्वमा पुग्न सक्छन् । जनप्रतिनिधि हुनका लागि कुनै योग्यता/क्षमता चाहिँदैन, भोट पाए पुग्छ । र, जनताले पनि कष्ट गर्नुपर्दैन– जसलाई मन पर्छ, उसलाई भोट दिए हुन्छ । हामीकहाँ त योग्य उम्मेदवारभन्दा पनि आफ्नो दलको हो कि होइन भन्नेमै मतदाता बढी केन्द्रित हुन्छन् । र त भोट बैंकले निर्धारण गर्छ धेरै कुरा । यसो हुँदा दलमा आफ्नो प्रभाव जमाउन सक्ने नै नेतृत्वमा पुग्न गाह्रो भएन । सिद्धान्त पढेर, अभ्यास गरेर वा कडा परिश्रम र परीक्षा दिएर नेतृत्वमा जानुपर्ने भएको भए अर्काे हुन्थ्यो होला । उसमा नैतिकता बढी नै हुन्थ्यो होला ।

००७ सालयता कुनै सरकार पाँच वर्ष अनवरत चलेका छैनन् । ३० वर्ष चलेको पञ्चायत व्यवस्था आफैँमा स्थिर देखिए पनि सिंहदरबारमा सरकार फेरिएकोफेरियै भयो । लामो राजनीतिक अस्थिरताबाट गुज्रिइरहेका जनताले नयाँ निकास चाहेका थिए, समृद्धिको स्वाद अनुभूत गर्न चाहेका थिए, तर झन्डै दुईतिहाइको अवस्थाबाट अहिलेको सरकार अल्पमतमा पुगिसकेको छ ।
 

नेपाली राजनीतिको इतिहास हेर्ने हो भने बडो विचित्रका घटनाक्रमहरू देखिन्छन् । अविश्वास र तानातान, खिचातानी र हानाहान, वडादेखि संसद्सम्मै यही हुन्छ । सांसदहरू नै संसदीय मर्यादा उल्लंघन गर्दै कुर्सी तोड्न पछि नपर्ने घटनाहरू छन् । यस्तै खाले राजनीतिक अभ्यास हुँदै यहाँसम्म आइपुगेका छौँ, यस्तै अभ्यास जारी छ । राजनीतिक दलहरू एकले अर्कालाई पछार्ने र आफू कसरी सत्तामा पुग्ने भन्ने खेलमै लामो समयदेखि राजनीति रुमल्लिएको छ । जसले न दलहरूलाई लाभ पुगेको छ, न त मुलुकलाई नै एउटा स्थिरताको बाटो दिएको छ । जुन कोणबाट हेरे पनि घाटा मात्रै छ । अब भन्नुस्, यस्तो अभ्यासबाट नेपाली भावी पुस्ताले कस्तो राजनीति सिक्ने ? र, वर्तमान राजनीतिक अभ्यासबाट के पाठ लिने ?

खासगरी, ००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि कुनै न कुनै हिसाबमा जनताको प्रतिनिधिले राज्यसत्ता सञ्चालन गरेको (०१७ सालमा महेन्द्र र ०५९ मा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रतिनिधिलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएकोबाहेक) अवस्था छ । प्रजातन्त्रपछि हालसम्म २२ जना व्यक्ति प्रधानमन्त्री बनिसकेका छन् । तर, कुनै प्रधानमन्त्रीले राजनीतिक मूल्य, मान्यता र संवैधानिक प्रावधानअनुसार स्थिर सरकार चलाउन पाएका छैनन् । बहुमत प्राप्त गरेकै भए पनि आफ्नो दलभित्रैबाट नेतृत्वलाई असफल बनाउन, सरकार ढाल्न विभिन्न हतकण्डा हुनु नेपाली राजनीतिमा नौलो होइन । विगतमा भएका थिए, वर्तमानमा पनि भइरहेकै छ।

०५१ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको नीति तथा कार्यक्रम कांग्रेसका ३६ जना सांसद अनुपस्थित भई फेल बनाएका थिए । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको नारामा ०५६ सालमा चुनावमा गएको कांग्रेसले भट्टराईको सरकार अल्पसमयमै ढाल्यो । नेपालको इतिहासको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले नौ महिनाभन्दा बढी सरकार चलाउन पाएनन् । अब अहिलेको सरकारलाई हेरौँ । स्पष्ट बहुमतसहित झन्डै दुईतिहाइ मत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार अन्तरकलहबाटै ढल्ने अवस्थामा पुगेको थियो । पार्टीभित्रै विचलन आयो । सर्वोच्च अदालतले नेकपा एकीकरण अवैध ठहर्‍याई एमाले र माओवादी केन्द्रलाई पूर्ववत् पुर्‍याइदिएपछि राजनीतिक परिदृश्य त फेरिएको छ, तर एमालेभित्रै अन्तरकलह यस्तो छ कि सरकार आज ढल्ने हो कि भोलिको अवस्थामा छ ।

००७ सालयता कुनै सरकार पाँच वर्ष अनवरत चलेका छैनन् । ३० वर्ष चलेको पञ्चायत व्यवस्था आफैँमा स्थिर देखिए पनि सिंहदरबारमा सरकार फेरिएकोफेरियै भयो । लामो राजनीतिक अस्थिरताबाट गुज्रिइरहेका जनताले नयाँ निकास चाहेका थिए । समृद्धिको स्वाद अनुभूत गर्न चाहेका थिए । तर, झन्डै दुईतिहाइको अवस्थाबाट अहिलेको सरकार अल्पमतमा पुगिसकेको छ, यो विडम्बना हो ! अस्थिर सरकार देशका लागि घाटा हो । अग्रगमनको यात्रामा अवरोध थपिनु हो । परिवर्तन र विकासको दीर्घकालीन योजनामा थप चुनौतीपूर्ण हुनु हो । लामो समयदेखिको राजनीतिक अस्थिरताको जन्जिर तोड्दै स्थिर राजनीतिक प्रणाली बनाउन चाहन्थे, जनता । त्यो हामीले बाल्यकालमा सुन्ने गरेको एकादेशको कथाजस्तै हुने भएको छ । यहाँ राजनीतिक स्थिरता र जनताको मुद्दाभन्दा पनि कुर्सी ठूलो रहेछ भन्ने विगतदेखि वर्तमानसम्मको राजनीतिक घटनाक्रम हेर्दा सामान्य नागरिकले पनि बुझ्न कठिन छैन । अहिले राष्ट्रिय राजनीतिमा जे भइरहेको छ, त्यसले के प्रस्ट हुँदै गइरहेको छ भने यी सबै कुर्सीका लागि भइरहेको लडाइँ मात्र हुन् । जनतासँग गरिने वाचा फगत चुनावी नारा मात्र हुन् ।

नेता र नेतृत्व भनेको त असल अविभावकजस्तै हुन् । यदि अभिभावक राम्रो भएन भने घर बिग्रन्छ, परिवार र भावी पुस्ता नै अन्योलमा पर्छ । उसको नैतिक चरित्र राम्रो भएन भने देशको हालत के हुन्छ ? यो विषयमा वर्तमान राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ कि पर्दैन ? यसतर्फ बहस आवश्यक छ ।

हरेक राजनीतिक दलका दस्तावेज, चुनावी घोषणापत्रमा समृद्ध नेपालको परिकल्पना छन् । अक्षरहरू पढ्दा त अति सुन्दर लाग्छन्, जब तिनै दलका नेतृत्व सरकारमा जान्छन्, नेतृत्व गर्छन्, अनि ती अक्षरहरू कतै बिलाउँछन् । काम लाग्दैनन्, कतै आउँदैनन् । एउटा नेता सत्तामा गयो भने अर्काेले कसरी उसलाई असफल बनाउने भन्ने ध्याउन्नमा केन्द्रित हुन्छन् । अर्काेलाई त्यहाँ पुग्ने हतारो हुन्छ । पछिल्लो राजनीतिक घटनाक्रमले त के देखायो भने नेताको कुर्सी ढाल्नका लागि अब त विपक्षी नै नचाहिने भयो, आफ्नैहरू काफी हुने भए ।

राजनीतिमा एक–अर्काप्रतिको विश्वास कम हुँदै गएको छ । समाजवाद, समृद्धि, भाइचारा, अन्तर्राष्ट्रिय सम्बन्ध, दीर्घकालीन विकास, नेतृत्व हस्तान्तरण यी सबै फगत गफै त हुन् भन्ने प्रमाणित हुँदै छ । हामीकहाँ नेतृत्वलाई नमान्ने संस्कार बढ्दै गयो । ‘गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नका लागि सहयोग नगरेर मैले ठूलो गल्ती गरेछु,’ प्रचण्डले पटक–पटक भन्दै हिँडे । अनि अहिले ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेर ठूलै गल्ती गरेछु’ उनै प्रचण्ड भन्छन् । दुई–दुई ठाउँबाट हारेका माधवकुमार नेपाललाई संविधानसभा सदस्य बनाउन सहयोग गरेका प्रचण्डले पछि उनको सरकार ढाल्नका लागि ठूलै संघर्ष गरे । अहिले फेरि तिनै माधव नेपालसँग प्रचण्ड माया–पिरतीमा परेका छन् ।

जनयुद्धका सहयोद्धा कमरेडको ठूलो पंक्ति अहिले प्रचण्डसँग छैन । तितरबितर छन् । प्रचण्डसँग परिवर्तनको सपना देख्ने नागरिकले ठूलो अपेक्षा गरेका थिए । उनले सपना पनि बाँडेका थिए । अब प्रचण्डलाई हुर्कंदो पुस्ताले कस्तो खाले नेतृत्व भन्ने ? ‘भिजनरी’ नेता भन्ने कि भिजनरहित असफल राजनीतिक खेलाडी मात्र ? वा, राजनीति भनेको त प्रचण्डले जस्तै गर्न जान्नुपर्छ भनेर पाठ लिने ? या कस्तो हो ? वा आफ्नै दलको प्रधानमन्त्री असफल बनाउन तल्लीन हुने माधव नेपालजस्तो नेता हुने ? या आफ्नो कुर्सी जानुभन्दा त लोकतन्त्र नै धरापमा पारेर भए पनि संविधानलाई दाउपेचमा राख्ने र आफूलाई असहयोग गर्नेलाई पनि देखाइदिन्छु भन्दै दम्भ पाल्ने केपी ओलीजस्तो बन्ने ? या नेतृत्व हस्तान्तरण गर्नुहुँदैन, जतिपटक भए पनि आफैँ मात्र बन्नुपर्छ, ज्योतिषीले मलाई नै सातचोटि प्रधानमन्त्री बन्ने योग परेको छ भनेका छन्, त्यही भएर सातचोटि नपुगेसम्म त म आफैँ हुनुपर्छ भन्ने शेरबहादुर देउवाजस्तो बन्ने ? कांग्रेसमा दोस्रो पुस्ता कहिले नेतृत्वमा पुग्ने ? अहिले नेताहरूले जे गरिरहेका छन्, उनीहरूलाई थाहा नभएको होइन कि यो विधिको शासनमा हुने अभ्यास होइन ।

बुझ्न नसकेको कुरा, राजनीति अनि यसको नेतृत्वलाई अबको पुस्ताले कसरी बुझ्ने ? एउटा कार्यदिशा कोरेर अघि बढिसकेपछि त्यसको घाटा–नाफा, राम्रो या नराम्रो प्रभाव हेर्नका लागि कम्तीमा एउटा समय त तोक्नुपर्ला नि होइन ? एउटा समयावधि त चाहिएला नि ? जस्तो पाँच वा १० वर्ष या २० वर्ष । एउटा समयसीमा र त्यसअनुसारका कार्ययोजना त चाहिएला ? छिमेकी मुलुक हेरौँ, भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकाल चलाइरहेका छन् । चीनतर्फ हेरौँ, राष्ट्रपति सी जिनपिङ सन् २०१३ देखि सत्तामा छन् । उनी पनि दोस्रो कार्यकाल राष्ट्रपति पद सम्हालिरहेका छन् । विश्वका विकसित मुलुकका राजनीति पनि समृद्धिकै यात्रामा छ, र त उनीहरू विकासको अग्रगतिमा लम्किएका छन् । सबैलाई थाहा भएकै विषय हो, राजनीतिक नेतृत्वविना मुलुक अघि बढ्न सक्दैन । राजनीतिक कार्यदिशाविना मुलुकले निकास पाउन सक्दैन । त्यसैले त राजनीतिलाई मूल नीति भनिएको । संसारकै अभ्यास यही हो ।

नेता र नेतृत्व भनेको त असल अविभावकजस्तै हुन्, यदि अभिभावक राम्रो भएन भने घर बिग्रन्छ, परिवार र भावी पुस्ता नै अन्योलमा पर्छ । राजनीति गर्ने नेतृत्व देशका लागि अविभावक हुन् । उसको नैतिक चरित्र राम्रो भएन भने देशको हालत के हुन्छ ? यो विषयमा वर्तमान राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ कि पर्दैन ? यसतर्फ बहस आवश्यक छ । राजनीति फगत नेताले चाहे जस्तो हुने कि देशको आवश्यकताअनुसार हुने ? राजनीति दलले चाहे जस्तो हुने कि जनताको आवश्यकतामा केन्द्रित हुने ? व्यक्तिवादी हुने कि राष्ट्रवादी हुने ? दलगत हुने कि प्रतिपादित सिद्धान्त र स्थापित मूल्य मान्यताअनुसार चल्ने ? यस विषयमा वर्तमान पुस्ताले गम्भीर बहस गर्नु जरुरी छ ।

नयाँ पत्रिकामा प्रकाशित लेख सान्दर्भिक लागेर साभार गरिएकाे हाे ।

Comments

comments