स्वास्थ्य सजगताको खाँचो

Usha thapauliya

उषा थपलिया

काठमाडौँमा निषेधाज्ञा जारी हुने अघिल्लो दिन बजार र सार्वजनिक यातायातमा मानिसको लापरबाही नाजुक किसिमबाट प्रदर्शन भइरहेको थियो । बजारमा सामान किन्नेको भीडले न एक–अर्काबीच कायम हुनुपर्ने दूरीको ख्याल गरेको थियो, न मास्कको सही किसिमबाट उपयोग । बेलाबेला हात धुने र सेनिटाइज गर्ने परैको कुरा भइहाले । हरेक सार्वजनिक यातायातमा यात्रु कोचाकोच यात्रा गरिरहेका देखिन्थे । सवारी सञ्चालक कमाइको लोभमा फसेर मापदण्डविपरीत जानु नौलो भएन । रेष्टुरेन्टमा खाने र खुवाउनेको तौरतारिकासमेत भद्रगोल अवस्थामा देखिन्थ्यो । निषेधाज्ञा सुरु भएपछि बन्देजमा पर्ने कारणले मनमौजी र रमाइलो गतिविधिमा सरिक हुन विशेषतः युवा वर्गलाई भ्याइ–नभ्याइ भइरहेको देखिन्थ्यो । मानौँ, सरकारले निषेधाज्ञा जारी गरेपछि मात्र कोरोना सङ्क्रमण सक्रिय हुन्छ । दोस्रो लहर व्यापक बनिसक्दा पनि जमघट, किनमेल, भेला जात्रा, सडक प्रदर्शन, भोजभतेर आदि रोकिएनन् । एक वर्षसम्मको अनुभवबाट समेत हामी सचेत नबनेको देखियो ।

एक वर्षपछि नयाँ प्रजातिको कोभिड–१९ को असर खेप्न हामी फेरि बाध्य भएका छौँ । गत वर्षको तुलनामा अहिलेको भाइरस बढी आक्रामक रहेको छोटो अवधिमा यसले पु¥याइरहेको गम्भीर असरबाटै प्रस्ट छ । जसकारण अहिलेको नयाँ प्रजातिको भाइरसबाट भयावह स्थिति आउने सक्ने भन्दै स्वास्थ्यसम्बद्ध संस्थाले सबैलाई उच्च सतर्कता अपनाउन आह्वान गरिरहेका छन् । स्थितिलाई गम्भीर हुनबाट जोगाउन यतिखेर काठमाडौँ उपत्यकालगायत बढी असर भएका ३१ जिल्लामा सात दिनदेखि १५ दिनसम्मको निषेधाज्ञा जारी गरिएको छ । यद्यपि, निषेधाज्ञा वा बन्दाबन्दी नै कोरोना नियन्त्रणको एकमात्र अचुक उपाय हुन सक्दैन । सबैभन्दा महŒवपूर्ण कुरा जनस्तरमा जाग्नुपर्ने स्वास्थ्य सजगता र त्यसको पालनामा देखिनुपर्ने कटिबद्धता हो । कोरोनाविरुद्ध जारी भएका मापदण्डको पालना जनस्तरबाट भएन भने जति लामो बन्दाबन्दी गरिए पनि कोरोनालाई नियन्त्रण गर्न सकिँदैन ।

गत वर्ष सुरुवातमै बन्दाबन्दी घोषणा गरिए पनि त्यसको उल्लङ्घन गर्नेक्रम प्रायः अन्त्यसम्मै रहिरह्यो । नियम उल्लङ्घन गरेबापत सनासोमा च्यापिने तथा चर्को घाममा घण्टौँ उभिनुपर्ने सजाय खेपेर पनि मानिस बन्दाबन्दीमा बाहिरी गतिविधि नियाल्नकै लागि घरबाहिर निस्किए । नियम पालना गराउन सुरक्षाकर्मीलाई सधैँ हम्मे परेको देखियो । चेतनाविहीन नागरिकको प्रसङ्गलाई परै छोडौँ, सचेत वर्गले समेत स्वास्थ्य सजगता अपनाउन गत वर्षझैँ यस वर्ष पनि जरुरी ठानेनन् । यदि यसो हुन्थ्यो भने कोरोना सन्त्रासलाई बेवास्ता गर्दै राजनीतिक क्रियाकलापमा विरोध र समर्थन जनाउँदै युवा वर्ग सडकको भीड बन्ने थिएनन् । धर्म र परम्पराको नाममा पूजाआजा र जात्राका विधि हुबहु सम्पन्न गर्ने हुटहुटी चल्ने थिएन न त भारतमा दोस्रो लहरको कोरोना सन्त्रास व्यापक भइसक्दासमेत कुम्भमेला भर्न त्यता लाग्नेको लर्को । भारतमा हाल चर्किरहेको सङ्क्रामक स्थितिका लागि भाइरसको नयाँ प्रजातिमात्र नभई भीडभाड, सभा–सम्मेलन, खोपको कमजोर दरलगायत पनि उत्तिकै जिम्मेवार रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यही अवस्था नेपालको हकमा पनि लागू हुने देखिन्छ ।

गत वर्ष सङ्क्रमणले वृद्धवृद्धा र दीर्घरोगीलाई बढी आक्रान्त पारेको थियो भने मानवीय क्षति पनि सोही समूहभित्र बढी भएको थियो तर अहिलेको लहरमा निरोगी युवा, किशोरकिशोरी र बालबालिकासमेत उल्लेख्य पीडित भइरहेका छन् । भेला बैठक, सभा–समारोह तथा ¥याली, रेष्टुरेन्टतिरको असावधान उपस्थितिकै कारण युवा यसप्रकारले प्रभावित भइरहेको स्वास्थ्यविज्ञको भनाइलाई नकार्ने ठाउँ देखिन्न । कोरोनाविरुद्धको खोप लगाउन र परीक्षणकै लागि खोप केन्द्र र अस्पतालमा देखिएको अव्यवस्थित भीडले स्वास्थ्य मापदण्डको धज्जी उडाएको देखिन्थ्यो । भौतिक रूपमा सञ्चालित विद्यालयका गतिविधि र पालन हुन नसकेको स्वास्थ्य मापदण्डका कारण ठूलो सङ्ख्यामा किशोरकिशोरी तथा बालबालिका सङ्क्रमित बन्न पुगे । गत वर्षको तुलनामा छिटो फैलिरहेको सङ्क्रमण र सोहीअनुसार बढिरहेको मृत्युदरले पनि अवस्थालाई चिन्ताजनक बनाएको छ । अहिले भइरहेको परीक्षणमध्ये ४३ प्रतिशतसम्म नतिजा पोजेटिभ देखिनु सामान्य अवस्था हुन सक्दैन । त्यसमाथि अस्पताल पुग्नेलाई अक्सिजन र भेन्टिलेटरकै आवश्यकता पर्नु तर ती स्वास्थ्य उपकरण पर्याप्त नहुनुले अझ बढी अप्ठेरो स्थिति निम्त्याइरहेको छ । बिरामीको उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मी आफैँ सङ्क्रमित भइरहेका छन् । पर्याप्त जनशक्तिको अभावमा कतिपय अस्पतालका सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा खटिनु परिरहेको छ ।

कोरोना परीक्षणपछि पोजेटिभ हुनेको मानचित्र निरन्तर उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । यद्यपि, परीक्षण गरी घरमै स्वास्थ्य लाभ गरिरहेका बिरामी पनि ठूलै सङ्ख्यामा रहेको अनुमान गर्न सकिन्छ । यतिबेला विद्यालयको परिवेशबाट सङ्क्रमित हुन पुगेका बालबालिकाको बाहुल्य बढी देखिन्छ । सुरुमै सावधानी अपनाए घरमै धेरैको उपचार हुन सक्ने यस महामारीको एक सकारात्मक पक्ष हो । जसअनुसार कोरोनाको लक्षण भएका तर अस्पतालको सेवा नलिएरै स्वस्थ भएका व्यक्ति घरघरमै भेटिन्छन् । कोभिडका बिरामीमध्ये १५ प्रतिशतलाई मात्र अस्पतालको उपचार आवश्यक पर्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले जनाउँदै आएको छ । सामान्य बिरामीले घरमै सतर्कता अपनाएर उपचार पद्धतिमा रहने हो भने गम्भीर बिरामीका लागि अस्पतालको सेवा अवरुद्ध हुने स्थिति नआउन सक्छ । तर, अस्पतालमा बिरामीको चाप बढी भएका कारण शैयासमेत नपाइरहेको अवस्था देखिन्छ । तीनजना बिरामीलाई समेत एउटै शøयामा राखेर तथा भुँइमा सुताएरसमेत उपचार गरिएका छन् ।

गम्भीर बिरामीको सङ्ख्या बढेपछि युरोप र अमेरिकी महादेशका समृद्धशाली देशले समेत अप्ठेरो परिस्थिति सामना गरे । गर्दै छन् । भारतमै दैनिक चार लाखसम्म सङ्क्रमित हुने र त्यति नै निराशा जगाउने मृत्यु भएका छन् । कामको सिलसिलामा भारत लागेका नेपाली यही दोस्रो लहरको महामारीबीच स्वदेश फर्किरहेका छन् तर सीमानाकामा प्रभावकारी निगरानी, परीक्षण र क्वारेन्टाइनको अभाव देखिन्छ । न त समुदायस्तरमै गत वर्ष जस्तो क्वारेन्टाइन बनाइएका छन् । प्रभावित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङमा पनि यथोचित ध्यान पुग्न सकेको छैन । तसर्थ, भारतबाट आउनेमार्फत समुदायस्तरमा अनियन्त्रित रूपमा कोरोना फैलिन मद्दत पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठन र मुलुककै स्वास्थ्यसबद्ध निकायले आह्वान गर्दै आएअनुरूप हरेकले स्वास्थ्य मापदण्ड पालना गर्नु पहिलो आवश्यकता हो । कोरोना विध्वंसात्मक भाइरस हुँदाहुँदै पनि हरेक व्यक्ति सजग भए यसबाट टाढा रहन सकिन्छ भन्ने स्थापित भइसकेको छ । सङ्क्रमित भइहाले पनि घरबाटै स्वास्थ्यलाभ गर्न सकिन्छ भन्ने अनुभव धेरैले गरिसकेका छन् । उचित स्वास्थ्य सतकर्ता, स्वस्थकर खानपान, नियमित व्यायाम, सकारात्मक सोच तथा दृढ आत्मबल आदिका कारण अघिल्लोपटकझैँ यसपटक पनि भाइरसलाई घरबाटै परास्त गर्ने सङ्क्रमित असङ्ख्य छन् ।

कारण जेसुकै भए पनि निषेधाज्ञा तथा बन्दाबन्दी मुलुकको हितमा कहिल्यै हँुदैनन् । यी अवस्थाले जनजीविकामाथि प्रतिकूल प्रभाव पार्नुका साथै समग्र मुलुककै अर्थतन्त्रमा गम्भीर धक्का पु¥याउँछ । जनस्तरबाट चरम लापरबाही भइरहेको परिप्रेक्ष्यमा बढिरहेको सङ्क्रमणको प्रवाहलाई कम गर्नकै लागि अहिले निषेधाज्ञा जारी भएको हो । यस्ता किसिमका बन्देज कति समयसम्म कायम राख्ने भन्ने कुरा आमनागरिककै हातमा रहेको छ । विदेशका कारुणिक अवस्थालाई मध्यनजर गरी सबैजना स्वास्थ्य मापदण्ड पालनामा कटिबद्ध भए निषेधाज्ञाविना पनि हामी लयमा फर्कन सक्छौँ । आफू स्वस्थ हुने र देशको अवस्थालाई पनि सामान्य बनाउनेतिर लाग्ने हामी चेतनशील नागरिकको दायित्व हो ।

गाेरखापत्रबाट
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

Comments

comments